तीन ठूला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सुरु

    1324

    काठमाडौंःविद्युत् विकास विभागले एक साथ तीन ठूला जलविद्युत् आयोजनाको सम्भाव्यता (फिजिबिलिटी) अध्ययन सुरु गरेको छ । परामर्शदाता कम्पनी नियुक्त गरेर विभागले ११ सय १० मेगावाटको सुनकोसी दोस्रो, ५३६ मेगावाटको सुनकोसी तेस्रो र ६ सय मेगावाटको सेती रिभर आयोजनाको अध्ययन सुरु गरेको हो । तीनवटै आयोजनाका लागि विभागले चीनको कम्पनी सीआईडीआरआई र ईआरएमसीलाई संयुक्त परामर्शदाता कम्पनीका रूपमा छनोट गरिसकेको छ ।

    विद्युत् विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले परामर्शदाता छनोटसँगै अध्ययनको काम अघि बढेको जानकारी दिए । “तीनवटै आयोजनाको सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।” उनले भने, “३० महिनाभित्र सम्भाव्यता अध्ययन सक्ने लक्ष्य निर्धारण गरिएको छ ।”

    विभागका अनुसार, सुनकोसी दोस्रो र तेस्रो सम्भाव्यता अध्ययनका लागि ४० करोड र सेती रिभरका लागि १९ करोड रुपैयाँ विनियोजन गरिएको छ । विभागले अध्ययन सकेपछि सम्भाव्य आयोजना देखिएमा सिधै निर्माणको चरणमा जाने गरी तयारी अघि बढाएको छ ।

    दुई वर्षअघि जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) ले रोक्न दबाब दिएपछि दुई सुनकोसी दोस्रो र तेस्रोको सम्भाव्यता अध्ययन रोएिको थियो । सम्भाव्यता अध्ययन अघि बढाउन दातृ निकाय एसियाली विकास बंैक (एडीबी) ले ऋण दिए पनि अर्को दातृ निकाय जाइकाले बीपी राजमार्ग डुबाउने भन्दै विरोध जनाएको थियो ।

     सन् १९८३ मै पूर्वसम्भावना अध्ययन गरेको र जलाशययुक्त आयोजनाको गुरुयोजनामा समेत उल्लेख दुवै आयोजनाको काम रोक्न दबाब दिएपछि यसप्रति काभ्रे र रामेछापका सांसद र स्थानीय राजनीतिक दलका प्रतिनीधिहरूले विरोध जनाएका छन् । जाइकाले तयार गरेको जलाशययुक्त आयोजनाको गुरुयोजनामा सुनकोसी तेस्रो उत्कृष्ट १० भित्रको आयोजना पनि हो ।

    दुवै आयोजनाको अध्ययनका लागि एडीबीले दिएको २१ मिलियन डलर सहयोगको सम्झौता गरे पनि जाइकाको अवरोधका कारण रोकिएको थियो । सहयोग नआए पनि विद्युत् विकास विभागले सरकारको स्रोतमै आयोजनाको अध्ययन अघि बढाएको हो ।

    चतरादेखि सप्तकोसी–१, सुनकोसी–१, २ र ३ गरी धेरै ठूला आयोजनाहरू यी क्षेत्रमा परे पनि कुनै आयोजना अघि बढ्न सकेका छैनन् । पूर्व सम्भाव्यता अध्ययनको क्रममा छिमेकी राष्ट्र भारतबाट चतराहुँदै दोलालघाटसम्म पानी जहाज ल्याउन सकिने समेत अध्ययनको चरणमा देखिएको थियो ।

    जलासययुक्त आयोजनाको अभावमा लोडसेडिङको समस्या भयावह भइरहेका बेला काठमाडौंबाट ७० किमि दूरीमा रहेका दुवै आयोजना उपत्यकाको लोड धान्न उपयुक्त आयोजनाका रूपमा हेरिएको छ ।

    स्रोत:कारोबार