हिउँदमा ‘शून्य लोडसेडिङ’

    1077

    काठमाडौं: अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामाको माग सम्बोधन हुने गरी भारत थप दुई सय ५० मेगावाट बिजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय बिजुली आयात गरेर यसपालिको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने विद्युत् प्राधिकरणको योजना छ ।

    भारतबाट हाल (शनिबार साँझसम्म) दुई सय ४८ मेगावाट बिजुली आयात भइरहेको छ । भारतीय सहमति कार्यान्वयन भएमा पाँच सय मेगावाट बिजुली आयात हुनेछ ।

    नेपाल र भारतका ऊर्जा अधिकारीबीच शनिबार नयाँदिल्लीमा सम्पन्न सहमतिअनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाटै अर्को थप चालीस, ढल्केबरबाट थप असी, रक्सौल-परवानीपुर र कटैया-कुसाहाबाट पचास-पचास गरी थप दुई सय पचास मेघावाट विद्युत् दिन भारत सहमत भएको हो ।

    बैठकमा सहभागी नेपाली पक्षका सदस्य एवं विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीका अनुसार टनकपुरबाट चौबीसै घन्टा तीस मेगावाट बिजुली तत्काल ल्याउन दुवै देशका अधिकारीबीच सम्झौता भएको छ । सम्झौतामा प्राधिकरणको योजना अनुगमनका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र पावर ट्रेडिङ इन्डियाका श्रीहरि शरणले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार टनकपुरको बिजुली प्रतियुनिट तीन रुपैयाँ ४४ पैसा भारु (पाँच रुपैयाँ पचास पैसा) मा नेपालले खरिद गर्नेछ ।

    यसका अतिरिक्त टनकपुरबाटै नेपालले थप चालीस मेगावाट बिजुली ल्याउने अर्को सहमति भएको प्राधिकरणका प्रवक्तासमेत रहेका अधिकारीले बताए ।

    टनकपुरस्थित सबस्टेसनमा रहेको ट्रान्सफर्मरको क्षमतालाई पचास एमभीएबाट एक सय एमभीएमा वृद्धि गरी थप बिजुली ल्याउन सहमति भएको हो । यसका लागि आगामी बुधबार दुवै देशका प्राविधिक टोलीले टनकपुर सबस्टेसनको संयुक्त अवलोकन गरी आगामी डिसेम्बरको अन्तिम साता वा जनवरीको पहिलो साताभित्रै बिजुली आपूर्ति गरिने उनले बताए । टनकपुरबाट व्यापारिकका अतिरिक्त नेपालले महाकाली सन्धिअनुसार सात करोड युनिट (बाह्रदेखि सोह्र मेगावाटसम्म) निःशुल्क लिइरहेको छ ।

    भारतसित भएको सहमतिअनुसार उसले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन (व्यापारिक) बाट थप असी मेगावाट बिजुली नेपाललाई आपूर्ति गर्ने भएको छ । हाल सबस्टेसन र ट्रान्सफर्मरको व्यवस्था नभएकाले असी मेगावाटमात्र बिजुली आयात भइरहेकोमा सय एमभीएको ट्रान्सफर्मर भारतको पूर्णियाबाट ल्याएर बढीमा एक महिनाभित्र ढल्केरबरमा जडान गर्ने सहमति भएको छ । यसको बन्दोबस्तीका लागि भारतको पावर ग्रिडले उसको केन्द्रीय विद्युत् प्राधिकरणलाई दुईतीन दिनभित्रै प्राविधिक प्रतिवेदन पेस गर्ने र उसको सहमतिपछि थप असी मेगावाट बिजुली आयात हुने अधिकारीले बताए ।

    नेपाल-भारत ऊर्जासचिवस्तरीय संयुक्त स्थायी समिति (जेएससी) बैठकले आगामी डिसेम्बरभित्र ढल्केबरको बिजुलीलाई दुई सय बीस केभीमा चार्ज गरी थप असी मेगावाट बिजुली ल्याउने निर्णय भएको थियो । तर नेपालतर्फ चिनियाँ ठेकेदारले ढल्केबरमा निर्धारित समय (डिसेम्बर) मै सबस्टेसन निर्माण गर्न नसक्ने भएकाले तत्कालका लागि पूर्णियाबाट विस्थापन गरिएको ट्रान्सफर्मर जडान गर्न लागिएको हो ।

    त्यसैगरी भारतीय अनुदान सहयोगमा निर्माण भइरहेको रक्सौल-परवानीपुर र कटैया-कुसाहा एक सय ३२ केभीको नयाँ प्रसारण लाइन आगामी डिसेम्बरभित्र सम्पन्न गरी त्यहाँबाट पचास-पचास मेगावाट बिजुली नेपाललाई दिन भारत सहमत भएको प्रवक्ता अधिकारीले बताए । ‘यी सबै गरेर भारतबाट थप आयात हुने बिजुलीका अतिरिक्त उसले १२ प्रतिशत बढी बिजुली तान्ने सुविधा दिएको छ’, शनिबार साँझ काठमाडौं आइपुगेका अधिकारीले अन्नपूर्णसँग भने, ‘अब नेपालले भारतबाट आयात हुने बिजुलीलाई आफ्नो प्रणालीमा मिलाउन समस्या रहेका प्रसारण तथा वितरण लाइनको शीघ्र मर्मत तथा क्षमता विस्तार गर्नेछ ।’

    आगामी पुसदेखि खोलाहरूमा पानीको सतह घटी उत्पादन कम हुने भएकाले भारतबाट थप आयात हुने पाँच सय मेगावाट बिजुलीबाट काठमाडौं उपत्यकामा लोडसेडिङ सम्भव भएसम्म नहुने र उपत्यकाबाहिर दुई घन्टासम्म हुने जानकारी अधिकारीले दिए ।

    आगामी पुसदेखि थप एक सय मेगावाट बिजुली माग भई त्यति नै परिमाणबराबरको व्यवस्था गर्नुपर्ने प्रक्षेपण रहेको उल्लेख गर्दै प्रवक्ता अधिकारीले भने, ‘यसपालि पोहोरको जस्तो इन्भर्टर चार्ज गर्नु नपर्ने (करिब पाँच सय मेगावाट) चिलिमेसहित प्राधिकरणको पिकिङ बिजुली (चार घन्टा साँझ उत्पादन गर्न मिल्ने) आपूर्ति गर्ने र प्राधिकरणका विद्युत्गृह मर्मतकार्य स्थगित गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना रहेकाले उपत्यकामा शून्य र बाहिर बढीमा दुई घन्टामात्र लोडसेडिङ हुने देखिन्छ ।

    Source: Annapurna Post