घैलाडुब्बामा आठ करोडको लागतमा प्राधिकरणको सवस्टेशन

    1589

    बिर्तामोडः झापाको कनकाई नगरपालिका–८ घैलाडुब्बामा आठ करोड रुपैयाँको लागतमा नेपाल विद्युत् प्राधिकरणको ३३-११ केभीएको सवस्टेशन निर्माण कार्य आइतबारबाट सुरु भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापना निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत एसियाली विकास बैङ्कको ऋण सहयोगमा बन्न लागेको सवस्टेशनको शिलान्यास ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा गरे ।

    २४ अगष्ट सन २०१८मा काम सम्पन्न गर्ने गरी सबस्टेशनको निर्माण कार्य प्रारम्भ भएको नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख इञ्जिनियर राजीवकुमार सिंहले बताए ।

    २०१७ अप्रिलमा सवस्टेशनको पर्खाल तथा फेन्सिङ कार्य सम्पन्न गर्ने, डिसेम्बरमा ३३÷११ केभी सवस्टेशन निर्माण, जुलाईमा कन्ट्रोल विल्डिङ निर्माण, सेप्टेम्बरमा कर्मचारी आवास निर्माण , अप्रिल २०१८ मा ११ केभी लाइन तथा एलटी लाइन विस्तार गर्ने र मे १८मा सवस्टेशन टेष्टिङ कमिसनिङ चार्जिङ कार्य गर्ने सिंहले बताए ।
    यसैबिच झापाको बिर्तामोडमा तीन दर्जन संस्थाहरूले मन्त्री शर्मा लगायत ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अभिनन्दन गरिएको थियो ।

    स्रोत:कारोबार दैनिक