माथिल्लो तामाकोसीको बाँध मंसिरदेखि निर्माण हुने

    1454

    स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध निर्माण आगामी मंसिरदेखि सुरु हुने भएको छ ।

    गत वर्षको भूकम्पले पहुँचमार्गको अभावमा अघि बढ्न नसकेको बाँध निर्माण कार्य आगामी मंसिरदेखि सुरु हुन लागेको हो ।

    दुई महिनाभित्र सुरुङमार्ग (टनेल रोड) को कार्य सम्पन्न गरेपछि बाँध निर्माण कार्य सुरु गर्ने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए । २३ मिटर अग्लो र ६० मिटर चौडाइ रहेको बाँधमा भूकम्पले सामान्य क्षति पु¥याएको थियो ।

    विद्युत्गृह गोंगरदेखि लामा बजारसम्मको ११ किमि सडक भूकम्पका कारण पूर्ण रूपमा क्षति भएपछि आयोजनाले ३३० मिटरको सुरुङमार्ग निर्माणको कार्य अघि बढाएको छ ।

    आयोजनाका अनुसार हालसम्म एक सय मिटरको निर्माण कार्य पूरा भैसकेको छ । सिनो हाइड्रोले सुरुङमार्ग निर्माणका लागि ठेक्का लिएको छ । दैनिक ५ मिटरका दरले सुरुङमार्ग निर्माण अघि बढेकाले दुई महिनाभित्रै पूरा हुने देखिएको छ ।

    भूकम्पका कारण बाँधमा सामान्य क्षति भएपछि अध्ययन गर्न अमेरिकाबाट ५ जना विज्ञ बोलाइएको थियो ।

    विज्ञ समूहले बाँधको विभिन्न संरचनामा दिएको सेटलमेन्टको अवस्था व्यवस्थापन हुने जनाउँदै बाँध, इन्टेक आदि बनाउँदा पर्याप्त स्थिरता र वाटर टाइटनेस बनाउन सम्भव रहेको प्रतिवेदनसमेत दिएको छ ।

    भूकम्पका कारण सिंगटीदेखि विद्युत्गृह रहेको गोंगरसम्मको २९ किमि प्रवेश मार्गमा क्षति भएकाले पुनर्निर्माण कार्य अघि बढाइसकेको छ ।

    २०७३ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको माथिल्लो तामाकोसीको काम भने भूकम्पका कारण दुई वर्ष धकेलिएको छ । असार २०७५ भित्र आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य राखिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

    ४२ अर्ब अनुमानित लागत रहेको आयोजना निर्माणका लागि हालसम्म २३ अर्ब ६९ करोड रुपैयाँ खर्च भैसकेको आयोजनाले जनाएको छ ।

    तामाकोसी पाँचौ बनाउन इच्छुक

    भूकम्पका कारण निर्माणमा ढिलाइ भएको निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीले ८७ मेगावाट क्षमताको तामाकोसी ‘भी’ निर्माणका लागि इच्छा व्यक्त गरेको छ ।

    शुक्रबार कम्पनीको आठौं साधारणसभामा पेश गरिएको प्रतिवेदनमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी तामाकोसी भी बनाउन इच्छुक रहेको उल्लेख छ ।

    माथिल्लो तामाकोसी निर्माण कार्य सम्पन्न भएपछि विद्युत्गृहबाट निस्कने पानीबाट ८ किलोमिटर सुरुङमार्फत सुरी दोभानमा लगेर आयोजना निर्माण गर्र्ने लक्ष्यसहित विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको छ ।

    प्रतिवेदनमा माथिल्लो तामाकोसीको आयोजना निर्माणस्थलभदा माथि रहेको ४५ मेगावाटको माथिल्लो तामाकोसी ए आयोजना निर्माण गर्न अनुमतिपत्रका लागि निवेदन दिए पनि प्राप्त हुन नसकेको उल्लेख छ ।

    स्रोत : कारोबार