वैशाख अन्तिम साताबाट मिदिमखोलामा विद्युत् उत्पादन सुरु

    1548

    लमजुङः मिदिम करिडोरमा निर्माणाधिन तीन मेगावाट क्षमताको मिदिमखोला (करापु) जलविद्युत आयोजनाले आगामी बैंशाख अन्त्यदेखि विद्युत् उत्पादन थाल्ने भएको छ । विगत २२ महिनादेखि निर्माणाधिन आयोजनाले निर्माणको कार्य सम्पन्न गरी विद्युत् उत्पादन थाल्ने भएका हो ।

    प्रवद्र्धक कम्पनी युनियन हाईड्रोपावरले आयोजनाले झन्डै ९० प्रतिशत निर्माणको कार्य सकिसकेको जनाएको छ । आयोजनाका प्रमुख आवासीय इन्जिनियर दिपबहादुर सिंहका अनुसार भुमिगत सुरुङ, विद्युत् गृहको सिभिलतर्फ, बाँध क्षेत्र लगायतको निर्माणको कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

    प्रवद्र्धक कम्पनी युनियनले छिटोमा  गत वैशाख १ र ढिलोमा गत असार १ गतेसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको थियो । अघिल्लो वर्ष १२ वैशाखमा गएको भूकम्प, नाकाबन्दीसँगै भएको इन्धन अभाव र मजदुर अभावका कारण आयोजना निर्माण ढिला भएको इन्जिनियर सिंहको भनाई छ ।

    ‘हामीले वैशाखभित्रै आयोजना निर्माणको कार्यलाई सम्पन्न गर्नका लागि विद्युत् गृह, सुरुङ, बाँध र पेनस्टक पाइप लगायतको कामलाई एकसाथ अघि बढाइरहेका छौँ ।’ इन्जिनियर सिंह भन्छन्, ‘ओभरअल प्रोजेक्टको प्रोगेस ९० प्रतिशतभन्दा माथि छ ।’

    प्रवद्र्धक कम्पनी युनियन हाईड्रोपावरले ३ मेगावाट विद्युत् उत्पादन गर्ने गरी पश्चिम लमजुङको करापु र नाल्मा गाउँको सिमानामा यो आयोजना निर्माण गरेको हो । यति बेला आयोजनामा हाइड्रोमेकानिकल अन्तर्गतका हेडरेस पाइप, पेनस्टक, गेट लगायतको ७० प्रतिशत काम सकिएको र इलेक्ट्रोमेकानिकल अन्तर्गतको ६० प्रतिशत काम भइसकेको आयोजनाका जन सम्पर्क अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए ।

    ‘भूकम्प र नाकाबन्दकिा कारण आयोजना निर्माणको कार्य निकै कष्टपूर्ण नै रह्यो ।’ आयोजनाका जन सम्पर्क अधिकृत अधिकारीले भने, ‘जेनतेन भूकम्प गएका बेला पनि काम ग¥यौं तर नाकाबन्दीले निर्माण सामाग्री र इन्धनका अभावका कारण आयोजना निर्माणको अवधि ७ महिना लम्बयाइदियो ।’

    बैंशाखमै विद्युत् उत्पादन गरी प्रसारण लाइनमा पठाउने लक्ष्यका साथ काम भइरहेको यस आयोजनामा अहिले २ सय ५० बढी कामदारले काम गरिरहेका छन् । आयोजनाको सुरुको लागत ५४ करोड रहेपनि इन्धन अभाव, भूकम्प र मजदुर अभावका कारण आयोजनाका समय र लागत दुवै बढेको जन सम्पर्क अधिकृत अधिकारीले बताए ।

    ‘सुरुङमा कमजोर चट्टान भएका कारण अलि समय लाग्यो ।” अधिकारीले भने, “सुरुङमा धेरै ‘रिप’ हाल्नुपर्ने अवस्था आएकोले पनि हामी ढिला भयौँ ।’ जडित क्षमता ३ मेगावाट रहने यस आयोजनाको प्रवद्र्धक कम्पनी युनियन र नेपाल विद्युत् प्राधिकरण बिच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।

    साविकको करापु र नाल्मा गाविसको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध बाँधी ११२१.२४ मिटर लामो भुमिगत सुरुङ ३४३.५ मिटर पेनस्टक पाइप र १५५.६ मिटर लामो कल्भर्टमार्फत ल्याइएको पानीलाई आयोजनाको विद्युत् गृह रहने स्थान करापु–९ पत्तरीमा पु¥याई विद्युत् उत्पादन गरिने प्रवद्र्धक कम्पनीको लक्ष्य छ ।

    आयोजनाको मुख्य प्रभावित क्षेत्रहरू नेटा, करापु, नाल्मा, ईशानेश्वर, भोर्लेटार, बाँग्रे र सिन्दुरे लगायतका स्थानमा विभिन्न सचेतनामुलक कार्यक्रम तथा सडक मर्मत, मठ मन्दिर, विद्यालय निर्माण लगायतका कामहरू भइरहेको स्थानीय समाजसेवी डम्बरबहादुर गुरुङले बताए ।

    उनले स्थानीयको आयोजनामा जनसहभागिता बढाउनका लागि प्रभावित गाविसमा लागि १० प्रतिशत सेयरसमेत वितरण गरेको बताए । पानीको वहावमा आधारित स्वदेशी लगानीको यो आयोजना र नेपाल विद्युत् प्राधिकरणबिच सुख्खायाममा ८ रुपंैयाँ ४० पैसा र बर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरी पिपिए सम्झौता भएको हो ।

    प्रवद्र्धक कम्पनी युनियनले प्राधिकरणसँग विद्युत् जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) समेत गरिसकेको छ । जसमा प्राधिकरणले आयोजना निर्माण सम्पन्न हुनु अगावै भोर्लेटारमा शबस्टेशन निर्माण गर्ने सहमति भएको छ ।

    आयोजनाबाट उत्पादित विद्युतलाई दमौलीबाट भोर्लेटारसम्म ३३ केभिए क्षमताको प्रसारण लाइन निर्माण गर्ने गरी भोर्लेटारस्थित ३३ केभिएको शवस्टेशन निर्माण भइसक्ने आयोजनाले विश्वास लिएको छ ।

    • कारोबार