जलविद्युतमा निजी लगानी बढ्यो, ४३० मेगावाट बिजुली उत्पादन, २ हजार मेगावाट क्षमताका १०१ आयोजना निर्माणाधीन

    1232

    काठमाडौं । सरकारले लगानी कम गरेपछि पछिल्ला वर्षमा जलविद्युतमा निजी लगानी बढेको पाइएको छ ।
    सरकारले ०४९ मा विद्युत ऐन ल्याएर जलविद्युतमा निजी लगानी खुला गरेपछि सरकारले जलविद्युतमा हुने लगानी क्रमशः कम गर्दै लगेपछि जलविद्युतमा स्वदेशी तथा विदेशी लगानी भित्रिएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार हालसम्म निजी लगानीमा ४३० मेगावाट क्षमताका ५८ आयोजना सम्पन्न भएका छन् ।

    सरकारले विद्युत् ऐन २०४९ ल्याएर जलविद्युत विकासमा निजी क्षेत्रलाई खुला गरेपछि स्वदेशी तथा विदेशी गरी  हालसम्म ५८ आयोजना सम्पन्न भएका छन् । हालसम्म १८३ किलोवाटदेखि ६० मेगावाट क्षमताका आयोजना सम्पन्न भएका छन् । १८० मेगावाट क्षमताको ४ आयोजना विदेशी लगानीमा सम्पन्न भएका छन् ।

    हालसम्म नर्वेको लगानीमा ६० मेगावाटको खिम्ती, चीनियाँ लगानीमा ५० मेगावाटको माथिल्लो मस्र्याङदी, अमेरिकी लगानीमा ४५ मेगावाटको माथिल्लो भोटेकोसी र चिनियाँ लगानीमा २५ मेगावाटको मादी आयोजना विदेशी लगानीमा निर्माण भएका हुन् । बाँकी ५४ आयोजना नेपाली पुँजी परिचालनबाट निर्माण भएका हुन् । यो वर्ष पनि निजी लगानीका १५ आयोजना सम्पन्न भएर प्रणालीमा १४२ मेगावाट बिजुली थप हुँदैछ ।

    यस मध्ये १ सय मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थप भइसकेको छ । पछिल्लो समयमा सरकारको भन्दा निजी लगानी बढी रहेको छ । हालसम्म २२ मेगावाटको चिलिमे, २९ मेगावाटको माई, १० मेगावाटको मोदी आयोजना स्वदेशी लगानीमा निजी क्षेत्रबाट निर्माण भएका हुन् ।

    यस्तै निजी लगानीबाट २ हजार मेगावाट क्षमताका १०१ आयोजनाले लगानी जुटाई निर्माण सुरु गरिरहेका प्राधिकरणले जनाएको छ  । यी मध्ये धेरै आयोजनाको काम अन्तिम चरणमा पुगेका छन् । निर्माणधिन आयोजनामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ५८ मेगावाटको सान्जेन, ८२ मेगावाटको तल्लोसोलु, ८६ मेगावाटको सोलु दूधकोसी, ४२ मेगावाटको मिस्त्रीखोला, ५० मेगावाटको दोर्दीखोलालागायत १०१ आयोजना निर्माणाधिन छन् ।

    आउँदो ५ वर्षमा अधिकांश आयोजना सम्पन्न हुँदैछन् । आउँदो वर्षमात्रै माथिल्लो तामाकोसी बाहेक निजी क्षेत्रबाट २ सय मेगावाट बिजुली थप हुँदैछ ।

    विद्युत् प्राधिकरणले ३ हजार मेगावाट क्षमताका आयोजनासँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । यस्तै साढे ६ सय मेगावाट क्षमताका ३८ आयोजना निर्माण सुरु भएका छन् । यी अयोजनाले लगानी जुटाउन बाँकी छ ।

    यस्तै सरकारी तहबाट १४० मेगावाटको तनहुँ आयोजनाको काम पनि सुरु हुँदैछ ।

    चालु आर्थिक वर्षभित्र नेपालको कुल विद्युत उत्पादन जडित क्षमता साढे ९ सय मेगावाट पुग्दैछ । प्रणालीमा अझै पनि ४ सय मेगावाट हाराहारीमा बिजुली अपुग भएको छ ।

    -बाह्रखरी