४ वर्षमा ८२२ किलोमिटर प्रसारणलाइन निर्माण गर्दै एडीबी

    1362

    एसियाली विकास बैंक (एडीबी)ले आउँदो चार वर्षभित्र ८ सय २२ किलोमिटर प्रसारणलाइन, वितरणलाइन तथा सबस्टेसन निर्माण पूरा गर्ने भएको छ । ४ सय ३६ किलोमिटर प्रसारणलाइन स्तरोन्नति गर्ने तथा थप ३ सय ८६ किलोमिटर नयाँ प्रसारणलाइनको निर्माण कार्य सन् २०२१ सम्म सम्पन्न गर्ने एडीबीको लक्ष्य छ । एडीबीले बहुवर्षीय योजनाअन्तर्गत दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)को सहयोगमा निर्माण भइरहेका आयोजनाको स्तरोन्नति गर्ने र केही नयाँ ठाउँमा प्रसारणलाइन बनाउन लागेको हो । यी सबस्टेशनबाट वितरण तथा प्रसारणको काम हुने एडीबीले जनाएको छ । ४९ वटा स्थानमा बनाउन लागेका आयोजनाको लगात करिब १ खर्ब रुपैयाँ लाग्ने एडीबीको अनुमान छ । एडीबीले मात्रै ६० अर्ब लगानी गर्ने र अपुग स्रोत अन्य दातृ निकायबाट जुटाइने बताइएको छ ।

    दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)को सहयोगमा बन्न लागेका प्रसारणलाइनको निर्माण कार्य लक्ष्यअनुसार नै भइरहेकाले समयमै सम्पन्न हुने देखिएको नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक विश्वरञ्जन मिश्रले बताए । “अहिले स्तरोन्नति र नयाँ बनाउने काम भइरहेको छ, २४ वटाको काम लगभग अन्तिम चरणमा पुगेको छ भने थप २५ स्थानमा भर्खरै काम सुरु भएको छ,” उनले भने । वितरण प्रणाली सुदृढीकरण विभागका डिभिजनल इन्जिनियर तथा पश्चिम नेपालको डिभिजनल इन्चार्जसमेत रहेका उनले तीन तह निर्धारण गरेर प्रसारणलाइन निमार्ण कार्य भइरहेको बताए । मिश्रका अनुसार काम गर्न सहज बनाउने उद्देश्यले तीन लटमा निर्माण भइरहेको छ । जसअन्तर्गत नारायणीपूर्वलाई लट वान्, नारायणीपश्मिचलाई लट टूमा राखिएको छ भने नेपालभरलाई लट थ्रीमा राखिएको छ । उनले भने, “जम्मा अहिले २४ वटा नयाँ सबस्टेसन बन्दैछन्, यसले कुल २५ जिल्ला ओगटेको छ ।” यस्तै, लट टूअन्तर्गत १२ वटा नयाँ सबस्टेसन छन् जसमा ४ वटा गण्डक क्षेत्र रहेको उनले जानकारी दिए । “गोर्खामा २ वटा, तनहुँमा १ र म्याग्दीमा एउटा छ भनेरुपन्देही, कपिलबस्तु, नवलपरासी, रोल्पा, पाल्पा, अर्घाखाँची, प्युठान र कैलालीमा एक-एकवटा नयाँ सबस्टेसनको काम सुरु भइसकेको छ,” उनले भने । लट थ्रीअन्तर्गतको एउटा नयाँ सबस्टेसन बुटवलको चौरहामा रहेको उनले बताए । एडीबीले नेपाल विद्युत् प्राधिकरणको उत्पादन प्रसारण र वितरण क्षमताको सुधार र विस्तार माग र आपूर्ति पक्षमा क्षमता सुदृढीकरणमार्फत प्राधिकरणको सञ्चालन क्षमता अभिवृद्धि तथा सौर्य सडक बत्तीजस्ता अन्य स्वच्छ ऊर्जा प्रयोग गर्ने लक्ष्य राखेको छ । एडीबीका परियोजना अधिकृत पुस्कर मानन्धरले एसियाली विकास बैंक सरकारी निजी साझेदारीमार्फत ठूला जलविद्युत् आयोजना विकास र दोश्रो अन्तरदेशीय प्रसारणलाइन निर्माण गरेर विद्युत् निर्यातमा पनि नेपाललाई सहयोग गर्न चाहेको बताए ।

    “यसका लागि दक्षिण एसियाली उपक्षेत्रिय आर्थिक सहयोग (सासेक) कार्यक्रम लगानीको थलो हो, सासेक कार्यक्रममा एसियाली विकास बैंकले परामर्श प्रदान गर्दै आएको छ,” उनले भने । उनले कालिगण्डकीको मिर्मीमा बन्न लागेको आयोजनाको निर्माण कार्य पनि अबको ६ महिनासम्ममा सम्पन्न हुने बताए । एडीबीअन्तर्गतको सासेकमा कालीगण्डकी मस्र्याङ्दीलगायतका ठूला आयोजजा पर्दछन् ।

    स्रोत:कारोबार