तल्लो मध्यमस्र्याङ्दीमा १३२ केभी डबल सर्किट निर्माण तीव्र

    1326

    सरकारले १३२ केभी मध्यमस्र्याङ्दी–तल्लो मस्र्याङ्दी डबल सर्किटको काम तीव्र गतिमा अघि बढाएको छ । बर्खायाम लागेसँगै नदी तथा खोलानालामा पानीको बहाव बढेपछि विद्युत् उत्पादन बढ्ने र उत्पादित विद्युत् सहजै पठाउन आगामी एक महिनाभित्रै काम सक्ने लक्ष्य लिइएको मध्यमस्र्याङ्दी डुम्रे–दमौली प्रसारण लाइन आयोजनाका प्रमुख गणेश केसीले बताए ।

    काम नसकिए उत्पादित विद्युत् खेर जाने
    प्रसारण लाइन प्रभावित स्थानीयले तारमुनि जग्गा परेको भन्दै वेला–वेलामा अवरोध गर्दै आएको केसीको भनाइ छ । मुआब्जा, स्थानीयको अवरोधजस्ता गतिविधिले काममा केही ढिलाइ भएको उनले बताए ।  आगामी एक महिनाभित्र प्रसारण लाइनको काम नसकिए जिल्लामा उत्पादित विद्युत् खेर जाने अवस्था रहेको उनको भनाइ छ ।

    २ सय मेगावाट उत्पादन हुने
    नदीमा पानीको बहाव बढेपछि ३३ केभी लाइनको १५ मेगावाट र तल्लो मस्र्याङ्दीसहित झन्डै २ सय मेगावाट विद्युत् मस्र्याङ्दी बेसिनबाट मात्रै  उत्पादन हुनेछ ।  केसीका अनुसार प्रसारण लाइन निर्माण झन्डै ५० प्रतिशत सकिएको छ । ‘मध्यमस्र्याङ्दी–तल्लो मस्र्याङ्दीसम्मको कुल ३८ किलोमिटरमध्ये ३१ किलोमिटर क्षेत्रमा तार टाँग्ने काम सकिएको छ,’ आयोजना प्रमुख केसीले भने, ‘बर्खामा समस्या उत्पन्न हुने हुँदा तीव्र गतिमा काम सुरु गरेका हौँ । आगामी एक महिनाभित्रमा सबै काम सकिन्छ ।’

    मध्यमस्र्याङ्दी र माथिल्लो  मस्र्याङ्दी–ए पूरा क्षमतामा
    जिल्लामा सञ्चालित मध्यमस्र्याङ्दी र माथिल्लो मस्र्याङ्दी–ए पूरा क्षमतामा चल्न थालेका छन् । मस्र्याङ्दी नदीमा पानीको बहाव बढेसँगै ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए बाट पूरा क्षमतामा विद्युत् उत्पादन भएको छ ।

    हिउँदभर पानी अभावमा एउटा मात्रै टर्बाइन चलाएर विद्युत् उत्पादन गरिए पनि नदीमा पानीको मात्रा बढेपछि विद्युत् उत्पादन क्षमता वृद्धि भएको विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार यसअघि ५० मेगावाटको माथिल्लो मस्र्याङ्दीबाट २५ र ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट ३५ मेगावाट मात्रै उत्पादन हुँदै
    आएको थियो ।

    ‘मनाङका हिमालमा हिउँ पग्लिन थालेको र लमजुङमा पानी पर्न थालेपछि नदीमा पानीको बहाव बढेको हो,’ न्यौपानेले भने, ‘अहिले जिल्लामा १ सय १८ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।’

    विद्युत् केन्द्रका केन्द्र प्रमुख पशुपति गौतमले भने, ‘अब बिस्तारै क्षमता वृद्धि हुन थालेको छ । प्रसारण लाइन क्षमता नभएका कारण ३३ केभीमार्फत डुम्रे पठाएर लोड घटाउने योजना बनाएका छौँ ।’ उनका अनुसार एक सय २० मेगावाट विद्युत् मात्रै १३२ केभीको सिंगल प्रसारण लाइनमा पठाउन सकिनेछ ।

    स्रोत:नयाँपत्रीका