जलविद्युत आयोजना निर्माणमा १ अर्ब बढीको प्रतिबद्धता

    2646

    काठमाडौं- स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकले जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ९ करोड ९० लाख रुपैयाँको प्रतिबद्धता जनाएका छन्। सरकारले जलविद्युतमा लगानी गर्नका लागि अनलाइन आवेदन खोलेको तेस्रो दिनमै उक्त लगानीको प्रतिबद्धता प्राप्त भएको हो।

    बुधबारसम्म व्यक्तिगत तथा संस्थागत गरी यो लगानी प्रतिबद्धता प्राप्त भएको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १५ हजार २ सय ८३ व्यक्तिबाट १ अर्ब ५ करोड ४३ लाख ४३ हजार रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ। यस्तै एक दर्जन संस्थाले ४ करोड ६७ लाख ५ हजार रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका छन्।

    जलविद्युतमा थप लगानी जुटाउन मन्त्रालयले अनलाइनबाट आवेदन लिने व्यवस्था गरेको छ। बुधबार  मात्र ३ हजार ५७ व्यक्तिले १९ करोड ५८ लाख ९८ हजार रुपैयाँको प्रतिबद्धता जनाएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।

    स्वदेशी पुँजीबाट जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले सरकारले स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकसँग अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरेको छ। विदेशी लगानीको भरमा मात्र बस्दा आयोजना निर्माण हुन नसक्ने भन्दै सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीसँग प्रतिबद्धता मागेको हो।

    ऊर्जामन्त्री जनार्दन शर्माले सोमबार पत्रकार सम्मेलन गरी स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकले जलविद्युत आयोजना निर्माणमा लगानी गर्न तयार भएकोले यस्तो नीति ल्याएको जानकारी दिएका थिए। ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत ऊर्जामन्त्री शर्माले लगानी प्रतिबद्धता माग्न वेबसाइट सार्वजनिक गरेका थिए।

     जलविद्युत आयोजनामा सेयर लगानी गर्नेले पहिले नै पैसा भने तिर्नु पर्दैन। पहिलो चरणमा आयोजनामा लगानी गर्ने प्रतिबद्धता मात्र माग्ने जानकारी ऊर्जा मन्त्रालयले दिएको छ। लगानी गर्न चाहेको रकम विभिन्न जलविद्युत आयोजनामा सरकारले लगानी गर्ने छ। कति वर्षमा कति प्रतिफल आउँछ सोको जानकारीसमेत उसले गराउने छ।

    वेबसाइटमा आफ्नो व्यक्तिगत विवरण, सम्पर्क नम्बर, इच्छाएको व्यक्ति आदिको सम्पूर्ण विवरण भर्नुपर्नेछ र आफूले कति रकम लगानी गर्न चाहेको हो, सोसमेत किटान गरेर विवरण राखेपछि सरकारले सम्पर्क गर्नेछ।

    सर्वसाधारणबाट उठाइएको रकम छिट्टै प्रतिफल दिने र चाँडै सम्पन्न हुने आकर्षक परियोजनामा लगानी गरिने ऊर्जा मन्त्रालयको भनाइ छ। जलविद्युत आयोजनाहरु आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजना अनुसार सरकारले त्यसका लागि सर्वसाधारणको पैसा प्रयोग गर्न लागेको जानकारी ऊर्जा मन्त्रालयले दिएको छ।

    सामान्य जलविद्युत आयोजनाले सीमित संख्यामा सेयर आह्वान गर्दा अर्बौंको सेयर माग हुने गरेको सन्दर्भलाई विचार गरेर सरकारले सहज रुपमा विद्युतीय माध्यमबाट नै आवेदन गर्न सक्ने व्यवस्था मिलाएको हो।

    प्रतिबद्धताका आधारमा आवेदनकर्तालाई तोकिएको जलविद्युत आयोजनाको सेयर प्रदान गरिने ऊर्जा मन्त्रालयको भनाइ छ। त्यस्तो प्रतिबद्धतापत्र व्यक्तिले व्यक्तिगत रुपमा र संस्था वा संस्थागत निकायले भने संस्थागत रुपमा नै पेस गर्न पाउने छन्।

    दक्षिण कोरिया, कतार, साउदी अरब, मलेसिया लगायत मुलुकमा कार्यरत नेपाली कामदारले पनि सहज रुपमा आफ्नो प्रतिबद्धतासहित प्रतिबद्धतापत्र दर्ता गर्न सक्ने छन्। यस्तै गैरआवासीय नेपाली नागरिक, विदेशमा कार्यरत नेपाली कूटनीतिक अधिकारी, निजामति कर्मचारी, विभिन्न संस्थामा कार्यरत कर्मचारी सबैले सहज रुपमा जलविद्युत क्षेत्रमा लगानी गर्न सक्ने ऊर्जा सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए।

    नागरिकको जलविद्युत क्षेत्रमा लगानी गर्ने बढ्दो चाहना र मुलुकको आवश्यकतालाई दृष्टिगत गरी प्रविधिको उपयोग गरेर लगानी जुटाउन लागिएको ऊर्जा मन्त्रालयको भनाइ छ। यस खालको प्रणालीले केही आयोजना तत्काल अगाडि बढाउनका लागि आवश्यक पर्ने रकम उपलब्ध हुने विश्वास उसले व्यक्त गरेको छ।

    स्रोत:नागरिक समाचार