नेपालको विद्युत् प्रणालीमा भारतको ४८ % हिस्सा

    1139

    काठमाडौंः नेपालको आन्तरिक उत्पादन कमजोर भएपछि भारतबाट विद्युत् खरिद बढेसँगै यहाँको विद्युतीय प्रणालीमा भारतीय हिस्सा झण्डै ४८ प्रतिशत पुगेको छ ।

    बुधबारदेखि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाइनमार्फत २५ मेगावाट बिजुली थपिएपछि भारतबाट आयातीत बिजुली हिस्सा ४७.५६ प्रतिशत पुगेको हो ।

    नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार, बुधबारदेखि नेपालको विद्युत् प्रणालीमा दैनिक १६ हजार ४ सय मेगावाट आवर विद्युत् रहेकोमा भारतको मात्र ७ हजार ८ सय मेगावाट आवर पुगेको छ ।

    यसमा विद्युत् प्राधिकरणको ४ हजार ८ सय मेगावाट आवर र निजी क्षेत्रको ३ हजार ८ सय मेगावाट आवर छ । पछिल्लो समयमा नेपालका अधिकांश नदी प्रवाहमा आधारित (आरओआर) आयोजना भएकाले जलविद्युत् उत्पादन ४० प्रतिशतमा झरेको छ ।

    ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाइनबाट १ जनवरी २०१७ को मध्यरातदेखि ४० मेगावाट थपिएको थियो भने १ फेबु्रअरीमा ४० मेगावाट थपिने लक्ष्य राखिएकोमा २५ मेगावाट मात्र थपिएको छ ।

    आगामी हिउँदभित्रै टनकपुरबाट थप ४० तथा रक्सौल–परवानीपुर र कटैया–कुसाहाबाट ५०/५० मेगावाट थप गर्ने प्राधिकरणको लक्ष्य छ । अघिल्लो वर्षको हिउँदमा यसै समयमा भारतबाट नेपालले २ सय ७६ मेगावाट आयात गरेकोमा हालसम्म ३ सय ८० मेगावाट गरिरहेको छ ।

    नेपाल विद्युत् प्राधिकरणको लक्ष्यअनुसार आगामी फागुनमा भारतको आयातीत बिजुली हिस्सा विद्युत् प्रणालीमा ५ सय ३५ मेगावाटसम्म पुग्ने लक्ष्य छ ।

     स्रोत:कारोबार