पाइपलाइनबाट घर–घरमा ग्यास

    1924

    विराटनगर महानगरपालिकाको पहलमा विराटनगर–१४ का स्थानीयको घर–घरमा पाइपलाइनबाट ग्यास जडान गरिएको छ । विराटनगर–१४ का ३२ घरधुरीमा पाइपलाइनबाट ग्यास पुगेको छ भने बाँकी ४८ घरमा यो महिनाभित्रै पाइपबाट ग्यास विस्तार गरिन लागेको छ । श्रीकृष्ण गौसेवा सदनमा पालिएका २ सय ५ वटा गाईको गोबरबाट बायोग्यास उत्पादन गरेर स्थानीयको चुल्होसम्म पाइपबाट पु-याइएको हो । केहीको घरमा ग्यास बलिसकेको छ भने केहीको घरमा पाइपलाइन पु-याउने काम भइरहेको छ ।
    विराटनगर महानगरपालिको १२ लाख, विश्व बैंक र नेपाल सरकारको १ करोड ११ लाख र गौसेवा सदनको सहयोगमा नमुना बायोग्यास पाइपलाइन परियोजना सञ्चालनमा आएको छ । यो गौसेवा २०४२ सालदेखि सञ्चालनमा आएको हो । गौशालाबाट उत्पादित गोबरलाई सदुपयोग गर्न ग्यास उत्पादन सुरु गरिएको र ग्यास उत्पादन गर्न गौसेवा क्षेत्रमा २ सय घनमिटर प्लान्ट जडान गरिएको छ । आयातित ग्यासमात्र होइन नेपालमै उत्पादन गर्न सकिने बायोग्यास पनि घरघरमा पाइपलाइनबाट पु¥याउन सकिन्छ भन्ने व्यवहारमै प्रयोग गरिएको मेयर भीम पराजुली बताउँछन् । महानगरभित्र अन्य सम्भावित स्थानमा समेत बायोग्यास उत्पादन गर्न सकिन्छ कि भनेर योजना बनाएको मेयर पराजुलीको भनाइ छ ।
    बायोग्यासको (आज) मंगलबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । तर, नेकपाका केही स्थानीय नेताको पहलमा प्रधानमन्त्रीलाई उद्घाटनमा ल्याउन लागिएको भने महानगरले असन्तुष्टि व्यक्त गरेको छ । चुनावअघि पाइपलाइनबाट जनताको घर–घरमा ग्यास पु-याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धतालाई यो बायोग्याससँग जोडेर प्रचार गरिएकोमा पराजुलीले दुखेसो पोखे । प्रधानमन्त्रीको भाषणमा यो बायोग्यासको कुनै सम्बन्ध नभएको गौसेवा समितिका एक सदस्यको भनाइ छ । “कसैले दौडमा पाएको पुरस्कार आफूले दाबी गरेजस्तै हो यो,” ती सदस्यले भने, “हामीलाई त रत्तिभर पनि चित्त बुझिरहेको छैन ।”

    -कारोबार