६ महिनाभित्र थपियो डेढ सय मेगावाट बिजुली

1676

कार्तिक १, २०७६

०७६ को पहिलो ६ महिनामा करिब १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएको छ । वैशाखयता विद्युत् प्राधिकरणले बनाइरहेका दुईसहित आधा दर्जन आयोजनाले व्यवसायिक वा परीक्षण उत्पादन थालेका छन् ।

गत आर्थिक वर्षभरिमा ७८ मेगावाट मात्रै बिजुली राष्ट्रिय प्रसारणमा थप भएको थियो । निजी क्षेत्रका आयोजनाहरूबाट ४८ मेगावाट र सरकारीबाट ३० मेगावाट मात्रै बि  जुली उत्पादन थालिएको थियो । यो आर्थिक वर्षमा भने ९ सय मेगावाट उत्पादन थपिने नेपाल विद्युत् प्राधिकरणको आकलन छ ।

‘यो वर्षको सुरुआतबाटै आयोजनाहरू राष्ट्रिय प्रसारणमा जोडिने क्रम जारी छ,’ प्राधिकरणको विद्युत् भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले भने, ‘आशा गरौं कि सबैले लक्ष्यअनुसार आयोजनाहरूको निर्माण सकेर प्रणालीमा जोडिनेछन् ।’

अहिले कतिपय निजी क्षेत्रका आयोजनामा धमाधम काम भइरहेका छन् । प्राधिकरणको सहायक कम्पनीअन्तर्गत माथिल्लो तामाकोशी आयोजना पनि यसै वर्ष निर्माण सकाउने गरी अन्तिम चरणमा छ ।

यस आर्थिक वर्षको अन्त्यबाट नेपालले ठूलो परिमाणमा बिजुली भारत पठाउन सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । डिसेम्बरसम्ममा माथिल्लो तामाकोसी आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको भन्दै उनले आगामी वर्ष नेपालले बिजुली उत्पादनमा फड्को मार्ने दाबी गरे ।

‘लक्ष्यअनुसार काम भयो भने माथिल्लो तामाकोशीसहित ११५० मेगावाटका आयोजनाहरूले यस वर्षको अन्त्यसम्म उत्पादन थाल्नेछन्,’ घिसिङले अनलाइनखबरसित भने ।

माथिल्लो त्रिशूली थ्रि ‘ए’ र कुलेखानी तेस्रो

यो वर्ष दुई रुग्ण सरकारी जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् । माथिल्लो त्रिशूली थ्री ‘ए’ को जलविद्युत् आयोजना यसै वर्ष निर्माण सकिएको छ । यसको पहिलो युनिटले जेठ पहिलो साताबाटै उत्पादन थालेको थियो भने दोस्रो युनिट भदौबाट सञ्चालनमा आएको हो । मध्यमस्र्याङ्दीपछि सबैभन्दा ठूलो आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको हो ।

यो आयोजनाले मुलुकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशत योगदान दिनेछ । यसबाट मुख्य रूपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने बिजुली विस्थापित हुने प्राधिकरणको भनाइ छ । कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।

यसैगरी यो वर्ष कुलेखानी तेस्रोको निर्माणले पनि पूर्णता पाएको छ । निर्माण सुरु भएको १२ वर्षपछि १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको हो । योसँगै प्राधिकरणले आफूअन्तर्गत बनिरहेका सबै रुग्ण जलविद्युत् आयोजनालाई पार लगाएको छ ।

यो आयोजना चिनियाँ ठेकेदार कम्पनीको बेवास्ताको सिकार भएको थियो । अप्रिल २००८ देखि सुरु भएको आयोजनाको निर्माण डिसेम्बर २०११ सम्ममा सक्ने लक्ष्य थियो । तर, तोकिएको समय गुज्रेकै ८ वर्षपछि आयोजनाले बल्ल परीक्षण उत्पादन थाल्न सकेको छ ।

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । यो कुलेखानी पहिलो र दोस्रोको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा यसको निर्माण भएको हो । आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत करिब ५ अर्ब पुगेको अनुमान छ ।

निजी क्षेत्रका आयोजना

यो वर्ष विभिन्न निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादकहरूका आयोजनाहरू पनि राष्ट्रिय प्रसारणमा जोडिने क्रम तीव्र भएको छ । ती आयोजना यसप्रकार छन्:

तल्लो हेवा जलविद्युत्

२२.२ मेगावाट क्षमता भएको तल्लो हेवा जलविद्युत् आयोजना केन्द्रीय प्रसारणमा जोडिएको छ । पाँचथरको थापाटारस्थित प्राधिकरणको सबस्टेसनमार्फत यो आयोजना केन्द्रीय प्रसारणमा जोडिएको हो ।

पावर हाउसदेखि ३.२ किलोमिटर टाढा फिदिम नगरपालिकाको थापाटारमा रहेको सबस्टेसनमा विद्युत् जोडिएको छ । यो आयोजना ३० महिनामा सक्ने लक्ष्य भए पनि ५० महिनामा सकिएर उत्पादन सुरु गरेको हो । यसको प्रवद्र्धक माउन्टेन हाइड्रोपावर कम्पनी हो ।

अपर नौगाड दोस्रो

दार्चुलाको नौगाड गाउँपालिकामा बनेको अपर नौगाड दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादन सुरु भएको छ । आठ मेगावाट क्षमताको अपर नौगाडलाई अपी पावर कम्पनी लिमिटेडले निर्माण गरेको हो । २०७५ साउनमा नौगाड खोलामा आएको बाढीले यो आयोजनालाई ठूलो भौतिक क्षति पुर्याएको थियो । नौगाड गाउँपालिका–६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको पावरहाउसमा खसालेर बिजुली उत्पादन गरिएको छ । वि.सं. २०७३ असोजदेखि निर्माण शुरु भएको अपर नौगाड जलविद्युत् आयोजनाको लागत एक अर्ब ४४ करोड रहेको छ ।

अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिकाको शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यसका लागि नौ किलोमिटर लामो ३३ केभिए प्रसारण लाइन निर्माण गरिएको थियो ।

काबेली बी वान

‘काबेली बी–वान’ जलविद्युत् आयोजनाले पनि केही दिन अघिबाट परीक्षण उत्पादन थालेको छ । यसबाट उत्पादित २५ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ । तर, यसले व्यवसायिक उत्पादन थाल्न बाँकी छ ।

अरुण काबेली पावर लिमिटेडले यो आयोजना बनाएको हो । ताप्लेजुङ र पाँचथरको सीमानामा बग्ने काबेली नदीमा बनेको यो आयोजनाको बिजुली पाँचथरको अमरपुरस्थित काबेली करिडोरको सवस्टेसनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले यसै आयोजनालाई ध्यानमा राखेर हालसालै काबेली करिडोरको सवस्टेसन चार्ज गरेको थियो । तीन वर्षमा नै निर्माण पूरा गर्ने गरी २०७२ साल वैशाखदेखि आयोजनाको निर्माण सुरु गरिएको थियो ।

माथिल्लो मार्दी

माथिल्लो मार्दी जलविद्युत् आयोजना पनि यस वर्षबाटै सञ्चालनमा आएको छ । ७ मेगावाटको यो आयोजना युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रो पावर कम्पनीले बनाएको हो ।

कास्कीको मार्दी खोलामा बनेको आयोजनाबाट २०७५ चैतदेखि विद्युत् उत्पादन गर्ने तालिका थियो । तर, आयोजनास्थलमा सुख्खा पहिरो खसेपछि एलाइनमेन्ट परिवर्तन गरेर सञ्चालनमा ल्याइएको हो । यसबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको बास्कोट सबस्टेसनमा जोडिएको छ ।

अन्य आयोजना

भोजपुरमा बनेको ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत् आयोजना पनि यसै अवधिमा सञ्चालनमा आएको छ । इटर्न हाइड्रोपावर कम्पनीको लगानीमा यो आयोजना भोजपुर नगरपालिका–६ गुम्बामा निर्माण भएको हो । आयोजना १ अर्ब १४ करोडको लगानीमा निर्माण भएको छ ।

कास्की र लमजुङको सिमाना भएर बग्ने रुदी खोलामा बनेको रुदीखोला–ए जलविद्युत् आयोजना पनि यसै वर्ष राष्ट्रिय प्रसारणमा जोडिएको छ । ८ दशमलव ८ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित बिजुली मुग्री सवस्टेसनमा जोडिएको हो ।

आयोजनाको विद्युत्गृह कास्कीको मिजुरेस्थित बालुवाबेसीमा छ । ३१ मार्च, २०१६ बाट निर्माण सुरु भएको यो आयोजना १५ सेप्टेम्बर २०१७ मा सक्ने लक्ष्य थियो । तर, भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा ढिलाई हुँदा यस वर्षबाट यसले उत्पादन थालेको हो । यसलाई विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालिले करिब १ अर्ब ५० करोड खर्चे बनाएको हो ।

पाँचथरमा बनेको इवाखोला जलविद्युत् आयोजना पनि राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ । ९.८ मेगावाटको यो आयोजना काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो ।

रैराङ हाइड्रोपावर लिमिटेडले बनाएको यो आयोजना पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको हो । आयोजनाको बिजुली राष्ट्रिय प्रसारण्मा जोड्न ८.५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको थियो ।

२०७० बाट निर्माण थालिएको आयोजना एक अर्ब ६० करोड लागतमा निर्माण भएको हो । यस्तै डोटीमा बनेको ३.३३ मेगावाटको कपाडी गढ आयोजना पनि राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

 

स्रोत:अन्लाईनखबर