पनौती जलविद्युत खस्कँदै , क्षमता २.४ मेघावाट उत्पादन ४ सय किलोवाट

    6025

    मुलुककै तेस्रो पुरानो पनौती जलविद्युत् अयोजना बन्द हुने अवस्थामा पुगेको छ । २.४ मेघावाट उत्पादन क्षमता भएको काभ्रेको खोपासीस्थित सो विद्युत् उत्पादन केन्द्रले अहिले जेनतेन ४ सय किलोवाट मात्र विद्युत् उत्पादन गरिरहेको छ ।  आयोजना पुरानो हुँदै जाँदा सामयिक प्राविधिक मर्मतको अभाव र स्थानीयको अवरोधले आयोजना कमजोर बन्दै गएको हो । आयोजनाका ३ मध्ये २ टर्वाइन बिग्रिएकाले विद्युत् उत्पादनमा कमी आएको हो ।
    गत मंसिरदेखि  वैशाखसम्म आयोजनाबाट विद्युत उत्पादन नै भएन । बिग्रिएको  एउटा टर्बाइन मर्मत गरिएपछि ४ सय किलोवाट विद्युत् भए पनि उत्पादन भइरहेको केन्द्र प्रमुख शोक सुधार भैलले बताए । “केही महिना त विद्युत् नै उत्पादन भएन, टर्बाइन मर्मत गरेपछि थोरै भए पनि उत्पादन भएको छ,” उनले भने, “आयोजना बन्दै भयो भन्ने सन्देश जान दिएका छैनौँ, नहुनुभन्दा यही ठूलो भएको छ ।”
    बजेटको अभाव र कमिसनको चलखेलका कारण केन्द्रका बाँकी टर्वाइन मर्मत नगरिएको आयोजना सम्बद्ध एक कर्मचारी बताउँछन् । “मेसिनहरू  मर्मतगर्दा काम लाग्ने अवस्था त छन्, तर नयाँ ल्याउँदा बढी कमिसन पाउने भएकाले मर्मत भएको छैन,” ती कर्मचारीले भने । उनका अनुसार मर्मत गर्दा ३ करोडमा हुन्छ भने नयाँ ल्याउनका लागि १२ करोड बजेट आवश्यक पर्छ ।
    ४६ वर्षअघिदेखि विद्युत् उत्पादन गर्दै आएको पनौती जलविद्युत्का अन्य उपकरणहरूसमेत बिग्रने अवस्थामा र पुराना छन् । “टर्बाइन बिग्रेपछि बारम्बार हामीले नेपाल विद्युत् प्राधिकरणलाई झकझकाएका छौँ, आश्वासन पाएका थियौँ तर काम भएको छैन,” प्रमुख भैलले भने ।
    केही स्थानीयबासी तथा काभ्रे एकीकृत खानेपानी आयोजनाको अवरोध पनि पनौती जलविद्युत्ले खेपिरहेको छ । आयोजनाका अनुसार, विद्युत्गृहमा पानी ल्याउने  नहर १० ठाउँबाट फुटाएर स्थानीयले सिँचाइका लागि पानी लगिरहेका छन् । त्यस्तै मुहानका पाँच ठाउँबाट काभ्रे एकीकृत खानेपानी आयोजनाले पानी लैजान लागेको छ । “पानीको अभावमा जलविद्युत् आयोजना बन्द हुने सम्भावना धेरै छ,” भैलले भने, “सिंचाइका लागि छुट्ट्याएको निश्चित ठाउँबाहेक अन्य ठाउँबाट पानी नलान अनुरोध गरेका छौं ।”
    पनौती जलविद्युत् आयोजना २०१७ सालमा निर्माण सुरु भएर २०२२  सालदेखि सञ्चालनमा आएको थियो ।

    ——————————————————————————————————————————————————————

    Panauti Hydropower Station
    Khopasi, Kavre, Nepal

    Panauti Hydropower Station is the third hydropower station constructed in Nepal. It is a run-of-river scheme on Roshi Khola (river) having installed capacity of 2.4 MW with 3 units of 0.8 MW each. This power station lies at Khopasi of Kavre district located 35 km east of Kathmandu.

    Panauti Hydropower Station is a peaking run of the river type with an installed capacity of 2.4 MW. The powerhouse was commissioned in the year 1965. The average (designed) annual generation of this powerhouse id 6.97 GWh.

    The project was completed with the assistance from USSR Government.