४१० मेगावाटको नलसिंगाड जलविद्युत् आयोजना छिटो निर्माण गर्न माग

    2828

    jajarkot

    जाजरकोट, ९ कात्तिक ।
    जिल्लाको पूर्वी क्षेत्रको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने नलसिंगाड जलविद्युत् आयोजनाछिटो पूरा गर्न स्थानीयले माग गरेका छन् ।
    ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार उपाध्याय, आयोजनाका कार्यकारी निर्देशक मोती कँुवर, नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडी, स्मेक कन्सलटेन्सीका माइकललगायतले सोमबार आयोजना निर्माण स्थल निरीक्षण गरेका थिए । सो क्रममा स्थानीयले त्यस्तो माग गरेका हुन् ।

    जलविद्युतगृह निर्माणस्थल खगेनकोटको दल्लीदेखि सक्ला गाविसको सेपुखोलासम्म निरीक्षण गरिएको थियो । करिब १० किमी लम्बाइ रहेको सो भूभागको पहुँच मार्ग निर्माणस्थलको पनि अवलोकन गरिएको थियो ।

    आयोजनाको निरीक्षणमा आएको सो टोलीलाई मुआब्जाका साथै विस्तृत परियोजना प्रतिवेदन छिटो पूरा गर्न स्थानीयवासीले माग गरेका थिए । अहिले आयोजनास्थलमा पहुँचमार्ग निर्माण तीव्र पारिएको छ भने दल्लीमा आयोजनाको भवन निर्माण जारी छ । अहिलेको सम्भाव्यता अध्ययनले सो आयोजनाबाट ४ सय १० मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएको छ ।

    ऊर्जाविद्ले एक हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सकिने जिकिर गर्दै आएका छन् । नेपालकै कम लगानीका साथै कम क्षतिमा सो आयोजना निर्माण गर्न सकिने बताइएको छ ।

    आयोजना निर्माणस्थलमा कम जग्गा अधिग्रहण हुनेलाई निकै घाटा लागेको र मुआब्जा मार्फत पाएको रकमले अर्को ठाउँमा पुनःस्थापना हुन समस्या भएको सक्ला जुगानाका डिलबहादुर रावलले बताए । मुआब्जामार्फत पाउने रकम एकमुष्ट पाउनुपर्ने यदि नपाइएमा कुनै काम नलाग्ने रावलको भनाइ छ ।

    सक्ला–१ का जयबहादुर खत्रीले सक्ला लैखमका जनतालाई आयोजनाले उपेक्षा गरेको आरोप लगाए । आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने स्थानीयको माग छ ।

    ऊर्जा सचिव उपाध्यायले जाजरकोट अब झाडापखालाको होइन, बिजुलीको जिल्ला भनेर चिनिने बताए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन युद्धस्तरमा हुनुपर्ने र यहाँका जलजमिन र जडिबुटीको संरक्षण, आयोजना निर्माण हुँदा विस्थापित हुने स्थानीयवासीलाई रोजगारी दिनुपर्ने नलगाड सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहको भनाइ छ । रासस