जलविद्युत् आयोजना : सरकारले नै गरेन बीमा

    1190

    वैशाख १८, काठमाडौं । सरकारनिर्मित जलविद्युत् आयोजनाहरूको हालसम्म पनि बीमा गरिएको छैन । यसले गर्दा यस विषयमा निजीक्षेत्र पनि संवेदनशील हुन नसकिरहेको भेटिन्छ । २ वर्षअघि गएको भूकम्पले पुर्‍याएको क्षतिले निजीक्षेत्रका जलविद्युत् आयोजना प्रवद्र्धकहरूमा आयोजना बीमाको आवश्यकता भने महसूस गराएको छ । अप्रत्याशित रूपमा हुने क्षतिका कारण करोडौंको लगानी डुब्ने देखेपछि उनीहरू यसतर्फ आकर्षित हुन थालेका हुन् । तर, बीमा भएका निजीक्षेत्रका जलविद्युत् आयोजनामध्ये पनि धेरैजसोको बीमा विद्युत् उत्पादन शुरू भइसकेपछि गरिएको छ ।

    परियोजना निर्माणकै क्रमको बीमा गर्नेहरूको सङ्ख्या निकै कम रहेको राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझी बताउँछन् । ‘विद्युत् उत्पादन नै शुरू भइसकेपछिको बीमा गर्नु पनि आवश्यक त छ नै,’ उनी भन्छन्, ‘तर, ढुङ्गा, माटो, पहरो तथा पानीसँग काम गर्नुपर्ने क्षेत्र भएकाले निर्माणको क्रमकै बीमा गर्ने हो भने क्षतिको परिपूरणमा सजिलो हुन्छ ।’

    जलविद्युत् आयोजना विकासका क्रममा निर्माणको चरण सबैभन्दा जोखीमपूर्ण अवस्था मानिन्छ । विद्युत् उत्पादन शुरू नहुँदासम्म आयोजनाको विकासको चरण यस्तै हुन्छ भन्न सकिँदैन । त्यस्तो अवस्थामा पेनस्टक पाइप फुट्न सक्ने, बाँध भत्किन सक्नेजस्ता धेरै क्षतिका सम्भावना रहने अपी पावर कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपाने बताउँछन् । बीमा गर्दा केलाई आधार मान्ने भन्ने कुरा नीतिमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

    ‘आयोजनाको आकार, लागत तथा क्षमता भिन्नभिन्न हुन्छन्,’ उनले भने, ‘नीतिमै यस प्रकारको आयोजनाको बीमा मूल्य यति हुनुपर्ने भन्ने स्पष्ट भयो भने मात्रै कार्यान्वयनमा सजिलो हुन्छ ।’

    राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायमाझी भने कम्पनीले आआप्mनो इच्छाअनुसार पावर हाउस, प्रशासनिक भवनदेखि समग्र आयोजनाकै पनि बीमा गर्न सक्ने व्यवस्था रहेको बताउँछन् । कम्पनीले भुइँचालोबाट क्षति पुगेको चिलिमे जलविद्युत् कम्पनीको प्रशासनिक भवनको बीमाअनुरूपको रू. ३५ लाख भुक्तान गरिसकेको छ । यसबाहेक अहिलेसम्म अन्य कुनै पनि जलविद्युत् कम्पनी आप्mनो आयोजनाको बीमा रकम दाबी गर्न नआएको उनले बताए ।

    बुटवल पावर कम्पनी (बीपीसी)का प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठ हालसम्म जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले औपचारिकताका लागि मात्र बीमा गर्ने गरेको बताउँछन् । ‘बीमाका प्रावधानमा आगलागी, बाढीपहिरो, भुइँचालोजस्ता प्राकृतिक प्रकोपको क्षति बीमा कम्पनीद्वारा परिपूरण नहुने भन्ने बुझाइ आम रूपमा रहेको छ,’ उनी भन्छन्, ‘तर, जलविद्युत् आयोजनामा तिनै कुराहरूबाट हुने जोखीमका लागि नै बीमा गर्नुपर्ने भएकाले वास्तविकता बुझाउनु आवश्यक छ ।’

    राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायमाझी भने जलविद्युत् आयोजनाका हकमा सबै प्रकारका क्षतिको भरण हुने बताउँछन् । ‘प्रवद्र्धकले आयोजनाको जोखीम रहने हरेक विषयमा बीमा गर्न पाउने व्यवस्था छ,’ उनले भने, ‘जसले गर्दा क्षति भएको खण्डमा बीमा गरेका हरेक विषयको बीमा रकम पाइन्छ ।’ बीमा कम्पनीहरूले बीमाकर्ताको रकम अन्तरराष्ट्रिय बीमा कम्पनीमा राख्ने हुँदा क्षति भरण गर्न सकिने रायमाझी बताउँछन् ।

    प्रवर्द्धकहरूमा बीमाको औचित्यका बारेमा ज्ञान प्रवाह गर्नु पहिलो र बीमा गर्दा बीमा विशेषज्ञको सल्लाह लिनु दोस्रो आवश्यकता रहेको बीपीसीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ बताउँछन् । केही दिनअघि राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले जलविद्युत् आयोजनामा बीमा अनिवार्य गरिनुपर्ने बताएका थिए ।

    स्रोत:अभियान