तल्लो सोलु जलविद्युत्मा ‘एस्सेल’

    1881

    तल्लो सोलु जलविद्युत् आयोजनामा भारतको प्रतिष्ठित व्यावसायिक समूह ‘एस्सेल ग्रूप’ले लगानी गर्ने भएको छ । समूहको एस्सेल इन्फ्राष्ट्रक्चर कम्पनीले ८२ मेगावाट क्षमताको उक्त आयोजनामा लगानी गर्न लागेको हो । क्लिन इनर्जी डेभलपमेण्ट बैङ्कद्वारा प्रवर्द्धित तल्लो सोलु एस्सेलसहितको संयुक्त लगानीमा बन्ने निश्चित भएको स्रोतले बताएको छ । ‘तल्लो सोलुमा एस्सेलले कम्तीमा ४९ प्रतिशत लगानी गर्ने पक्का भएको छ,’ क्लिन इनर्जीका प्रमुख कार्यकारी अधिकृत मनोज गोयलले भने ।

    आयोजनाको कुल लागत साढे १२ अर्ब रुपैयाँ हुने अनुमान छ । सोमध्ये एस्सेलको लगानी करीब रू. ६ अर्ब हुनेछ । बाँकी ५१ प्रतिशत क्लिन इनर्जी बैङ्क, सो बैङ्कले स्थापना गरेको हाइड्रो फण्डका शेयरधनी र क्लिन डेभलपर्स कम्पनीसमेतको हुनेछ । ‘यसमा क्लिन इनर्जीसहित निजी क्षेत्रका अन्य सात वाणिज्य बैङ्कको कन्सोसियममा ऋण लगानी पनि हुनेछ,’ सातमध्ये एक वाणिज्य बैङ्कका उच्च अधिकारीले भने । ऋण लगानी गर्ने सम्भावना बलियो भएका बैङ्कहरूमा एभरेष्ट, नबिल, बैङ्क अफ काठमाण्डू, सिध्दार्थ, मेगा, हिमालयन रहेका छन् ।

    आयोजनाको कुल लागतमध्येको झण्डै रू. ४ अर्ब ऋण जुटिसकेको गोयलले जानकारी दिए । आयोजनामा हालै स्थापित सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनीले समेत चासो देखाएको स्रोतले बतायो । लगानीका लागि स्वदेशी र विदेशी पूँजी संरचना मिलाउने र सोही आधारमा कन्सोसियमको नेतृत्व कसले गर्ने भन्ने निक्र्योल हुने गोयलको भनाइ छ । ‘विदेशीको लगानी हिस्सा बढी भएमा एस्सेलले नेतृत्व गर्न सक्नेछ । अन्यथा, क्लिन इनर्जी र एक वाणिज्य बैङ्क मिलेर कन्सोसियमको नेतृत्व गर्नेछन्,’ उनले भने ।

    तल्लो सोलु नेपाली निजीक्षेत्रको प्रवर्द्धनमा बन्ने हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हुने दाबी गरिएको छ । नेपाली निजीक्षेत्रको प्रवर्द्धनमा अघि बढाइएको कालीगण्डकी गर्ज (२ सय ८० मेवा) सबैभन्दा ठूलो आयोजना हुने भए पनि हाल यसको अध्ययन प्रतिवेदन (डीपीआर) पेश भइसकेको छैन ।सोलुखुम्बु जिल्लामा पर्ने तल्लो सोलुको विस्तृत अध्ययन स्वदेशी कम्पनी आईटेको नेपाल प्रालि र जर्मनीको लेमहारले गरेका हुन् । यसको डीपीआर करीब डेढ महीनाअघि तयार भइसकेको गोयलले जानकारी दिए । सरकारबाट प्रसारण लाइन, सडक र विद्युत् खरीद सम्झौता सुनिश्चित भएपछि आयोजनाको निर्माण अघि बढाइने क्लिन इनर्जीका अध्यक्ष धनञ्जयप्रसाद आचार्यले बताए । ‘तल्लो सोलु निर्माण शुरू गरेको ३ वर्षमा पूरा गर्ने लक्ष्य छ,’ उनले भने ।

    तल्लो सोलुको सबैभन्दा ठूलो लगानीकर्ता एस्सेल इन्फ्रास्ट्रक्चर भारतको व्यावसायिक समूह ‘एस्सेल ग्रूप’ अन्तर्गतको पूर्वाधार विकासमा काम गर्ने कम्पनी हो । यसले राजमार्ग, शहरी पूर्वाधार, ऊर्जा (जलविद्युत्, थर्मल, सोलार र वायु) आयोजना, प्रसारण लाइन निर्माण तथा वितरण परियोजना, फोहोर व्यवस्थापन र विशेष आर्थिक क्षेत्र (सेज) निर्माणलगायतमा लगानी गर्दै आएको छ ।एस्सेल ग्रूपले जी,ईटीसी, टेनलगायत साढे २ दर्जन टेलिभिजन च्यानल पनि सञ्चालन गरेको छ । एस्सेलको शिक्षा, पूर्वाधार निर्माण, प्रविधि, मनोरञ्जन, बहुमूल्य धातु, स्वास्थ्यलगायत गरी दर्जनभन्दा बढी व्यवसाय सञ्चालनमा छन् ।

    प्रस्तुति: अभियान

    ———————————————————————————————————————————————————————-

    Essel Group is developing a Hydel project between 75 to 120 MW in Lower Solu under BOOT arrangement with Government of Nepal. It’s a joint venture with Clean Energy Development bank Ltd, Nepal. The project outlay is around Rs 350 cr.