एभरेष्ट इनर्जी घट्टेखोला जलविद्युत् निर्माण गर्दै अनुमानित लागत सवा ८१ करोड

    1545

    Everest Energyमङ्सिर २८, काठमाडौं । एभरेष्ट इनर्जी कोअपरेटिभले ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । सो खोला दोलखा जिल्लाको उत्तरी भेगस्थित मार्बु गाविसमा पर्छ । सो आयोजनाको लागत रू. ८१ करोड २५ लाख अनुमान गरिएको सो कोअपरेटिभका उपाध्यक्ष केबी उपे्रतीले बिहीवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बताए ।

    कार्यक्रममा उनले कोअपरेटिभले १ महीनाअघि मनकामना इञ्जिनीयरिङ हाइड्रोपावर कम्पनीसँग रू. २ करोड ७० लाखमा सो आयोजनाको लाइसेन्स किनेको जानकारी पनि दिए । उनले भने, ‘अहिलेसम्म सहकारी संस्थाले बैङ्किङ क्षेत्रमा मात्र कारोबार गरेको आरोप लागिरहेकाले जलविद्युत्का क्षेत्रमा नमूना कार्य गर्ने उद्देश्यले सहकारी स्थापना गरेर काम थालेका हौं ।’ एभरेष्ट इनर्जी कोअपरेटिभ ६ महीनाअघि मात्र स्थापना गरिएको पनि उनले बताए । सो कोअपरेटिभको अध्यक्ष पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे रहेका छन् ।

    अन्तरक्रिया कार्यक्रममा उप्रेतीले आयोजनासम्बन्धी अध्ययन कार्य मनकामना इञ्जिनीयरिङले गरिसकेको बताए । सो आयोजना सन् २०१५ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको पनि कार्यक्रममा बताइयो । उनले आयोजनामा लगानी गर्न इच्छुक जुनसुकै क्षेत्रका व्यक्तिहरू सहकारीको सदस्य भएर आए लगानी गर्न सक्ने कोअपरेटिभको विनियममा व्यवस्था रहेको पनि बताए । उनका अनुसार आयोजनाको शेयर किन्न पहिलो प्राथमिकता दोलखाबासीलाई दिइनेछ । दोलखाबासीले न्यूनतम रू. १ लाखसम्मको शेयर किन्न सक्नेछन् । त्यस्तै जिल्लाबाहिरकाले रू. २ लाखसम्म र सङ्घसंस्थाहरूले रू. ५ लाखसम्मको शेयर किन्न पाउने पनि अन्तरक्रियामा बताइयो । आयोजनाको कुल लागतको ६० प्रतिशत ऋण लिइने पनि उप्रेतीले जानकारी दिए । सो ऋणका विषयमा अनौपचारिक रूपमा कुराकानी भएको उनको भनाइ थियो ।

    बाँकी ४० प्रतिशत भने सहकारी संस्थाका सदस्य र कम्पनीहरूबाट पूरा गरिने बताएका छन् । एक वर्षको ३ सय ६५ दिनमध्ये १ सय ४६ दिनमात्र आयोजनाको क्षमताअनुसारको विद्युत् उत्पादन हुने पनि अन्तरक्रियामा बताइयो । हिउँदमा पानी घटेको अवस्थामा पनि आयोजनाबाट कम्तीमा एक दशमलव २ मेगावाट विद्युत् उत्पादन हुने पनि उप्रेतीले बताए । सो आयोजनास्थलको वरिपरि तीन ओटा गरी ९० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना कार्यरत रहेकाले आफुहरूलाई काम गर्न सजिलो हुने उप्रेतीले बताए ।

    प्रस्तुति: अभियान