प्रधानमन्त्रीको निर्देशनले पनि काम गरेन, भारतीय कम्पनीले माथिल्लो तामाकोशीको कामै गरेन

    1462

    काठमाडौं। ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण आगामी पुससम्म पनि नसकिने भएको छ।

    हाइड्रो मेकानिकल कामको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङले पेनस्टक स्टील पाइप राख्न नसकेपछि निर्धारित समयमा काम नसकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।गत वर्ष मंसिरमा सुरुङमार्गको ब्रेक थ्रु गर्दा ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको ८ महिनामा जम्मा ३ प्रतिशत मात्रै काम भएको छ।

    असारमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि भारतीय कम्पनीले लक्ष्य अनुसार काम गर्न नसक्दा २०७५ पुस सम्म सबै युनिट एकै साथ सञ्चालनमा ल्याउने नयाँ कार्यतालिका बनाइएको थियो।नयाँ कार्यतालिका अनुसारपनि ठेकेदारले लक्ष्यअनुसार कामै गर्न नसक्दा आयोजना कम्तीमा तीन महिना पर धकेलिएको घिसिङले बताए।

    मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कामको ठेक्का पाएको अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रो र सिभिल कामको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्धारित समयमै काम सकेपनि हाइड्रो मेकानिकल कामको ठेक्का पाएको भारतीय कम्पनीले लक्ष्यको आधा पनि काम गर्न नसक्दा आयोजनाको विद्युत उत्पादन पर धकेलिदै गएको हो।

    आयोजनाबाट विद्युत उत्पादन हुने नयाँ मिति सार्वजनिक नभएपनि आयोजना कम्तीमा तीन महिना पर धकेलिएको छ। आयोजना आउन एक दिन मात्र ढिला भए दैनिक दुई करोड रुपैयाँ नोक्सान हुन्छ। आयोजनामा करिब ३६ अर्ब रुपैयाँ खर्च भैसकेको छ। डलरको मूल्यमा हुने घटबढ र निर्माणमा भएको ढिलाईले आयोजनाको लागत भने करिब ४५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

    Source: Bizmandu