जाजरकोट विद्युत्बाट वञ्चित

    1193

    चैत्र ३०, २०७३- केन्द्रीय प्रसारण लाइन बीचमै अलपत्र परेपछि जाजरकोट सदरमुकाममा बिजुली बलेको छैन । विद्युत् प्राधिकरणको लापरबाहीले केन्द्रीय प्रसारण लाइन बीच बाटोमै अलपत्र परेको हो ।

     प्राधिकरणको लापरबाहीले ४ महिनादेखि १० किलोमिटरको दूरीमा रहेको कुदुमा लाइन अलपत्र परेको हो । प्राधिकरणको नियमित विद्युतीकरण कार्यक्रमअन्तर्गत सदरमुकाम खलंगामा गत फागुनभित्र बिजुली पुर्‍याउने लक्ष्य पूरा हुन सकेको छैन । प्राधिकरणले खलंगासम्म विद्युत् जोड्ने ८० पोलमा तार तान्ने कार्य अलपत्र पार्दा खलंगाका बासिन्दा बिजुली पाउन वञ्चित भएका हुन् । विद्युत् वितरणमा ढिलाइ हुदाँ खलंगाका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् अभावमा उद्योग, व्यापार, बैंकिङ कार्य, पठनपाठन, सरकारी सेवा प्रवाह, पूर्वाधार निर्माणलगायत कार्यमा बाधा पुग्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । दुई सातामा सम्पन्न गर्न सकिने कार्य ४ महिना बित्दासमेत पूरा हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । विद्युत् प्राधिकरणको लापरबाहीले सुर्खेतको राकमबाट ११ केभी प्रसारण लाइन कुदुदेखि खलंगा जोड्न ढिलाइ भएको उनले बताए । ‘सदरमुकाम खलंगासम्म केन्द्रीय लाइन पुर्‍याउनका लागि २०६८ सालदेखि सुर्खेतको राकमस्थित सब स्टेसनबाट पोल तथा तारको कार्य सुरु भएको थियो । तर, सम्बन्धित पक्षको लापरबाहीले ६ वर्ष बित्दा पनि खलंगामा तार जोड्ने कामसमेत हुन सकेन,’ उनले भने ।
    नरेन्द्र निर्माण सेवा काठमाडौंको लापरबाहीले सुर्खेतको राकमदेखि कुदुसम्मको पोल गाड्ने तथा तार तान्ने कार्य ६ वर्ष ढिलाइ भएको स्थानीय ओमप्रकाशसिंह राठौरले बताए । त्यस्तै आरके इन्टरनेसनल काठमाडौं र सुर्खेत वितरण केन्द्रको लापरबाहीले ३ वर्ष बित्दासमेत कुदुमा सबस्टेसन निर्माण कार्य पूरा हुन नसकेको राठौरले बताए । ५ करोड लागतको उक्त सब स्टेसनको पूर्वाधार निर्माण कायमा ढिलाइ भएको उनले बताए । उक्त कार्यका लागि वितरण केन्द्रले ताकेता पनि नगरेको पाइएको छ । त्यस्तै वितरण केन्द्रले कुदुदेखि खलंगासम्म तार तान्ने कार्यमा पनि ताकेता नगरेको उनले बताए ।
    बजेट अभावमा जाजरकोटको सदरमुकाम खलंगासम्म विद्युतीकरण कार्य अलपत्र परेको सुर्खेत केन्द्रका प्रमुख दीपककुमार चौधरीले बताए । ५० लाख थप बजेटका लागि केन्द्रीय कार्यालयमा माग गरे पनि स्वीकृत नभएको चौधरीले बताए । तत्काल थप बजेट निकासा भएमा खलंगामा बिजुली वितरण कार्य १ महिनामै सम्पन्न हुने चौधरीले बताए । ११ केभी प्रसारण लाइन वितरण गर्नका लागि ८० पोलमा तार तान्ने कार्य मात्र बाँकी रहेको चौधरीले बताए । कुदुमा निर्माणाधीन सबस्टेसनको कार्य पनि आगामी असारसम्म सम्पन्न हुने उनले बताए ।

    स्रोत:कान्तिपुर