माथिल्लो माईखोला केन्द्रीय प्रसारणमा

    1960

    असार २६, २०७४- सन्दकपुर गाउँपालिकामा निर्मित माथिल्लो माई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ५.१ मेगावाट क्षमताको आयोजनाले सबै परीक्षण सकेर गोदकको राजदुवालीस्थित काबेली करिडोरको सबस्टेसनमा विद्युत् प्रभाह गरेको हो । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा निर्मित यो जलविद्युतलाई ‘पावर क्यसकेट’ आयोजनाका रूपमा निर्माण गरिएको हो । अप्परमाईले अघिल्लो वर्षदेखि नै व्यावसायिक उत्पादन थालेको थियो । यससँगै जिल्लाका कुल विद्युत् उत्पादन क्षमता ६६ मेगावाट पुगेको छ ।

    ९५ करोडको लागतमा निर्मित आयोजनाले ६.१ मेगावाटको जेनेरेसन लाइसन्स लिएको भए पनि खरिद बिक्री सम्झौता ५.१ मेगावाट मात्रै भएकाले सोहीअनुसारको उत्पादन गरेको छ । अढाई वर्षदेखि निर्माण थालिएको आयोजनाको सबै काम सम्पन्न भएपछि व्यावसायिक उत्पादन थालिएको निर्माणकर्ता कम्पनी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक सन्तोष प्रधानले बताए ।

    ‘अघिल्लो वर्ष अप्परमाईको उत्पादन सकेपछि क्यासकेटको कामलाई थप तीव्रता दिइयो,’ उनले भने । १२ मेगावाट क्षमताको अप्परमाई आयोजनाले पनि खरिद बिक्री सम्झौता सम्पन्न भइनसकेकाले ९.९८ मेगावाट मात्र उत्पादन गर्दै आएको छ ।

    साविकको सुलुबुङ गाविसमा धेरै अयोजना क्षेत्र परे पनि माबु र जमुना पनि क्यासकेट आयोजनाबाट प्रभावित छन् । यो आयोजना सञ्चालनका लागि ९ सय ७६ मिटरको सुरुङमार्फत अप्परमाईबाट निस्किएको र माईखोलाको रहल पानी सुलुबुङको बग्रेस्थानमा निकालिएको छ ।

    ९ सय ५३ मिटर लामो पेनस्टक पाइपमार्फत उत्पादनगृहसम्म पुर्‍याइएको छ । अप्परमाईकै १३२ केभी प्रसारण लाइनमार्फत यहाँ उत्पादित विद्युत् सबस्टेसनसम्म पुर्‍याइएको हो । नबिल वैंक लिमिटेड मुख्य वैंक पार्टनर रहेको आयोजनामा एभरेस्ट, ग्लोबल आईएमई र नेपाल बैंकले सघाएका हुन् ।

    यसअघि गत वैशाखमा ७.६ मेगावाटको जोगमाई खोला साना जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेको थियो । निर्माण चरणमा रहेका अन्य केही आयोजना सम्पन्न हुँदा यहाँको उत्पादन क्षमता ८० मेगावाट पुग्नेछ । यसअघि २२ र सात मेगावाटको सानिमा, ६.२ मेगावाटको पुवाखोला, ४.५ मेगावाटको माईखोला र तीन मेगावाटको माथिल्लो पुवाखोला विद्युत् अयोजनाले उत्पादन गरिरहेका छन् । गोदकमा निर्माणाधीन माईखोला विद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ ।

    स्रोत:कान्तिपुर