हिमालयन हाइड्रो एक्स्पो सम्पन्न

    1101

    नेपालमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रियस्तरको हिमालयन हाइड्रो एक्स्पो २०१८ सम्पन्न भएको छ । शुक्रबारदेखि ३ दिनसम्म चलेको एक्स्पो नेपालको जलविद्युत् विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गर्दै आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले एक्स्पो ६० हजार बढीले अवलोकन गरेको जनाएको छ ।

    “हामीले अपेक्षा गरेअनुसारको नतिजा एक्स्पोले दिएको छ । उत्साहजनक सहभागिताका साथै विदेशी कम्पनीहरूले नेपालको जलविद्युत् विकासमा देखाएको चासोले आगामी दिनमा ऊर्जा क्षेत्रमा धेरै सुधार आउनेमा हामी आशावादी छौं ।” आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले भने ।

    एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्त कम्पनीलगायत झण्डै सयभन्दा बढी स्टल थिए । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरूको थियो । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाको पनि सहभागिता रहेको थियो ।
    “एक्स्पो भव्य रूपमा सफल भयो । निकट भविष्यमा नै यस्ता एक्स्पो आयोजना गर्न एक्स्पोमा सहभागी स्वदेशी तथा विदेशी कम्पनीहरूले हौसला दिनु भएको छ । यसबाट हामी आगामी दिनमा ऊर्जाको विकासमा ठूलो फड्को मार्न सक्छौं भन्ने देखिएको छ ।” एक्स्पोको अर्को आयोजक संस्था एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले भने ।

    यसैगरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रो पावरसम्बन्धी नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धासमेत गराइएको छ । प्रतियोगितामा साउथ वेस्टर्न विजनेस कलेज प्रथम भएको छ भने काठमाडौं विश्वविद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गरेको छ । कलेजहरूबाट समूहमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपैयाँ ५५ पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमशः २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिएको छ ।

    एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ् कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका थिए ।

    नेपाल टनेलिंग एसोसिएसन, नेपाल जर्मन चेम्बर अफ् कमर्स एन्ड इन्डस्ट्रिज, नेपालभारत उद्योग वाणिज्य संघ, नेपाल युरोपियन चेम्बर अप्m कमर्श एवं स्वदेशी तथा विदेशी कम्पनीहरूले पनि एक्स्पोलाई सहयोग गरेका थिए । एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सीएमसी दी रभेन्ना कम्पनीले गरेको थियो । अफिसियल पार्टनरको रूपमा होटल अन्नपूर्ण, नेपाल सिपिंग एन्ड एयर लजिस्टिक प्रालि र एनएमबी बैंक लिमिटेड रहेका थिए ।

    स्रोत:कारोबार