भरिएन कुलेखानी यो वर्ष पनि

हेटौंडा — नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलाशय यो वर्ष पनि भरिएन  । जलाधार क्षेत्रमा वर्षा भएकाले यो वर्ष कुलेखानी जलाशय भरिने आशा गरिएको थियो  ।

साउनदेखि झन्डै २४ सै घन्टा कुलेखानी प्रथम र दोस्रो दुवै आयोजना सञ्चालन गर्नुपरेकाले जलाशय भरिन समस्या भएको हो । ‘यो वर्षायाममा कुलेखानी सञ्चालन गर्नु नपरेको भए यतिबेला जलाशय भरिएको अवस्थामा हुने थियो,’ कुलेखानी प्रथमका एक प्राविधिकले भने, ‘विगत तीन महिनादेखि कुलेखानी सञ्चालनमा आइरहेकाले जलाशय नभरिएको हो, वर्षायाममा सञ्चालन गर्न नपरेको भए कुलेखानी भरिसक्थ्यो ।’

कालीगण्डकी विद्युत् आयोजना मर्मत सम्भारका कारण सटडाउन लिएकाले कुलेखानी सञ्चालन गर्नुपरेको हो । साउनदेखि असोजको २० सम्म १० हजार मेगावाट विद्युत् कुलेखानीबाट उत्पादन भइसकेको छ । ‘गत आर्थिक वर्षको यो अवधिमा ५ सय मेगावाट मात्र विद्युत् उत्पादन गरिएको थियो,’ कुलेखानी प्रथम आयोजना प्रमुख रामकुमार यादवले भने, ‘कुलेखानी सञ्चालन गर्नुपरेकाले जलाशय नभरिएको हो ।’ यो वर्ष कुलेखानी जलाशय जलाधार क्षेत्रमा वर्षा भएर पनि सञ्चालनका कारणले नभरिएको हो भने विगतका २ वर्ष जलाधार क्षेत्रमा थोरै वर्षा भएकाले कुलेखानी भरिएन ।

‘यो वर्ष कुलेखानी भदौमै भरिने आशा गरेका थियौं,’ यादवले भने, ‘प्राविधिक कारणले नभरिने अवस्थामा पुग्यो,’ मनसुन रोकिएकाले अब वर्षा हुने सम्भावना न्यून छ । कुलेखानी जलाशयमा आइतबार दिउँसो १२ बजेसम्म १ हजार ५ सय २५ दशमलव २५ सेन्टिमिटर पानी संकलन भएको छ ।

जलाशयमा अहिले जलाधार क्षेत्रबाट दैनिक २४ घन्टामा ५ सेन्टिमिटर पानी संकलन हुने गरेको छ । कुलेखानी सञ्चालनमा आउँदा दैनिक ५ सेन्टिमिटरदेखि २० सेन्टिमिटरसम्म जलाशयको सतह घट्ने गरेको छ । ‘जलाशयको सतह घट्ने आयोजनाको सञ्चालनका समय अवधिमा निर्भर रहन्छ,’ आयोजनाका एक प्रावधिकले भने, ‘विद्युतको मागका आधारमा कुलेखानी सञ्चालन गरिन्छ, कहिले छोटो, कहिले लामो समयसम्म सञ्चालन गरिन्छ ।’

यो वर्ष वर्षायाम सुरु हुनुभन्दाअघि जलाशयमा १ हजार ५ सय २ मिटर पानीको सतह थियो । वर्षायाम सुरु भएपछि २१ मिटर पानी जलाशयमा थपिएको छ । जलाशयको पानी १ हजार ४ सय ८४ मिटरसम्म प्रयोग गर्न सकिन्छ ।

इन्द्रसरोवर गाउँपालिकामा पर्ने उक्त जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर पानी संकलन गर्ने रहेको छ । कुलेखानी जलाशय भरिन करिब ५ मिटर मात्र बाँकी छ । यही जलाशयमा संकलन गरिएको पानीबाट कुलेखानी प्रथमले ६० मेगावाट र दोस्रोले ३२ मेगावाट गरी दैनिक ९२ मेगावाट विद्युत् उत्पादन हुने गर्छ ।

३ सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशयकै पानीबाट कुलेखानी तेस्रो पनि सञ्चालन हुने अवस्थामा पुगेको छ । कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुन्छ । उक्त जलाशयवाट तीनवटा आयोजनामार्फत १०६ मेगावाट उत्पादन हुन्छ । कुलेखानी नेपालको ठूला योजनामध्ये एक जलविद्युत् उत्पादन गृह हो ।

सतह बढेकाले विद्युत् उत्पादनमा कमी 
नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयको पिँधको सतह बढेकाले ६ करोड ३३ लाख युनिट विद्युत् उत्पादनमा कमी आउने गरेको छ । कुलेखानी जलाशयको पानी संकलनको क्षमता नै न्यून हुँदै गएकाले विद्युत् उत्पादनमा पनि कमी आएको हो ।

सुरुमा जलाशयमा संकलन गरिएको पानीबाट २१ करोड ११ लाख युनिट विद्युत् उत्पादन हुने गथ्र्यो तर अहिले त्यो क्षमतामा ह्रास आएर १४ करोड ४७ लाख युनिट मात्र विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ । जलाशयको पानी संकलनको क्षमतामै ह्रास आएकाले विद्युत् उत्पादनमा कमी आएको हो ।

पानी संकलन क्षमतामा ह्रास आएपछि उत्पादन स्वत: प्रभावित हुन्छ । ‘करिब २७ मिलियन क्युसेक पानी अट्ने क्षमतामा ह्रास आएको छ,’ कुलेखानी प्रथमका एक प्राविधिकले भने । बर्सेनि जलाधार क्षेत्रबाट खोलाले बगाएर ल्याउने ढुंगा, माटो, बालुवा र पातपतिंगर जलाशयमा थुपार्ने कारणले गर्दा सरोवरको सतह बढेकाले पानी अट्ने क्षमता साँघुरिँदै गएको हो ।

सुरु सञ्चालनको अवस्थामा कुलेखानी जलाशयमा ८५ दशमलव ३ मिलियन क्युसेक पानी अट्ने क्षमता थियो, त्यो क्षमतामा घटेर अहिले ५९ दशमलव ९९ मिलियन क्युसेकमा झरेको छ । कुलेखानी सञ्चालनमा आएको ३६ वर्षमा १३ मिटरभन्दा बढी जलाशयको पिँधको सतह वृद्धि भएको छ ।

सरोवरको सतह बढेकाले जलाशयको पानी संकलन गर्ने क्षमतामा ३० प्रतिशत गिरावट आएको हो । विद्युत् उत्पादन पनि ३० प्रतिशतले घटेको छ । जलाशयको पानी क्षमतामा ह्रास आएपछि सुरुको अवस्थाको तुलनामा विद्युत् प्राधिकरणले वार्षिक ३१ करोड रुपैयाँमा नोक्सानी बेहोर्दै आएको छ ।

०३९ मा कुलेखानी जलविद्युत् आयोजना प्रथम सञ्चालनमा आउँदा जलाशयमा संंकलन भएको पानीमध्ये ५७ मिटर पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्थ्यो । ०५० को बाढीपछि जलाशयमा संकलन भएकामध्ये ५० मिटर मात्र पानी विद्युत् उत्पादन गर्न सकिन्थ्यो । हाल करिब ४६ मिटर मात्र पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ ।

जलाशयमा ‘डेब्रिज’ हरू यसरी थुप्रिँदै गएपछि विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिने पानीको सतह घटदै गएको छ । ०५० को बाढीले जलाशयको पिँधको सतह ६ मिटर बढेको थियो । बर्सेनि जलायशको सतह वृद्धि हुँदै गएको छ ।

मानव निर्मित जलाशयमा अहिले १ लाख ७० हजार मिटर क्यु ‘डेब्रिज’ संकलित भएको कुलेखानी प्रथमका एक इन्जिनियरले बताए । ‘जलाशयमा संकलित ‘डेब्रिज’ (बालुवा, माटो, पातपतिंगर र ढुंगा) नझिकेमा क्रमश: कुलेखानी पहिलो, दोस्रो र निर्माणाधीन तेस्रो जलविद्युत् आयोजनाको उपादेयतामा कमी आउँछ,’ उनले भने ।

सरोवरमा संकलित पानीलाई प्रयोग गर्ने उद्देश्यले कुलेखानी पहिलो र दोस्रो निर्माण गरेर ९२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ भने १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यले तेस्रो कुलेखानी भैंसेको सानुटारमा निर्माणाधीन छ ।

जलाशयको तल्लो सतह बढेर पानी संकलन गर्ने क्षमतामा कमी आएपछि कुलेखानीका तीनवटै विद्युत् उत्पादनगृह प्रभावित हुनेछन् । कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

विज्ञहरूले यो जलाशयको आयु ५० वर्ष तोकेका छन् । जलाशयमा संकलन भएको ढुंगा, माटो र लेदोहरू झिक्नका लागि जलाशय पूरै खाली गर्नुपर्छ । इन्द्र सरोवरको निर्माण १ करोड २० लाख अमेरिकी डलरमा गरिएको थियो ।

 

स्रोत:कान्तिपुर