प्रधानमन्त्रीले ओलीले भने : जेठदेखि नेपालबाट भारतमा बिजुली निर्यात हुनेछ

    1089

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो जेठदेखि नेपालबाट भारतमा बिजुली निर्यात हुने बताएका छन् । आउदो वैशाखसम्ममा ४५६ मेगावाटको निर्माणधिन माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि जेठदेखि बिजुली निकासी हुने बताएका हुन् । उनले व्यापार घाटा सन्तुलनमा ल्याउन बिजुली निकास गर्नुपर्नेमा जोड दिए ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा मंगलबार यहाँ आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताएका हुन् । प्रधानमन्त्री ओलीले अगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने सम्मेलनमा नेपाल सरकार फरक ढङ्गले प्रस्तुत हुने तथा बिम्स्टेक र सार्कलाई सक्रिय बनाउन सरकारले पहल गर्ने जानकारी दिए।

    सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समाजवादको यात्रालाई सार्थक बनाउन धनी र गरीबबीचको अन्तरलाई कम गर्दै जाने बताउँदै यस क्षेत्रका ठूला नदी नियन्त्रण र विकासका योजना आउने जानकारी दिए । रासस