टनकपुरबाट ३० मेगावाट विद्युत आयातको सम्झौता

    1067

    tanakpur

    काठमाडौं : भारतबाट आउँदो शुक्रबारदेखि ३० मेगावाट विद्युत् आयात गर्ने सम्झौता भएको छ । हिउँदमा हुने लोडसेडिङ न्यूनीकरण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ट्रेड कम्पनी (पीटीसी) बीच मंसिर १० देखि विद्युत् आयात गर्ने औपचारिक सम्झौता भएको हो ।

    प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र पीटीसीका निर्देशक हरिसशरणबीच विद्युत् खरिदसम्बन्धी सम्झौता भएको हो ।

    यस्तै, प्राधिकरण विद्युत् व्यापार विभाग प्रमुख एवं प्रवक्ता प्रवल अधिकारी र पीटीसीका निर्देशक शरणबीच सम्झौता आदानप्रदान भएको प्राधिकरणले जनाएको छ ।

    टनकपुर–महेन्द्रनगर प्रशारणलाइनबाट ३.४४ भारु अर्थात् ५.५० रुपैयाँ प्रतियुनिटमा चालू वर्षसम्म नेपालले भारतबाट सो विद्युत् आयात गर्ने गरी सम्झौता गरेको प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए ।

    उनका अनुसार, भारतले दिन लागेको यो बिजुली महाकाली सम्झौताअनुसार टनकपुरबाट भारतले नेपाललाई दिने ७ करोड युनिट निःशुल्क बिजुलीबाहेकको हो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित भारत गएको प्राधिकरणको टोली र भारतीय पक्षबीच टनकपुरबाट थप बिजुली आयातका लागि टनकपुरको सबस्टेसनको क्षमता अभिवृद्धिबारे समेत छलफल भएको छ ।

    हाल रहेको ५० एमभीएको ट्रान्सफर्मर स्तरोन्नति गरेर एक सय एमभीएको बनाउनका लागि  चार दिनभित्र प्राधिकरण र भारतीय पक्षबीच प्राविधिक अध्ययन हुनेछ । अध्ययनको आधारमा यथाशीघ्र क्षमता बढाउन अघि बढाउन गृहकार्य गर्ने निर्णय पनि भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

    एक सय एमभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् थप गर्न प्राधिकरणले भारतीय पक्षलाई छलफलको क्रममा प्रस्ताव समेत गरेको थियो । प्राविधिक अध्ययनको आधारमा थप बिजुली दिन भारतीय पक्ष सकारात्मक देखिएको अधिकारीले जानकारी दिए ।

    नेपालको लोडसेडिङ न्यूनीकरणका लागि महत्वपूर्ण मानिएको ढल्केबर–मुज्जफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप बिजुली ल्याउनका लागि आवश्यक देखिएको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गर्न केही ढिलाइ हुने देखिएको छ ।

    विकल्पको रूपमा एक सय एमभीएको ट्रान्सफर्मर राख्नेबारे पनि प्राधिकरण र भारतीय पक्षबीच छलफल भएको छ । हाल एक सय एमभीएको ट्रान्सफर्मरमार्फत ८० मेगावाट आयात गरिरहेको नेपालले थप एक सय एमभीएको ट्रान्सफर्मर जडान गर्नका पावर ग्रीड कर्पोरेसन इन्डिया लिमिटेड (पीनीसीआईएल) लाई अनुरोध गरेको छ ।

    छलफलमा ग्रीडले यसबारे सम्भावता अध्ययन गर्ने तथा भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग सहमति प्राप्त गरी एक महिनाभित्र संरचना बनाउनका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

    उनका अनुसार, उपयुक्त देखिएमा एक महिनाभित्र आवश्यक पूर्वाधार तयार गरेर त्यसको एक हप्ताभित्र थप ८० मेगावाट विद्युत् आयात गर्ने गरी गृहकार्य अघि बढाउने निर्णय गरिएको छ ।

    हाल निर्माणाधीन अवस्थामा रहेका १३२ केभीका कटैया–कुसाहा तथा रक्सौल पवानीपुर प्रसारण लाइनबाट थप एक सय मेगावाट विद्युत् आयात गर्ने निर्णय पनि दुई देशका अधिकारीहरूको छलफलले गरेको छ ।

    छलफलकै क्रममा आगामी १५ डिसेम्बरभित्र प्रसारण लाइन निर्माण गरिसक्ने प्रसारण लाइन बनाइरहेको भारतीय वाकपोस कम्पनीले प्रतिबद्धता जनाएको र आगामी डिसेम्बर अन्त्यमा प्रसारण लाइन चार्ज गरिसकेर आयात गर्ने लक्ष्य राखिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

    पाँच वर्षपछि बैठक बस्दै

    नेपाल र भारतबीच विद्युत् आदानप्रदान समितिको बैठक ५ वर्षपछि आगामी डिसेम्बरको तेस्रो साता काठमाडौमा हुने भएको छ ।

    प्रत्येक वर्ष भारतबाट आयातीत बिजुलीको मूल्य स्वतः ५.५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेपछि सन् २०११ देखि सो बैठक बस्न नसकेकोमा बल्ल काठमाडौमा ११ औ बैठक बस्ने भएको हो ।

    भारतबाट आयातीत बिजुलीको मूल्य महँगो भइरहेको र यसको पुनरावलोकन नहुँदा प्राधिकरण झन घाटामा गइरहेको छ ।

    Source: karobardaily