जुट्यो माथिल्लो त्रिसुली थ्रि बीको लगानी

    1773
    काठमाडौं÷नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत आयोजनाको लगानी जुटेको छ । नबिल बैकको अगुवाईमा सहवित्तीयकरणमार्फत जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) र नेपाल बैकले आयोजनामा ५ अर्ब ७६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
    आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेड र बैक तथा वित्तीय सस्थाहरुबीच सोमबार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । प्रवद्र्धक कम्पनीकातर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतम र सहवित्तीयकरणको अगुवा नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    आयोजनामा नबिलको २ अर्ब, एचआइडिसिएलको एक अर्ब ५० करोड र नेपाल बैकको १ अर्ब १० करोड रुपैयाँ ऋण लगानी रहने छ । बाँकी एक अर्ब १६ करोड रुपैयाँ सम्बन्धित बैक तथा वित्तीय संस्थाले नै ऋण लगानी गर्ने सहमति भएको छ । आयोजनाको अनुमानित लागत ८ अर्ब २२  करोड रुपैयाँ (निर्माण अवधिको ७८ करोड ब्याजसहित) छ ।
    आयोजनाको अनुमानित लागतमध्ये ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट र ७० प्रतिशत ऋणबाट जुटाइएको हो । इक्विटीमार्फत आयोजनामा २ अर्ब ४६ करोड रुपैयाँ लगानी हुने छ ।
    आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०÷३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालीकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।
    ऋण सम्झौता हस्ताक्षर कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं उपत्यकाबाट नजिक रहेकाले आयोजना  विद्युतको लोड व्यवस्थापन र प्रतिफलका दृष्टिकोणले आकर्षक रहेको बताए । उनले तोकिएकै समय र लागतमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए ।
    आयोजनाको निर्माण तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको कम्पनीका प्रबन्ध सञ्चालक गौतमले बताए । इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडलमा आयोजनाको निर्माण गर्न गत माघमै चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ । नुवाकोट र रसुवामा निर्माण हुने माथिल्लो त्रिसूली ३ बी प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिसुली थ्रि एको क्यास्केड आयोजना हो ।
    आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) उत्पादन हुने १३ करोड ४९ लाख र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख गरी कुल २९ करोड २६ लाख युनिट ऊर्जा वार्षिकरुपमा उत्पादन हुने छ