त्रिशूली-३ ‘ए’ को सिमेन्ट गोदाम सिल

    2796

    रसुवा, कार्तिक १४ –
    गुणस्तरहीन सिमेन्ट प्रयोग गरिरहेको माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सिमेन्ट गोदाम प्रसासनले सिल गरेको छ । ५ सय १९ टन सिमेण्ट सिल भएको प्रमुख जिल्ला वासुदेव अधिकारी घिमिरेले जानकारी दिए । उक्त सिमेन्ट ३ करोड मूल्य बराबरको भएको बताइएको छ । ६० मेगावाट क्षमताको आयोजनाको निर्माणाधीन बाँध र सुरुङ निर्माणमा म्याद गुज्रेका र गुणस्तरहीन सिमेन्ट प्रयोग भएको फेला परेको थियो । ६० मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको माथिल्लो त्रिशूली-३ ‘ए’ को क्षमता बढेर ९० मेगावाट पुर्‍याउने लबिङ भइरहेको बेला निर्माणाधीन जलविद्युत् स्थलमा गुणस्तरहीन निर्माण सामग्री भेटिएको हो ।

    जलविद्युत् निर्माणस्थलमा चिनियाँ ठेकेदार कम्पनी सीजीजीसी, नेपाल विद्युत् प्राधिकरण, चिनियाँ परामर्शदाता नर्थ वेस्ट हाइड्रो कन्सल्टिङ र जिल्ला प्रशासन कार्यालय रसुवाको रोहबरमा सिमेन्ट सिल गरिएको हो ।

    विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी संगठन वैद्य पक्षका केन्द्रीय अध्यक्ष सीताराम थापाको नेतृत्वमा स्थलगत अनुगमनमा सिमेन्ट राखेको ठाउँमै जमेर डल्ला परेको पाइएको थियो । ‘गुणस्तरहीन सिमेन्टले आयोजनाको आधारभूत संरचना कमजोर हुन्छ । सिमेन्टलाई नष्ट गर्न माग गरेका छौं,’ थापाले भने । अनावश्यक रूपमा सिमेन्ट आयात गरेर काममा ढिलासुस्ती गर्दै म्याद गुजारिएकोले समस्या देखिएको प्राधिकरणका एक कर्मचारीले बताए ।  रसुवाको डाँडागाउँ वडा नम्बर ७ सल्लेटारमा बाँध निर्माण गरी नुवाकोटको मनकामना गाविस सिम्लेमा भूमिगत विद्युत्गृह निर्माण भइरहेको छ । गुणस्तरहीन सिमेन्ट प्रयोग भएको पाइएपछि सिल गरिएको आयोजना प्रमुख ऋषिकेश शर्माले बताए ।

    प्रस्तुति: कान्तिपुर (कृष्ण थापा)