सेतीदोभान जलविद्युत् अलपत्र

    1844

    यहाँको सेतीदोभान १ को जिल्लाकै पहिलो जलविद्युत् आयोजना सेतीदोभान जलविद्युत् केन्द्र हाल आएर जीर्ण र अलपत्र अवस्थामा छ । ०३५ पुस २ मा तत्कालीन माननीय जल तथा विद्युत् राज्यमन्त्री डीपी अधिकारीले शिलान्यास गरेको यो आयोजनाको २०४१ माघ ११ मा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेका थिए ।

    आयोजना हाल अलपत्र अवस्थामा रहनुका साथै यसका भवनहरू समेत जीर्ण अवस्थामा छन् । तत्कालीन समयमा सिद्धार्थ राजमार्गको नागडाँडाबाट बस चढेर पोखरा, बुटवलतिर पुगे मात्रै बिजुली देख्न पाइने बेला गाउँमै निर्मित पहिलो विद्युत् आयोजनाले बिजुली बालेको थियो ।

    ८० किलोवाट उत्पादन क्षमता हुने गरी निमार्ण थालिएको आयोजना पछि ४० हुँदै २० किलोवाटमा उत्पादन सीमित रहेको अवस्थामा बन्द भएको स्थानीयले बताए । ‘सुरुमा चौतर्फी प्रचार गरेको सुन्दा निकै खुसी र गौरव लाग्थ्यो,’ स्थानीय ७८ वर्षीय नारायणप्रसाद पोखरेलले भने, ‘गुणगानकै भरमा जिल्लादेखि टाढाटाढाका ठाउँबाट पनि मान्छे यहाँ बिजुली बलेको हेर्न आउँथे ।’

    यतिबेला योजनास्थल भताभुंग छ । विद्युतगृह मात्रै हैन, अन्य भौतिक संरचनासमेत जीर्ण अवस्थामा छन् । पानी जम्मा गर्ने पोखरीमा वर्षातमा खेती र हिँउदमा भलिबल खेल्ने कोर्टका रूपमा रहेको छ । आयोजनाको जग्गा पनि संरक्षण गरिएको छैन ।

     खोलादेखि विद्युतगृह सम्मको टनेल पनि पुरिँदै गएको छ भने भवनहरू छाडा चौपायाका बासास्थान बनेका छन् । ‘अहिले आएर यो जलविद्युत् आयोजना भग्नावशेषका रूपमा मात्रै छ,’ पोखरेलले भने, ‘यो स्थानमा जलविद्युत् आयोजना थियो भनेर हालका पुस्ताहरूले पत्याउन नसक्ने गरी दिनानुदिन जीर्ण हुँदै गएको छ ।’

    विद्युत् प्राधिकरणले चासो नदिएकाले जिल्लाकै पहिलो आयोजना यस्तो अवस्थामा देख्दा निकै दु:ख लाग्ने स्थानीय टेकबहादुर थापाले बताए ।

    योजना स्थलमा शौचालय, कार्यालय, विद्युत् गृहलगायत गरी ५ भवन छन् । तत्कालीन साना जलविद्युत् योजनाअन्तर्गत २०४१ सालमा निर्माण गरिएको यो आयोजनाबाट हालको पुतलीबजार नगरपालिकाको सम्पूर्ण क्षेत्र, सेतीदोभान गाविसलगायत आसपासका केही गाविसहरूका करिब एक हजार घरपरिवारले उपयोग गर्ने गरी विद्युत् आपूर्ति गरिएको थियो । ‘आयोजनाले विद्युत् आपूर्ति गर्न सुरु गरेको ५ वर्ष बित्न नपाउँदै अचानक बन्द भयो,’ स्थानीय थापाले भने ।

    विद्युत् उत्पादन भइरहेकै बेला एउटा टर्वाइनसहित केही उपकरण सरकारीस्तरबाटै निकालेर मनाङ पुर्‍याइयो । आयोजनाका कतिपय सामानहरू चालू अवस्थामै चोरीसमेत भए । अन्तत: विद्युत् आपूर्ति नै बन्द हुन गयो ।

     हालसम्म पनि विद्युतगृह भित्रका विभिन्न सामानहरू लथालिंग अवस्थामा छन् ।

    निकाल्न मिल्ने र घरायसी प्रयोजनका लागि प्रयोगमा आउने जस्ता उपकरणहरू चोरी भइसकेका छन् । भवनका भित्र कोठाहरू खुला अवस्थामा छन् । ‘यो जलविद्युत् आयोजना पहिलो मात्र नभएर जिल्लाको गहनाकै रूपमा पनि थियो । उचित संरक्षण भने हुन सकेन,’ स्थानीय उमादेवी पोखरलले भनिन्, ‘सरकारी सम्पत्ति भएकै कारण कसैले रेखदेख नगरेको र सरोकारवाला निकायसमेत कानमा तेल हालेर बसेको छ ।’

    सेतीखोलाबाट तीनसय मिटर लम्बाइको टनेलमार्फत लगिएको पानीले दुई टर्वाइनबाट १०/१० किलोवाट विद्युत् उत्पादन हुन्थ्यो । चालू अवस्थामा रहेका सामनाहरू अन्यत्र जिल्लामा लगिनाले र बुटवल पावर कम्पनीले आँधीखोला जलविद्युत् केन्द्रमार्फत बिजुली विस्तार गर्न थालेपछि यो बन्द हुन पुगेको स्थानीय बताउँछन् । यो आयोजनाले ५१ रोपनी जग्गा
    चर्चेको छ ।

    यो आयोजना पुननिर्माणका लागि स्थानीयवासीको पहलमा जिविस, गाविस, क्याम्पस र सर्वसाधारण समेतको सेयर लगानीमा गर्ने योजना बनाइए पनि सफल हुन सकेन । ३ सय किलोवाटको क्षमतासहित पुनर्निर्माण गर्ने योजना तय त गरियो तर विभिन्न बाधा अडनका कारण र सरकारी अनुमति प्राप्त नहुँदा कार्यान्वयन हुन सकेन ।

    ‘सरकारी स्तरबाट बेवास्ता भएपछि सरकारलाई कुनै भार नपारी स्थानीय स्तरबाटै पुनर्निर्माण गर्छौं भनेका त हौं,’ स्थानीय विष्णु पोखरेलले भने, ‘विद्युत् प्राधिकरणका महाप्रबन्धकसहित उच्च पदाधिकारीलाई आयोजनास्थल भ्रमण गराइयो । विस्तृत सर्वेक्षण पनि भयो तर विभिन्न कारण देखाएर अलपत्र योजना सुचारु हुनबाट रोकियो ।’ साढे ४ करोडको लागतमा पुनर्निर्माणको योजना रहेकामा ७/८ लाख रुपैयाँ खर्च पनि भइसकेको उनले बताए ।

    सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघलगायत आधा दर्जन संघसंस्थाले पनि योजना पुनर्निर्माणको पहल गरेका थिए । जिल्लाका विद्युत् प्राधिकरण प्रमुख मनोज सिंहले यस आयोजनाबारे कुनै जानकारी नभएको बताए । ‘सबै काम केन्द्रबाट हुने हो हामीलाई केही जानकारी हुँदैन,’ उनले भने, ‘सरकारको यतिबेला सबै जिल्लाका साना योजनाहरू पुनर्निर्माण गर्ने योजना त छ तर यो आयोजना परेको छ वा छैन हामीलाई कुनै जानकारी भएन ।’

    स्रोत : कान्तिपुर