एक घन्टासम्मको पिकिङलाई छुट्टै पीपीए

    1035

    काठमाडौ: नेपाल विद्युत् प्राधिकरणले एक घन्टादेखि माथिको अर्धजलाशय (पिकिङ रन अफ दि रिभर) आयोजनाका लागि छुट्टै विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ ।

     ऊर्जा मन्त्रालयले तोकेको अर्धजलाशयको पीपीए दरमा ४ देखि ६ घन्टासम्म पिकिङ दिनसक्ने आयोजनालाई मात्र दिने गरी दर तोकेकोमा मन्त्रालयसँग समन्वय गरी प्राधिकरण सञ्चालक समितिको ७५१ औं बैठकले एक घन्टादेखिकै दर निर्धारण गर्ने निर्णय गरेको हो ।

    सञ्चालक समितिको निर्णय अनुसार अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने प्रवद्र्धक कम्पनीहरूले १ देखि २ घन्टासम्म पिकिङ दिने आयोजनालाई प्रतियुनिट ८.५० रूपैयाँ, २ देखि ३ घन्टाको प्रतियुनिट ८.८०, ३ देखि ४ घन्टाको ९.४० तथा ४ देखि ६ घन्टाको प्रतियुनिट १०.५५ रूपैयाँ पाउनेछन् ।

    मन्त्रालयले अर्धजलाशयको मंसिर १६ देखि जेठ १५ र जेठ १६ देखि मंसिर १५ सम्म पिकिङ भएको समयमा प्रतियुनिट १०.५५, सोही समयमा पिकिङ नहुँदा प्रतियुनिट ८.४० र जेठ १६ देखि मंसिर १५ सम्म प्रतियुनिट ४.८० रूपैयाँ तोकेको थियो । सोही आधारमा प्राधिकरण सञ्चालक समितिले प्रणाली सञ्चालनका लागि सहज हुने बताउँदै एक घन्टादेखिकै पिकिङलाई छुट्टै पीपीए दर दिने निर्णय गरेको छ ।

    यसअघि ऊर्जा मन्त्रालयले जलाशययुक्त जलविद्युत् आयोजनाको लागि बर्षा र हिउँदको फरक उत्पादनलाई ध्यानमा राखेर मंसिर १६ देखि जेठ १५ र जेठ १६ देखि मंसिर १५ सम्म क्रमशः प्रतियुनिट १२.४० र ७.१० रूपैयाँ दर निर्धारण गरेर प्राधिकरण पठाएको थियो । यो प्रस्तावसमेत प्राधिकरण सञ्चालक पारित गर्ने निर्णय समितिले गरेको छ ।

    प्राधिकरण सञ्चालक समितिले नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाहरूका लागि तोकेको सुख्यायामको समय बढाउने निर्णय गरेको छ । पहिला प्राधिकरणले पुस, माघ, फागुन र चैतलाई सुख्यायामको रूपमा लिएर प्रतियुनिट ८.४० रूपैयाँ जलविद्युत् आयोजनालाई पीपीए दर दिँदै आएकोमा यो निर्णयसँगै मंसिर १५ देखि जेठ १५ गतेसम्म सो दर पाउनेछन् ।

    नयाँ निर्णयले वर्षा र हिउँद यामलाई ६÷६ महिना कायम गरेको छ । यसअघि सुख्यायाममा ४ महिना मात्र थियो । आरओआर आयोजनाको पीपीए रेट वर्षामा ४.८० रूपैयाँ छ । प्राधिकरण सञ्चालक समितिले अर्ध जलाशय र जलाशय दुवैको पीपीए दर पारित भएपछि अब जलविद्युत् आयोजनाहरूले नयाँ पीपीए दर पाउनेछन् । जलाशय र अर्ध जलाशय पीपीए दरले यसप्रति लगानीकर्ताहरूको आकर्षण बढ्ने तर्क प्राधिकरणका अधिकारीहरूको छ ।

    डलर पीपीए स्वीकृत
    प्राधिकरण सञ्चालक समितिले विदेशी मुद्रा (डलर) मा गरिने विद्युत् खरिद सम्झौता (पीपीए) कार्यविधि तयार गरेको छ । एक सय मेगावाट माथिका जलविद्युत् आयोजनाहरूका लागि मन्त्रालयले तयार गरेको कार्यविधि सञ्चालक समितिले पारित गरेको हो ।

    एक सय मेगावाटभन्दा कम क्षमताका आयोजनाहरूमा डलर पीपीए नगर्ने निर्णय गरेको प्राधिकरणले एक सयभन्दा माथिका आयोजनाको हकमा भने विदेशी लगानीको अनुपातमा पीपीए दर निर्धारण गर्ने निर्णय गरेको छ ।

    प्राधिकरणका एक अधिकारीका अनुसार, नेपाली मुद्रामा हुने पीपीए दरलाई आधार मानेर विदेशी लगानी र यसको प्रतिफलको समय (पे ब्याक पिरियड)को आधारमा पीपीए दर कायम हुने छ । डलरको जोखिम न्यूनीकरणका लागि भने हेजिङ फण्ड बनाउने र त्यसको आधारमा अघि बढ्ने कार्यविधिमा उल्लेख छ ।

    अर्धजलाशयको पीपीए
    पिकिङ समय (घन्टा)    दर (प्रतियुनिट रूपैयाँ)
    १–२                                   ८.५०
    २–३                                   ८.८०
    ३–४                                    ९.४०
    ४–६                                    १०.५५
    स्रोतः नेपाल विद्युत् प्राधिकरण
     

    स्रोत:कारोबार