चर्चामै सीमित नौमुरे जलविद्युत् परियोजना

    1159

    अर्घाखाँचीः नौमुरे जलविद्युत् परियोजना चर्चामै सीमित भएको छ । २०४३ सालदेखि चर्चामा आएको नौमुरे अझैसम्म ओझेलमै परेको छ । झिमरुक र माडी नदीको संगम अर्घाखाँची र प्युठानको सिमानामा पर्ने नौमुरे आयोजना अगाडि बढाउने चर्चा चलेको ३० वर्ष भए पनि कुनै कामअघि बढ्न सकेको छैन ।

    सरकारले योजनाको तयारी गरेको झन्डै तीन दशक भए पनि निर्माण प्रक्रियामा प्रवेश नगरेकाले थप गति लिन नसकेको हो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोपटक भारत भ्रमण गर्दा भारतले सो आयोजनालाई उपहारका रूपमा निर्माण गरिदिने वचन दिएको थियो ।

    पञ्चायती सरकारले पनि नेपालकै सस्तो लगानीमा निर्माण गर्ने आयोजनाका रूपमा रहेको भन्दै २०४३ देखि २०४६ सालसम्म विज्ञ आएर भैगोलिक परीक्षण, पानीको परीक्षण तथा सर्वेक्षणसमेत गरेको थियो । अहिले पनि पानीको बहाव तथा अध्ययन गर्नका लागि एकजना कर्मचारी छन् ।

    बहुदल आएपछि आयोजनाको काम रोकिएको स्थानीय बताउँछन् । जसको नाम धनबहादुर उसको धन नै छैन भनेजस्तो, २४५ मेगावाट विद्युत् उत्पादन हुने क्षेत्रमा नै बिजुली नभएपछि त्यहाँका बासिन्दा अहिले पनि अँध्यारोमा बस्न बाध्य भएको स्थानीय देवीराम घिमिरेले बताए ।

    नौमुरे आयोजना अनुगमनका लागि पुगेका सहायक प्रजिअ नारायण खत्रीले भने, “त्यहाँका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन, शिक्षा र स्वास्थ्यको कमी, विकट क्षेत्र जलुकेमा उक्त आयोजना सञ्चालन गर्नका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

    सरकारले नीति तथा कार्यक्रममै एक प्रदेश एक जलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गत नौमुरेलाई घोषणा गरे पनि अझैसम्म कुनै कामअघि बढेको छैन । वर्षौंदेखि चुनावमा राजनीतिक दलका उम्मेदवार चुनाव जित्नका लागि चुनावी नारा बनाएको आयोजना नारामै सीमित भएको छ ।

    सरकारी उदासिनताले आयोजनाको काम अल्झिएको स्थानीयको गुनासो छ । अर्घाखाँचीबाट टोपबहादुर रायमाझी ऊर्जामन्त्री र प्युठानबाट वामदेव गौतम गृहमन्त्री हुँदासमेत नौमुरेले गति नलिएकाले यो क्षेत्र विकासमा पछि परेको स्थानीय बताउँछन् । आयोजनाबाट विद्युत् उत्पादन पनि गर्ने र दाङ र कपिलवस्तु हुँदै विहारसम्म सिँचाइ सुविधा उपलब्ध गराउने योजना छ ।

    सरकारले २०७१ साल साउनमा आयोजना आफैं बनाउने घोषणा गर्दै पानी भारतलाई दिन नसक्ने बताएको थियो । नेपाल विद्युत् प्राधिकरणले नौमुरे आयोजनाको गत आवमै विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार पार्ने भने पनि यो कामसमेत अघि बढ्न सकेको छैन ।

    ३० वर्षअघि सर्बे थालेर बीचमै रोकिएको जैविक विविधता, पर्यावरण र पर्यटनका हिसाबले पनि नेपालकै नमुना जलविद्युत् परियोजनाअन्तर्गत पर्दछ । नदीको बहाव सुक्खायाम र वर्षायाममा पनि एउटै परिणाममा हुने भएकाले विद्युत् निकाल्न झन्झटिलो नभएको विज्ञहरूको सुझाव छ । राष्ट्रिय गौरव र बहुउद्देश्यीय आयोजना भएकाले सरकार र निजी क्षेत्रको लगानीमा यसलाई पूर्णता दिने गरी काम गर्नुपर्ने स्थानीयको सुझाव छ ।

    शीतगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले नौमुरे आयोजना शीतगंगाले सञ्चालन गर्न नसक्ने तर सरकारसँग सञ्चालनका लागि आग्रह गरिरहेको बताए ।

    स्रोत : कारोबार