अस्तव्यस्त विद्युत् प्रणाली एकीकृत गर्न सर्भे

    1662

    काठमाडौ : नेपाल विद्युत् प्राधिकरणसँग हाल मुलुकभर कति ट्रान्सफर्मर, पोल र तार छन् अनि अनि माग र आपूर्तिको अवस्था छ के भन्ने एकीकृत विवरण छैन ।

    अस्तव्यस्त रहेको यो विद्युत् प्रणालीमा समस्या आएपछि र तत्काल कुन माग भएपछि मात्र यसको सम्बोधन हुने गरेको छ तर बल्ल विद्युत् प्राधिकरणले यसबारे सर्भे सुरु गरेको छ ।

    विद्युत्को उत्पादन, वितरण र प्रसारण प्रणालीलाई एकीकृत गरेर जियोग्राफिकल इन्फरमेसन सिष्टम (जीआईएस)मार्फत प्राधिकरणले गुगल
    म्याप निर्माणका लागि सर्भे सुरु गरेको हो । मुलुकभरकै एकीकृत तथ्यांक संकलन गर्ने गरी सुरु भएको सर्भे अन्र्तगत नमूना रूपमा विद्युत् प्राधिकरणको जोरपाटी वितरण केन्द्रमा सुरु गरिएको छ ।

    “विद्युत् क्षेत्रमा ट्रान्सफर्मर, पोल, तार,  र यसको क्षमताको अवस्थाबारे विस्तृत रूपमा जानकारी लिएर यसलाई गुगल म्याप सहज रूपमा उपलब्ध गराउने गरी सर्भे सुरु भएको छ,” विद्युत् प्राधिकरण जीआईए स्मार्ट ग्रीड परियोजनाका प्रमुख लक्ष्मण मण्डलले भने, “यो सर्भे सम्पन्न भएपछि सबै विवरण गुगल एप्सबाट हेर्न सकिनेछ ।” उनका अनुसार अहिले विद्युत् वितरण प्रणाली अन्र्तगत ग्राहक संख्या, लाइनहरू, ट्रान्सफर्मरहरू र यसको क्षमता, प्रसारण लाइन, पोलहरूको अवस्था लगायतबारे सर्भे गर्न लागेको छ ।

    सर्भेपछि कुन क्षेत्रमा कति ग्राहक, कति विद्युत् माग, ट्रान्सफर्मरको क्षमताको अवस्था, वितरण लाइन र पोल लगायतबारे विस्तृत रूपमा जानकारी हुनेछ । सर्भेले मिटरको आवश्यकता र तत्काल समाधान गर्न सकिने सूचनादेखि प्राधिकरणमा सबैभन्दा ठूलो समस्याको रूपमा देखिएको चुहावट नियन्त्रणमा समेत सहयोग पुग्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

    हालसम्म विद्युत् प्राधिकरणसँग ग्राहक र उनीहरूको आवश्यकताबारेको स्पष्ट जानकारी हुने कुनै तथ्य, तथ्यांक छैन भने ग्राहकले माग गरेपछि लाइनहरू वितरण गर्ने र ‘ओभर लोड’ भएपछि मात्र ट्रान्सफर्मरहरू परिवर्तन गर्ने गरिएको छ । गुगल म्याप तयार गरेपछि ट्रान्सफर्मर जल्ने समस्यामा न्यूनीकरण हुनुका साथै लाइन बिग्रेमा समेत तुरुन्तै कारण पत्ता लाग्नेछ ।

    प्राधिकरणका अनुसार हाल जीआईएसमार्फत विराटनगर, रंगेली, इटहरी, दुहबी, राजविराज, लहान, जनकपुर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका साथै काठमाडौका कुलेश्वर, वानेश्वर, पुल्चोक, ठिमी लगायतका क्षेत्रमा गुगल म्याप बनाउने कार्य अघि बढेको छ । दुई वर्षभित्र सम्पूर्ण विद्युत् प्रणालीको जानकारी दिने गरी सर्भेमार्फत म्याप तयार गरिने प्रमुख मण्डलले जानकारी दिए ।

    गुगल म्याप तयारीका लागि जीआईएस सफ्टवेयर र सर्भे एप्सका लागि करिब १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । जीआईएस सफ्टवेयरका लागि मात्र १ करोड २० लाख लाग्ने अनुमान छ  ।

    यस्तो एप्स विद्युत् प्राधिकरण सूचना प्रविधि विभागका अमरेशकुमार झाले बनाएको र यो उपयोगी हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । सर्भे सकिएपछि पोलदेखि वितरण केन्द्रका संकेत नम्बरसम्मको विस्तृत जानकारी एकीकृत रूपमा हेर्न सकिन्छ भने यसले तत्काल कुनै समस्या देखिएमा र क्षमता वृद्धि गर्नुपरेमा विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयले गुगल म्यापमार्फत तुरुन्तै थाहा पाएर समस्या समाधान गर्न सक्ने अपेक्षा गरिएको छ ।

    स्रोत : कारोबार