थ्री गर्जेजले फिर्ता लग्यो पश्चिमसेतीका सामग्री

1962

डडेल्धुरा-चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिमसेती जलविद्युत् आयोजना निर्माणका लागि ल्याएको मेसिनरी औजार धमाधम फिर्ता लैजान थालेको छ । ७ सय ५० मेगावाटको पश्चिम सेती बनाउने जिम्मा पाएको थ्री गर्जेजले हाल आयोजनाबाट हात झिकिसकेको छ । यससँगै परियोजना निर्माणका ल्याइएका सामानहरू कम्पनीले ओसार्न थालेको हो ।
पश्चिम सेती नबनाउने भएपछि आफूले ल्याएका मेसिनरी औजार कम्पनीले हेलिकप्टरमार्फत ओसार्न थालेको छ । लगानी बोर्डसँगको असमझदारीपछि कम्पनीले यस आयोजनाले हात झिकिसकेको छ । आयोजनाका विषयमा चर्चा सुरु भएको ४० वर्ष बितिसक्दा समेत एकपछि अर्को लगानीकर्ताले आयोजना होल्डमात्र गरेका कारण स्थानीय चिन्तित छन् ।

थ्री गर्जेजले किन एक्कसीे निर्माण सामग्री तथा उपकरण फिर्ता लग्यो भन्ने विषयमा डोटी डडेल्धुराका स्थानीय जनप्रतिनिधि तथा प्रशासन भने बेखवरजस्तै छन् । पश्चिमसेती परियोजना बनेर सुदुरपश्चिमको मुहारै फेरिने अपेक्षामा पुनः तुषारापात भएको छ । यस्तै, रोजगारीका लागि भारतका विभिन्न स्थानमा जाँदै आएका स्थानीय गाउँमै रोजगारीको अवसर सिर्जना हुने अपेक्षामा रहे पनि ति युवाको सपना फेरि अधुरै रहको स्थानीय युवा लोकेन्द्रबहादुर बोहराको भनाइ छ ।
पश्चिमसेती आयोजना डोटीका लागिमात्र नभइ समग्र सुदूरपश्चिम प्रदेश र राष्ट्रकै गौरवको परियोजना भए पनि संघीय सरकारले महत्व नदिँदा प्रवद्र्धकहरूले छाडेको स्थानीयको बुझाइ छ । स्थानीय मिननबहादुर बोहरा भन्छन्– आशैआशामा वर्षौं बितिसक्यो, म २ कक्षामा पढ्दादेखि आयोजना बन्ने सुनेको भए पनि अहिले ४३ वर्षको हुँदासम्म निर्माण सुरु भएको छैन । देशमा राजनीतिक व्यवस्था पटकपटक फेरिए पनि आयोजनाले गति लिन नसकेको उनको भनाइ छ । चुनावका बेला पश्चिम सेतीलाई नेताहरूले मुख्य एजेण्डा बनाए पनि चुनावपछि उनीहरू गम्भीर नभएको उनीहरूको आरोप छ ।
पश्चिमसेती अधुरै रहँदा सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी, डडेल्धुरा, बझाङ र बैतडी चारै जिल्लाका स्थानीय निराश छन् ।

स्रोत : कारोबार