56 % work of Upper Madi Hydroelectric Project completed

    1388

    56 % work of Upper Madi Hydroelectric Project completed. The Upper Madi Hydropower project is being constructed with 80 percent of the total investment by China International Water and Electric Corporation (CWE) and 20 percent by Nepali investors Bijay Bd. Malla. The total cost of the proejct has been estimated at around Rs. 6.5 billion. 

    upper madi intake

    माथिल्लो मादीको ५६% काम पूरा

    साउन १, पोखरा । कास्कीको सिल्दुजुरेमा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको ५६ प्रतिशत काम पूरा भएको छ । ६ अर्ब २६ करोड रुपैयाँको लागतमा निर्माणाधीन २५ मेगावाट क्षमताको सो आयोजना पूरा हुन अब २ वर्ष लाग्ने बताइएको छ । नेपाली लगानीकर्ता विजयबाबु मल्लको २० प्रतिशत र चिनियाँ थ्री गर्जेज कम्पनीअन्तर्गतको सीडब्ल्यूई (चाइना इण्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन) को ८० प्रतिशत लगानी रहेको सो आयोजनाको निर्माण कार्य २०६९ पुसमा थालिएको हो ।

    मादी पावर प्रालिअन्तर्गत निर्माणाधीन आयोजनाको काम २८ महीनामा सक्ने लक्ष्य भए पनि विभिन्न कारणले गर्दा निर्माण समय लम्बिने भएको छ । सिल्दुजुरे गाविसस्थित चासुमा आयोजनाको बाँध निर्माण भइरहेको प्रालिका प्रोजेक्ट डाइरेक्टर विजयबाबु मल्लले जानकारी दिए । उनका अनुसार ४ हजार २ सय ३० मिटर लम्बाइ रहेको सुरुङको निर्माण कार्य धमाधम भइरहेको छ । उनले छाचोकमा पावर हाउस निर्माण भइरहेको पनि बताए । 

    आयोजनामा विदेशी २ सय र नेपाली ५ सय ५० गरी ७ सय ५० जना कामदार कार्यरत छन् । ‘आयोजनामा रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिइएको छ,’ मल्लले भने, ‘स्थानीय २ सय जना कामदार परियोजनामा संलग्न छन् ।’ आयोजनाको निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ब्युरो १० चेण्डुसँग इपीसी कण्ट्र्याक्टको अवधारणाअनुसार सम्झौता गरिएको हो ।

    आयोजनाको सम्पूर्ण प्राविधिक काम प्रसिद्ध चिनियाँ कन्सल्टेन्सी एसआईडीएचआई साङ्घाईले गर्दै आएको छ । आयोजनाबाट कास्कीको सिल्दुजुरे, नामार्जुन, थुम्काको डाँडा गाविस प्रभावित छ । आयोजनाबाट त्यस क्षेत्रका ५० हजार स्थानीय बासिन्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ ।

    ‘आयोजनाको निर्माण सम्पन्न भएपछि अहिलेको लोडशेडिङ र ऊर्जासङ्कट कम हुने विश्वास गरेका छौं,’ मल्लले भने ।

    समयमा नै निर्माण सम्पन्न गर्नेगरी काम भइरहे पनि विभिन्न कारणले समय लम्बिने सम्भावना बढेको मल्लले जानकारी दिए । उनका अनुसार भौगोलिक बनावट, पहिरो, स्थानीय समस्या, सरकारको जलविद्युत्सम्बन्धी अस्पष्ट नीतिका कारण निर्माणमा ढिलाइ भएको हो । स्थानीयले समय–समयमा विभिन्न खालका अनावश्यक माग राखेर आयोजनालाई प्रभावित पार्ने काम गरिरहेको पनि उनले बताए । ‘आयोजना शुरू भएलगत्तै स्थानीय सरोकार समितिसँग जिल्ला प्रशासन कार्यालयको रोहवरमा भएका सहमति पालना गरेका छौं,’ मल्लले भने, ‘सम्पूर्ण सहमति पालना गरी निर्माण कार्य अगाडि बढाउँदा पनि आयोजना प्रभावित हुने गरी राखिने मागहरूले समस्या सृजना गरेको छ ।’ सहमतिअनुसार नै करीब रू. ६ करोडको लागतमा स्थानीय क्षेत्रको विकासका कामहरू अगाडि बढाइरहेको मल्लले जानकारी दिए ।

    निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजना कास्कीको सबैभन्दा ठूलो आयोजना हो । मादी नदीको पानी हिमालबाट बग्दै आएकाले हिउँदमा समेत पानी अपुग नहुने विश्वास गरिएको छ । ‘आयोजनाको निर्माण सम्पन्न भएपछि हिउँदमा समेत ७५ प्रतिशतभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य छ,’ मल्लले भने, ‘पोखराबाट नजिक, सामान ओसारपोसार गर्न सजिलो तथा नदीमा पानीको स्रोत राम्रो भएकाले आयोजना शुरू गरिएको हो ।’

    यसैबीच, आयोजनाकै पहलमा पोखराको काहुँखोलादेखि चासुसम्म १८ किलोमिटर बाटो सुधार गरिएको छ । ग्राबेल आरसीसी कङ्क्रिट ढलान गरी बाटो सुधार गरिएको मल्लले बताए । डेढ वर्षअगाडि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजनाको उद्घाटन गरेका थिए ।

    कास्कीमा माथिल्लो मादी जलविद्युत् आयोजना निर्माण गरिरहेका प्रवद्र्धकहरूद्वारा स्याङ्जामा सञ्चालनमा रहेको कालीगण्डकी ‘ए’भन्दा माथि ८६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाई अध्ययन भइरहेको पनि मल्लले जानकारी दिए ।

    Source : Abhiyan