प्राधिकरणले साढे ७ लाख सीएफएल चीम बाँढ्दै

    2321

    काठमाडौं
    energy_efficient_light_bulbsनेपाल विद्युत् प्राधिकरणले पहाड र तराईका दुर्गम गाउँमा ७ लाख ५० हजार सीएफएल चीम वितरण गर्ने तयारी गरेको छ। पुराना चीम प्रतिस्थापन गरी कम विद्युत् खपत गर्ने गरी निःशुल्क चीम वितरण गर्ने भएको हो।

    सीएफएल वितरण आयोजनाअन्तर्गत चीम वितरण, परीक्षण र जडान गर्न ठेक्का आह्वान गरेको छ। ठेक्का प्रस्ताव किनेका ५ कम्पनीमध्ये ४ वटाले मात्र बोलकबोलको रकम उल्लेख गरी प्रस्ताव पेस गरेका छन्। तर, प्रधिकरणले पहिलो कम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई छोडेर दोस्रोलाई ठेक्का दिने तयारी गरेको प्राधिकरण स्रोतले बतायो।

    एलपी ट्रेडर्स, जय दुर्गे प्रालि, हिम इलेक्ट्रोनिक्स र कस्मिक कप्पनीले ठेक्का प्रस्ताव गरेका थिए। ‘ती कम्पनीमध्ये एलपी ट्रेडर्सले सबैभन्दा कम प्रस्ताव गरेकोमा उक्त कम्पनीलाई छोडेर दोस्रो कम प्रस्तावक जय दुर्गेलाई ठेक्का दिन चलखेल भइरहेको छ,’ स्रोतले भन्यो। तर, ग्राहक वितरण सेवाका निर्देशक सुवास दाहालले पहिलो प्रस्तावक कम्पनीले आवश्यक प्रक्रिया पूरा गर्न नसकेको हुँदा दोस्रोको मूल्यांकन भइरहेको बताउनुभयो।

    निर्देशक दाहालले भन्नुभयो– ‘ठेक्का प्रस्ताव गर्न एक वर्षको कम्पनीको कूल कारोबारको अवस्थासहितको कागजात पेस गर्नुपर्नेमा पहिलो कम्पनीले ६ महिनाको मात्र पेस गरेकाले दोस्रो छान्नु परेको हो।’ कूल १ करोड ९४ लाख रुपियाँको आयोजनामा पहिलो र दोस्रो प्रस्तावक बीचको फरक नै २० लाख रुपियाँ रहेको बताइएको छ। उक्त २० लाख रुपियाँमै चलखेल भएको प्राधिकरणका केही कर्मचारीको आरोप छ।

    ‘गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा अख्तियारले धमाधम कर्मचारीहरू समातिएको अवस्थामा पनि आर्थिक चलखेल नरोकिनु दुर्भाग्य हो,’ एक कर्मचारीले भने। सार्वजनिक खरिद ऐनका कारण पनि आर्थिक अनियमितता बढ्ने गरेको कर्मचारीहरूको टिप्पणी छ। कम रकमलाई मात्र आधार मानेर ठेक्का दिने प्रचलन प्राधिकरणमा मात्र नभई देशमै आर्थिक अनियमितता बढ्ने प्रमुख कारक बन्ने गरेको छ। कम रकमलाई मात्र आधार नबनाई सीएफएल वितरणमा सक्षम कम्पनी छनोट गर्ने प्रयास गरिएको निर्देशक दाहालको भनाइ छ।

    ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेकाले भदौदेखि वितरण प्रक्रिया शुरू गरिने भएको छ। चीनको लिडर्सन लाइटिङ कम्पनीले उत्पादन गरेका चीम ४ लाख ५४ घरपरिवारलाई वितरण गर्ने प्राधिकरणले जानकारी दिएको छ। एसियाली विकास बैंकको सहयोगमा निःशुल्क वितरण गरिने प्रतिचीम करिब १ सय रुपियाँ (१.१० अमेरिकी डलर) मा खरिद गरिएको हो।

    साढे ७ लाख चीमको खरिद र जडानसहितको खर्च करिब ९ करोड रुपियाँ पुग्ने हु्ँदा भारतबाट ९ रुपियाँ प्रतियुनिटसम्म विद्युत् खरिद गर्नुभन्दा सीएफएल चिम जडान गर्नु फाइदा हुने प्राधिकरणका इन्जिनियरहरूले बताएका छन्। उक्त परिमाणको चीमले करिब २३ मेगावाट अर्थात ३ करोड ४५ लाख वाट विद्युत् बचत हुने पनि प्राधिकरणले जनाएको छ।

    आगामी मंसिरसम्म यसअघि वितरण गरिएका ६० वाटका चीम प्रतिस्थापन गरी १४ वाटका चीम जडान गरिनेछ। यसमा ४६ वाट विद्युत् बचत हुने हुँदा सीएफएल चीम जडानको अभियानलाई तीव्रता दिनुपर्ने बताइएको छ। प्राधिकरणका अनुसार पहिलो प्याकेजअन्तर्गत पहाडमा ३३ हजार ४० र तराईमा ३ लाख ३१ हजार ६ सय ७७ चीम वितरण गरिनेछ भने दोस्रो प्याकेजअन्तर्गत पहाडमा १ लाख ३६ हजार २ सय ७७ र तराईमा २ लाख ४९ हजार २ सय ३५ चिम वितरण गरिनेछ। पहिलो प्याकेजमा विराटनगर, जनकपुर, हेटौंडा र काठमाडौंका क्षेत्रीय कार्यालयमार्फत र दोस्रो प्याकेजमा पोखरा, बुटवल, नेपालगन्ज र अत्तरियास्थित क्षेत्रीय कार्यालयबाट वितरण गर्ने प्राधिकरणको योजना छ। घरेलु प्रयोगका लागि सीएफएल चीमको प्रयोग बढाउन सके केन्द्रीय प्रसारण प्रणालीको विद्युत् औद्योगिक क्षेत्रलाई वितरण गर्न सकिने विश्लेषकहरूको तर्क छ। यसले विद्युत् किन्न भारतलाई तिर्नुपर्ने वार्षिक अर्बौं रुपियाँमा कमी आउने पनि बताइएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा मात्र करिब ५ अर्ब रुपियाँको विद्युत् खरिद गरेको छ।

    Source : newsofnepal.com