जलविद्युत्को जानकारी ‘हाइड्रोम्याप’मा

1592

नेपालमा भएका जलविद्युत्बारे सम्पूर्ण जानकारी दिनका लागि ‘हाइड्रोम्याप पोर्टल’ सार्वजनिक भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को सहयोगमा नीति फाउण्डेसनले तयार पारी सार्वजनिक पोर्टलमा नेपालको जलविद्युत् र प्रसारण लाइनका आयोजनाका साथै प्रदेशस्तरको अवस्था उल्लेख छ । पोर्टलको मंगलबार इप्पानका अध्यक्ष शैलेन्द्र गुरागार्इं र फाउण्डेसनका कार्यकारी निर्देशक मोहनदास श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरे ।
हाइड्रोम्याप डट नीति फाउण्डेसन डट ओआरजीमा उपलब्ध सो पोर्टलमा ५ सय ७३ जलविद्युत् आयोजनाका साथै सबै प्रसारणलाइन र सवस्टेसनका आयोजनाहरूबारे उल्लेख छ । कुनकुन प्रदेश र स्थानीय निकायमा कुन न जलविद्युत् र प्रसारण लाइन आयोजना छन् भनेर पोर्टलमा उल्लेख भएको नीति फाउण्डेसनका वरिष्ठ कार्यक्रम अधिकृत विशाल चालिसे बताउँछन् । “२० मेगावाटभन्दा साना ३ सय ७९, २० देखि १ सय मेगावाटसम्मका १४८ र १०० मेगावाट माथिका ८६ जलविद्युत् आयोजनाका साथै सबै प्रसारणलाइन आयोजनाहरूको सम्पूर्ण जानकारी पोर्टलमा एक क्लिकमै लिन सकिन्छ,” उनी भन्छन्, “नेपालको जलविद्युत्को विस्तृत जानकारी पाइने हुनाले पोर्टलले सरकार, नीति निर्माता, विद्यार्थी, प्रवद्र्धक, विदेशी लगायत जलविद्युत्बारे सरोकार राख्ने सबैले जहाँ बसेर पनि एकसाथ सूचना पाउन सक्छन् ।”

पोर्टलमा रहेको स्याटलाइट म्याप, ओपन स्ट्रिट म्यापबाट सम्पूर्ण भूगोल, नदीनाला र यसको क्षेत्रबारे समेत जानकारी पाउन सकिन्छ । सन् २०१५ मा नीति फाउण्डेसनले हाइड्रोम्याप पोर्टल पहिलोपटक निर्माण गरेको थियो तर यसलाई परिष्कृत गरेर तयार पारेको सो पोर्टलमा प्रदेश, जिल्ला र स्थानीय अनुसारको वर्गीकरण गरेर सबै जलविद्युत् र प्रसारण लाइनका आयोजनाहरू उल्लेख छन् । निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाहरू उल्लेख भएकोले यसले जलविद्युत्बारेको अहिलेको अवस्थालाई समेत सहज रुपमा जानकारी दिने फाउण्डेसनले जनाएको छ । फाउण्डेसनले पोर्टलमा जलविद्युत्का आर्थिक, सामाजिक, वातावरणीय लगायतका विस्तृत पक्षका साथै प्राकृतिक प्रकोपको अवस्था, देशभित्रका तालहरू, संरक्षित क्षेत्रहरू, प्रत्येक नदीको जलविद्युत् उत्पादन क्षमता, यसको सम्भावना लगायतबारे थप उल्लेख गर्ने जनाएको छ ।
पोर्टलका अनुसार, हाल निर्माण सम्पन्न ८२, निर्माणाधीन १ सय ८० र सर्भे लाइसेन्स लिएका ३ सय ११ आयोजना छन् । जसमध्ये प्रदेश–१ मा १ सय ५५, प्रदेश–३ मा १ सय ५७, प्रदेश–४ मा १ सय ८३, प्रदेश–५ मा २३, प्रदेश–६ मा २७ र प्रदेश–७ मा २८ जलविद्युत् आयोजना छन् भने प्रदेश–२ मा एउटा पनि आयोजना छैन ।

स्रोत :कारोबार