अपीलाई सौर्य ऊर्जा उत्पादन अनुमति

    3017

    कात्तिक ८, काठमाडौं । अपी पावर कम्पनीले विभिन्न आठ आयोजनाबाट सौर्य ऊर्जा उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरणबाट अनुमति पाएको छ । विद्यमान ऊर्जासङ्कट निवारण गर्न सरकारले चालू आर्थिक वर्ष २०७३/७४ मा नेपाल विद्युत् प्रधिकरणसँग मिलेर ६४ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न आह्वान गरेको टेण्डरअनुसार अपीले सौर्य ऊर्जा उत्पादनको अनुमति पाएको हो ।

    अपीले ८ स्थानबाट सौर्य ऊर्जा उत्पादनको अनुमति पाएको छ । सोअनुसार ढल्केवरमा १, दुहबीमा १ दशमलव ५, परवानीपुरमा ८, सिमरामा १, चन्द्रनिगाहपुरमा ४, बर्दघाटमा १, चनौटामा १ दशमलव ५ र कावासोतीमा १ दशमलव ५ गरी १९ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य भएको कम्पनीले बताएको छ । अनुमति पाएपछि ती सबै आयोजनाको काम तुरुन्त अगाडि बढाउने र अनुमति पाएको १ वर्षभित्रै विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको पनि कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

     कम्पनीले नेपालमा सौर्य ऊर्जाको प्रशस्त सम्भावना भएको र एकपटकको लगानीले सौर्य ऊर्जामा वर्षौं ढुक्क हुन सकिने पनि बताएको छ । यही सम्भावनालाई ध्यानमा राखेर ऊर्जासङ्कट निवारण गर्न सरकारले २०७२ मङ्सिर ८ गते विद्यमान ऊर्जासङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणा पत्र २०७२ मा सौर्य ऊर्जासम्बन्धी केही बुँदा थपेको थियो । अवधारणापत्रमा उल्लेख भएअनुसार चालू आर्थिक वर्षमा सौर्य ऊर्जाको उत्पादन कुल जलविद्युत् उत्पादनको १० प्रतिशत अर्थात् १ सय मेगावाट गर्ने लक्ष्य राखिएको छ । त्यस्तै आगामी वर्ष सौर्य ऊर्जा २ सय मेगावाट उत्पादन गर्ने लक्ष्य छ ।

    अवधारणापत्रमा उल्लिखित लक्ष्यअनुसार सरकारले नेपाल विद्युत् प्राधिकरणसँग मिलेर चालू आवमा ६४ मेगावाट सौर्य ऊर्जा उत्पादन लागि टेण्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेण्डरबाट उत्पादित सौर्य ऊर्जालाई देशको २२ स्थानको राष्ट्रिय प्रसारण लाइनका स्टेशनहरूमा जोड्ने व्यवस्था मिलाइएको छ । विभिन्न स्थानमा  शून्य दशमलव ५ मेगावाटदेखि ८ दशमलव ५ मेगावाटसम्म सौर्य ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

    अपी पावरले दार्चुलाको नौगाड खोलाबाट ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेर विद्युत् उत्पादन गरिरहेको छ ।

    उक्त आयोजना सकिएलगत्तै ८ मेगावाट क्षमताको नौगाड दोस्रो जलविद्युत् आयोजना निर्माण पनि शुरू गरिसकेको छ । कम्पनीले दोस्रो अपर नौगाड निर्माण सकिएलगत्तै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । यस्तै कम्पनी ७५ मेगावाटको त्रिशूली गल्छीको समेत निर्माणमा जुटेको छ । अपी पावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर उपलब्ध गराउने निर्णय गरेको छ । कम्पनीले विभिन्न आयोजना निर्माण गर्न पूँजी जुटाउन १ बराबर २ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । यसका लागि अनुमति लिन धितोपत्र बोर्डमा निवेदन दिएको छ ।