त्रिशूली–गल्छी आयोजनामा चिनियाँ लगानी

    1885

    नुवाकोट-सिद्धकाली पावर कम्पनी लिमिटेड कम्पनीले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ ।
    सम्झौताअनुसार नुवाकोट र धादिङमा निर्माण गर्न लागिएको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा आगामी अक्टुबरदेखि सुरु हुने भएको हो । त्रिशूली नदीस्थित नुवाकोटको तार्केश्वर गाउँपालिका–४ ढोडबेसीमा बाँधस्थल र धादिङको गल्छी गाउँपालिका– १ होडीखोलाटारमा उत्पादन गृह हुने गरी निर्माण गर्न लागिएको आयोजनाको यसअघि नै सिद्धकाली पावर कम्पनीले चिनियाँ लगानीकर्तासँग प्रारम्भिक सम्झौता गरिसकेको थियो । उक्त सम्झौताको आधारमा चिनियाँ कम्पनी दोङफाङ इलेक्ट्रिक कर्पोरेसनले परियोजना निर्माण सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।
    आयोजनालाई इन्जिनियरिङ, खरिद निर्माण र वित्तीय व्यवस्थापन (इपीसी–एफ) ढाँचामा निर्माण गर्नेसम्बन्धी सम्झौता दोङफाङसँग गत चैतमा हस्ताक्षर भएको त्रिशूली–गल्छी जलविद्युत् आयोजनाको जनसम्पर्क अधिकृत राजु पण्डितले जानकारी दिए । “आयोजना निर्माणको काम अघिदेखि नै सुरु गरे पनि वित्तीय व्यवस्थापनमा देखिएको अन्योलता समेत अन्त्य भएकाले अक्टुबरदेखि काम सुरु गर्न लागिएको छ,” पण्डितले भने । उनका अनुसार नुवाकोट र धादिङको सीमामा निर्माण हुन लागेको उक्त, आयोजना सम्पन्न गर्न लाग्ने मध्ये १० अर्ब ८१ करोड रुपैयाँ चिनियाँ कम्पनीले लगानी गर्ने बुधबार भएको सम्झौतामा उल्लेख छ । आयोजनाको विद्युत् उत्पादन सुरु भएको एक वर्षभित्र आयोजनाको प्रवद्र्धक सिद्धकाली कम्पनीले लक्ष्मी बैंकसँगको सहकार्यमा चिनियाँ कम्पनीलाई चार प्रतिशत व्याजसहित लगानी फिर्ता गर्ने सहमति छ ।
    आयोजनाको कुल लागत १४ अर्ब ४० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनमा प्रक्षेपण गरिएको छ । “निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको आयोजना शतप्रतिशत सुरुङमार्ग मार्फत निर्माण गर्न लागिएको हो ।” पण्डितले भने, “त्रिशूली नदीस्थित नुवाकोटको ढोडफेसीस्थित बाँध स्थलदेखि धादिङको हाडीखोलासम्म ८१ सय मिटर सुरुङ निर्माणको काम पहिलो चरणमा सुरु गर्न लागिएको छ ।”
    उनका अनुसार आयोजनाको काम सम्झौता लगत्तै सुरु गर्न लागिए पनि नदीमा पानीको मात्रा बर्खायाममा उच्च भएकाले बहाब कम भएपछि कामलाई तीव्रता दिइने छ ।

    -कारोबार