बिजुलीमा परनिर्भर

    3155

    काठमाडौ, आश्विन २ –

    TRL_artभारतलाई बिजुली बेचेर समृद्ध हुने ‘सपना देखेको’ जलस्रोतको धनी मुलुक नेपालले उल्टै उताबाट बिजुली आयात गर्ने मात्रा बर्सेनि बढ्दै गएको छ । बढी विद्युत् खपत हुने हिउँदमा यो वर्ष मुलुकमा उत्पादन हुने हाराहारीमै भारतबाट आयात गर्ने भएको हो ।

    अघिल्लो वर्षभन्दा लोडसेडिङ बढ्न नदिन विद्युत् प्राधिकरणले आउँदो हिउँदमा भारतबाट थप ७४ मेगावाट बिजुली आयात गर्ने गृहकार्य थालेको हो । गत वर्ष हिउँदमा १ सय ८० मेगावाटसम्म विद्युत् आयात गरिएकामा यो वर्ष २ सय ५४ मेगावाट पुर्‍याइने भएको छ ।

    त्यसका लागि भारतबाट विद्युत् ल्याउने प्रमुख मार्ग -कटैया-कुसाहा प्रसारण लाइन) को स्तरोन्नति काम अघि बढाइएको प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवन छेत्रीले बताए । मुलुकमा प्रत्येक वर्ष बिजुलीको माग ८० मेगावाट हाराहारीमा बढ्दै गएको छ ।

    प्राधिकरणका अनुसार कटैया-कुसाहा प्रसारण लाइनबाट थप बढीमा ७० र टनकपुर- महेन्द्रनगर प्रसारण लाइनबाट थप १० मेगावाट आयात गर्ने तयारी भइरहेको छ । कटैया-कुसाहाबाट ८० मेगावाट मात्र आयात गर्दै आएकामा यस वर्ष प्रसारण लाइनको स्तरोन्नति गरी १ सय ५० मेगावाटसम्म बिजुली ल्याउने योजना प्राधिकरणको छ । बाँकी बिजुली अघिल्लो वर्षझैं नेपाल-भारतबीचका विभिन्न नाकाबाट ३३ केभी प्रसारण लाइनबाट आयात गरिनेछ ।

    प्राधिकरणले विराटनगरको कटैया-कुसाहा प्रसारण लाइनमा गुणस्तरीय कन्डक्टर फेरेर अपग्रेड गरी विद्युत् आयात क्षमता दोब्बर पार्ने काम सुरु गरेको छ । नेपालतर्फ पर्ने १२ किमि र भारततर्फ पर्ने ३ किमि खण्डमा दुई साताभित्र कन्डक्टर फेरिसक्ने लक्ष्य छ । भारततर्फको प्रसारण लाइन बिजुली ल्याउन मात्र प्रयोग हुने भएकाले त्यहाँ फेरिने गुणस्तरीय कन्डक्टरको खर्चसमेत प्राधिकरणले नै बेहोर्ने छ । ‘अपग्रेडको काम थालिएको दुई दिन भइसक्यो, नेपालतर्फको १२/१३ दिनमा र भारततर्फको अपग्रेड ३/४ दिनमा सकिन्छ’, छेत्रीले भने । ८० मेगावाटको कटैया-कुसाहा प्रसारणबाट अपग्रेडपछि १ सय ६० मेगावाटसम्म ल्याउन सकिने छ ।

    प्राधिकरणले टनकपुर-महेन्द्रनगर प्रसारण लाइनबाट समेत थप १० मेगावाट बिजुली आयात गर्ने प्रक्रिया अघि बढाएको छ । भारतीय ऊर्जा दलाल कम्पनी (पीटीसी) ले प्राधिकरणलाई भारतीय राज्य छत्तीसगढको पावरहाउसबाट उत्पादित ३० मेगावाट बिजुली टनकपुर-महेन्द्रनगर प्रसारण लाइनबाट दिने प्रस्ताव गरेको छ । पीटीसीले उक्त प्रसारण लाइनबाट सस्तो मूल्य अर्थात् प्रतियुनिट ६ रुपैयाँ (भारु ३.७५) मा विद्युत् दिने प्रस्ताव गरेको छ ।

    प्राधिकरण सञ्चालक समितिको हालै बसेको बैठकले टनकपुरबाट पीटीसीमार्फत ३० मेगावाट खरिद गर्ने निर्णय गरी व्यवस्थापनलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको स्रोतले बतायो । टनकपुर-महेन्द्रनगर प्रसारण लाइनमार्फत भारतबाट टनकपुर विद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क बिजुली (७ करोड युनिट) बाहेक अघिल्लो वर्ष प्राधिकरणले २० मेगावाट विद्युत् आयात गरेको थियो । यस वर्ष उक्त प्रसारण लाइनमार्फत प्राधिकरणले भारतबाट थप १० अर्थात् ३० मेगावाट बिजुली आयात गर्ने भएको छ ।

    ‘भारतबाट अघिल्लो वर्ष १ सय ८० मेगावाटसम्म बिजुली आयात गरेका थियौं । कटैया-कुसाहा प्रसारण लाइनको स्तरोन्नति र टनकपुर-महेन्द्रनगरबाट थप १० मेगावाट गरी यको हिउँदमा २ सय ५४ मेगावाटसम्म बिजुली आयात गर्ने योजना प्राधिकरणको छ,’ छेत्रीले भने । उनले भारतबाट २ सय ५४ मेगावाट बिजुली आयात गर्ने, कुलेखानी जलाशय भरिने र अघिल्लो वर्षझैं हेटौंडा र विराटनगरका मल्टिफ्युल चलाउने योजनासहित प्राधिकरणले यस वर्ष हिउँदमा दैनिक १२ घन्टाभन्दा बढी लोडसेडिङ नहुने प्रक्षेपण गरेको जानकारी दिए । प्राधिकरणले कटैया-कुसाहा र टनकपुर-महेन्द्रनगरबाहेक रामनगर, वीरगन्ज, इनरुवा, राजविराज, सिरहा, जलेश्वर, भैरहवा र नेपालगन्ज नाकाबाट ३३ केभीको प्रसारण लाइनबाट समेत थोरै परिमाणमा भए पनि बिजुली आयात गर्दै आएको छ ।

    Source : ekantipur