पश्चिम सेतीको बाटो खुल्यो

    1320

    माघ ४, २०७३- ७ सय ५० मेगावाट क्षमताको बहुचर्चित पश्चिम सेती जलाशययुक्त आयोजना अघि बढाउने बाटो खुलेको छ । चिनियाँ कम्पनी थ्री गर्जेज र विद्युत् प्राधिकरणबीच संयुक्त लगानीमा पश्चिम सेती आयोजना विकास गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएपछि मुलुकमा डेढ खर्ब लगानी भित्रिने वातावरण बनेको छ । पश्चिम सेतीबाट सुक्खायामको बढी बिजुली माग हुने साँझमा ४ र बिहान २ गरी ६ घण्टामा ७ सय ५० मेगावाट बिजुली उत्पादन हुनेछ, त्यसले मुलुकमा सुक्खायाममा बिजुली व्यवस्थापन गर्न ठूलो योगदान पुग्ने जानकारी प्राधिकरणका अधिकारीले दिए । आयोजनामा १ खर्ब ६० अर्ब रुपैयाँ लगानी हुनेछ । यसमध्ये चिनियाँ लगानी एक खर्ब रुपैयाँ आउने छ भने बाँकी प्राधिकरण र स्थानीयवासीको रहनेछ ।

    लगानी बोर्डको संयोजनमा सोमबार साँझ भएको सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चाइना थ्री गर्जेजका कार्यकारी उपाध्यक्ष युआयन जिम्माओले हस्ताक्षर गरेका छन् । चीनमा २२ हजार ५ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना सफलतापूर्वक बनाएको थ्री गर्जेजले पश्चिम सेती आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयसित सन् २०१२ मा समझदारी (एमओयू) गरेको थियो ।

    एमओयू गर्दा थ्री गर्जेजले आयोजनामा नेपाल सरकार (विद्युत् प्राधिकरण) को २५ प्रतिशत लगानी हुनुपर्ने सर्त राखेको थियो । सरकारको समेत लगानी हुँदा आयोजना अघि बढाउन सजिलो हुने धारणा थ्री गर्जेजको थियो ।

    मुलुकको आन्तरिक खपत गर्ने गरी जलाशययुक्त आयोजना बनाउन महँगो पर्ने भएकाले निरन्तर घाटामा रहेको प्राधिकरणले पश्चिम सेतीमा लगानी गर्न आनाकानी गर्दै आएको थियो । त्यही कारण एमओयू भएको चार वर्षसम्म पनि थ्री गर्जेज र प्राधिकरणबीच संयुक्त लगानीसम्बन्धी सम्झौता हुन सकेको थिएन । लगानी बोर्डको संयोजनमा थ्री गर्जेज र प्राधिकरणका अधिकारीबीच झन्डै एक साता लामो छलफलपछि संयुक्त लगानी गर्ने सहमति भएको थियो । सम्झौता थ्री गर्जेज र प्राधिकरणको सञ्चालक समिति (बोर्ड) ले अनुमोदन गरेपछि लागू हुनेछ । दुवै कम्पनीको बोर्डले अनुमोदन गरेपछि थ्री गर्जेज र प्राधिकरणको संयुक्त लगानीको कम्पनी नेपालमा दर्ता हुनेछ । कम्पनीमा सुरुमा थ्री गर्जेजको ७५ र प्राधिकरणको २५ प्रतिशत इक्विटी सेयर रहनेछ । सम्झौताका अनुसार पश्चिम सेतीमा आयोजनास्थलका प्रभावित जनता र जिल्लावासीलाई १० प्रतिशत सेयर दिइनेछ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । थ्री गर्जेजले आफ्नो स्वामित्वको ७५ प्रतिशत सेयरबाट स्थानीयवासीलाई सेयर दिने सम्झौतामा उल्लेख छ ।

    विद्युत् प्राधिकरणले हाल्ने सेयरबापत रकमसमेत थ्री गर्जेजले चिनियाँ एक्जिम बैंकबाट सहुलियतपूर्ण ऋणमा जुटाइदिन प्रयास गर्ने सम्झौतामा उल्लेख छ । पश्चिम सेतीबाट उत्पादन हुने बिजुली मुलुकको केन्द्रीय प्रणालीमा जोड्न आवश्यक ५ सय किमि लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । सम्झौताअनुसार हालै स्थापना भएको राष्ट्रिय ग्रिड कम्पनीले उक्त प्रसारण लाइन निर्माण गर्नेछ भने त्यसका लागि आवश्यक ४० अर्ब रुपैयाँ थ्री गर्जेजले चीनको एक्जिम बैंकबाट सहुलियतपूर्ण ऋण जुटाइदिन प्रयास गर्ने सम्झौतामा उल्लेख छ ।

    थ्री गर्जेजले विदेशी मुद्रा ल्याएर पश्चिम सेतीमा अहिलेसम्म अध्ययनलगायत कार्यमा गरेको खर्च राष्ट्र बैंकको स्वीकृतिमा उसलाई संयुक्त कम्पनीमा पुँजीकरण गर्न दिइनेछ । लगानी बोर्डले स्वीकृति दिएपछि थ्री गर्जेज र प्राधिकरणको संयुक्त उपक्रम (लगानी) को कम्पनी दर्ता हुनेछ । संयुक्त कम्पनीले पश्चिम सेती निर्माण गर्न लगानी बोर्डसित आयोजना विकास सम्झौता (पीडीए) गर्ने जानकारी छलफलमा सहभागी एक अधिकारीले दिए । आयोजना निर्माण गर्न १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा संयुक्त कम्पनीले ३० प्रतिशत स्वपुँजी लगानी गर्नेछ भने बाँकी ७० प्रतिशत चिनियाँ एक्जिम बैंकबाट ऋण लिनेछ । प्राधिकरणले मात्र स्वपुँजीबापत करिब १५ अर्ब रुपैयाँ लगानी गर्न‘पर्नेछ ।

    पश्चिम सेती आयोजनाको अध्ययन डेढ वर्षभित्र सम्पन्न हुने जानकारी स्रोतले दियो । अध्ययन सम्पन्न भई डीपीआर तयार भएपछि संयुक्त कम्पनीले आयोजना निर्माण कार्य अघि बढाउने छ । आयोजना निर्माण गर्न ६ वर्ष ७ महिना लाग्ने थ्री गर्जेजको अनुमान छ । छलफलमा सहभागी एक अधिकारीका अनुसार आयोजना अबको साढे ७ वर्षमा सम्पन्न भई बिजुली उत्पादन सुरु हुनेछ । संयुक्त कम्पनीले नै जलाशययुक्त आयोजनाको विद्युत् खरिद दर (पीपीए) तय गर्ने, आयोजनास्थलमा पर्ने स्थानीयवासीको पुनर्बास, पुन:स्थापना तथा जग्गा अधिग्रहणको विषयमा निर्णय लिनेछ । आयोजनाका लागि २ हजार ३ सय २० हेक्टर जग्गा अधिग्रहण गर्न‘पर्ने अध्ययनले देखाएको छ ।

    स्रोत:कान्तिपुर