सिंगटी खोलाको पीपीए गर्न माग

    3143

    नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता पीपीए गर्न ढिलाइ गर्दा आयोजनाको काम अगाडि बढाउन नपाएको सिंगटी खोला जलविद्युत् आयोजनाका प्रवद्र्धकले बताएका छन् ।
    सिंगटी खोला हाइड्रोपावर कम्पनीका सञ्चालक विश्वनाथ कँडेलले आयोजनाको काम अगाडि बढाउन आफू तयार भएको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता पीपीए गर्न ढिलाइ गरिरहेको आरोप लगाए । “पीपीए भएकोे १५ दिनभित्र निर्माण सुरु गर्न सक्ने गरी पूर्ण तयार छौं,” कँडेलले भने, “लोडसेडिङ छिटो अन्त्य गर्नुपर्छ भन्ने प्राधिकरणले नै हामीलाई अल्झाइरहेको छ ।” आयोजनाको विस्तृत अध्ययन–प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको उनले जानकारी दिए । नेपाली र गैरआवासीय नेपालीको संयुक्त लगानी हुने भएको छ । १६ मेगावाट विद्युत् निर्माणका लागि कुल २ अर्ब ६७ करोड अनुमानित लागत रहेकोे सो आयोजनामा गैरआवासीय नेपालीहरूका तर्फबाट भीम उदास, उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष उमेश श्रेष्ठ, वैदेशिक रोजगार व्यवसायीहरू तथा बैंकर्सहरूको लगानी हुने उनले बताए ।
    आयोजना ३० प्रतिशत सेयर र ७० प्रतिशत ऋण लगानीमा निर्माण हुन लागेको  छ । आयोजनाका लागि प्राइम कमर्सियल बैंकको नेतृत्वमा नौवटा बैंकले ऋण लगानी गर्ने सहमति भएको कँडेलले बताए ।
    सिंगटीको खोलाको डीपीआरअनुसार सुरुङ निर्माण गरेर वा पूरै पेनस्टक पाइप मात्रबाट निर्माण गर्ने गरी दुई किसिमको डिजाइन गरेको कँडेलले जानकारी दिए । सुरुङ निर्माण गर्दा केही महँगो परे पनि ४ मेगावाटसम्म क्षमता विस्तार गरेर २० मेगावाटसम्म पुग्ने उनले बताए । आयोजनाका लागि लादुकतिरबाट सिंगटीदेखि सोरुङ खोलासम्मको ७ किलोमिटर सडकको ट्र्याक खोलिसकिएको छ । आयोजनाको सम्पूर्ण संरचना लामिडाँडा र बाबरेमा हुनेछ ।
    बाबरे र चिलंखाको बीचमा दुई मिटर अग्लो पोखरी बनाएर ६ किलोमिटर पेनस्टक पाइपको माध्यमबाट लामिडाँडा ६ सिंगटी नजिक अर्धभूमिगत विद्युतगृह निर्माण गरी विद्युत् उत्पादन गर्ने डिजाइन पनि डीपीआरमा छ । निर्माण सुरु गरेको तीन वर्षमा आयोजना पूरा गर्ने लक्ष्य राखिएको छ ।  सो आयोजनाबाट बाबरे, लामिडाँडा, चिलंखा र लादुक गाविस प्रत्यक्ष प्रभावित हुनेछ । प्रभावित गाविसहरूमा वातावरणीय प्रभाव न्यूनीकरण र साामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
    प्राधिकरणसँग अनुमति लिइएका ‘सुपर सिक्स’ आयोजनाको पीपीए प्राधिरकणकै कारण रोकिँदा आयोजना निर्माणमा ढिला भएको प्रवद्र्धकहरूको गुनासो छ । ‘सुपर सिक्स’ आयोजनाअन्तर्गत दोलखामा रहेको अर्को २४.१ मेगावाटको खारे खोला कन्स्टोरियम डेभलपमेन्ट प्रालिले पनि पीपीए कुरिरहेको छ । आयोजनाका प्रवद्र्धकको आग्रहपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत एक महिनाअघि ‘सुपर सिक्स’ आयोजनाको १५ दिनभित्र पीपीए गरिदिन प्राधिकरणलाई निर्देशन दिए तापनि त्यो कार्यान्वयन भएको  छैन ।

    स्थानीयलाई पनि सेयर

    सिंगटी खोला जलविद्युत् आयोजनाले स्थानीयलाई सेयर लगानी गर्न दिने भएको छ । दोलखामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनले  स्थानीयलाई १० प्रतिशत सेयर दिने बताएपछि यहाँका अन्य आयोजनाले समेत स्थानीयलाई सेयर दिने प्रतिबद्धता गर्न थालेका हुन् ।
    कँडेलले स्थानीयसँगको छलफलका आधारमा १० देखि १५ प्रतिशतसम्म सेयर लगानी गर्न दिने योजनामा भएको जानकारी दिए ।
    दोलखामा निर्माणाधीन माथिल्लो तामाकोसीले १० प्रतिशत, सिप्रिङ खोलाले ५ प्रतिशत निःशुल्क, चर्नावतीले १० प्रतिशत र जिरी खोलाले ५ प्रतिशत सेयर स्थानीयलाई लगानी गर्न दिने सम्झौता गरे पनि अहिलेसम्म त्यसको मोडल भने तयार गरेका छैनन् । माथिल्लो तामाकोसीबाहेकका आयोजना पूरा हुन लाग्दासमेत त्यसको अहिले कसरी स्थानीयलाई कसरी सेयर दिने भन्नेबारे भने अझै अन्योल छ ।

     

    प्रस्तुति: कारोबार