दुई जलविद्युत् कम्पनीको आईपीओ कर्मचारीका लागि मात्र

    1635

    काठमाडौं । जलविद्युत् कम्पनीहरूले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि शेयर निष्कासन गरिरहेको अवस्थामा दुई जलविद्युत् कम्पनीले भने कर्मचारीका लागि मात्र आईपीओ निष्कासन गर्ने भएका छन् । साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर लिमिटेडले कर्मचारीहरूका लागि मात्र आईपीओ जारी गर्न लागेका हुन् । यी दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा सञ्चयकर्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारी र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि आईपीओ जारी गर्दै छन् । यसका लागि दुवै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिइसकेका छन् ।

    रसुवागढीले १ करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण शेयर (आईपीओ) निष्कासनका लागि वैशाख १३ गते सेबोनसँग स्वीकृति मागेको छ । कम्पनीको रू. ७ अर्ब चुक्ता पूँजीमा ३ चरणमा रू. ६ अर्ब ८४ करोड २१ लाखबराबरको आईपीओ जारी गर्ने निर्णय भएकोमा पहिलो चरणमा २४ प्रतिशत रू. १ अर्ब ६४ करोड २१ लाख ४ हजारबराबरको आईपीओ कर्मचारीका लागि जारी गर्न लागिएको रसुवा गढी कम्पनीका सचिव नरनाथ न्यौपानेले बताए ।

    कम्पनीले पहिलो चरणमा उक्त शेयर कर्मचारी सञ्चय कोषमा सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक सङ्गठित संस्था (चिलिमे हाइड्रो, नेपाल विद्युत् प्राधिकरण, रसुवा जिल्लाका स्थानीय निकाय गाविस र जिविस)का कर्मचारीका लागि ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि १ प्रतिशत शेयर निष्कासन गर्न लागिएको जानकारी न्यौपानेले दिए । यसपछि दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत आईपीओ जारी गरिने उनले बताए । कम्पनीको आईपीओ विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ भने सहविक्री प्रबन्धकहरूमा एनआईबीएल क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र एनसीएम मर्चेण्ड बैङ्किङ लिमिटेड रहेका छन् ।

    यसैगरी साञ्जेनले हाल कायम रहेको चुक्तापूँजी रू. ३ अर्ब ७५ करोडमध्ये रू. ३ अर्ब ६५ करोडको आईपीओ जारी गर्न लागेको हो । पहिलो चरणमा उक्त जारी पूँजीको २४ प्रतिशत कर्मचारीका लागि निष्कासनको तयारीस्वरूप कम्पनीले बोर्डमा निवेदन दिएको जानकारी गराएको छ । कम्पनीले रू. ८७ करोड ६० लाख रकमबराबरको ८७ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासनको तयारी गरेको हो । रसुवागढीले जस्तै साञ्जेनले पनि कर्मचारी सञ्चय कोषमा सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक सङ्गठित संस्था (चिलिमे हाइड्रो, नेपाल विद्युत् प्राधिकरण र रसुवा जिल्लाका स्थानीय निकाय गाविस र जिविस)का कर्मचारीका लागि ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि १ प्रतिशत शेयर निष्कासन गर्न लागेको बताएको छ । यसपछि दोस्रो चरणमा साञ्जेनले पनि प्रभावित रसुवा जिल्लाका स्थानीयका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत आईपीओ जारी गर्नेछ । साञ्जेनको आईपीओ विक्री प्रबन्धक सिटिजन्स इन्भेष्टमेण्ट ट्रष्ट रहेको छ ।

    सेबोनको वेबसाइटमा हेर्दा साञ्जेनलाई आवश्यक सूचना अद्यावधिक गर्न आग्रह गरिएको छ भने रसुवागढीलाई सुझाव पठाइएको उल्लेख छ । हालसम्म १२ जलविद्युत् कम्पनीले आईपीओ र एफपीओमार्फत शेयर जारी गर्ने अनुमति सेबोनसँग मागेका छन् । अपी पावर हकप्रद स्वीकृति माग्दै धितोपत्रमा लामो समय अल्झिएको छ भने सानिमामाईले हकप्रदको स्वीकृति पाइसकेको छ । हालसम्म १२ जलविद्युत् कम्पनीले आईपीओ र एफपीओमार्फत शेयर निष्कासनको अनुमति पाएकोमा पोखरा फाइनान्सको अतिरिक्त अन्यले निष्कासन गरिसकेका छन् । पोखरा फाइनान्सले एफपीओ जारी गर्न असार १५ गते नै स्वीकृति पाइसकेको छ । अब पोखरा फाइनान्सले प्रतिकित्ता रू. २ सय २० का दरले रू. २१ करोड ६४ लाख १० हजार ४० बराबरको ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्कासन गर्नेछ ।

    प्रचलित कानूनले विशेष व्यवस्था गरेकोमा बाहेक सङ्गठित संस्थाले सर्वसाधारणलाई छुट्ट्याएको शेयरमध्ये बढीमा ५ प्रतिशत संस्थामा कार्यरत करार र ज्यालादारी कर्मचारीबाहेकका कर्मचारीलाई छुट्ट्याउनुपर्ने व्यवस्था धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा छ ।

    स्रोत:अभियान