कालिगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने

    2435

    म्याग्दी-म्याग्दीस्थित १६४ मेगावाट क्षमताको नेपाल कालिगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
    लगानी जुटेपछि एक दशकदेखि निर्माणको प्रक्रियामा रहेको आयोजनाले गति लिने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । म्याग्दी र मुस्ताङ भएर बग्ने कालिगण्डकी नदीको पानीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले वि.सं २०६३ मा आयोजनाको सर्वेक्षण भएको थियो । लामो समयदेखि प्रतीक्षामा रहेको आयोजनामा चिनियाँ लगानी भित्र्नु म्याग्दीको ऊर्जा क्षेत्रमा गौरवको विषय भएको अध्यक्ष कर्माचार्यको भनाइ छ । लगानीकर्ता र प्रवद्र्धकलाई सुरक्षाको प्रत्याभूत, सामाजिक वातावरण र प्रक्रियागत झञ्झटबाट मुक्त बनाउनुपर्ने अध्यक्ष कर्माचार्यले बताए ।
    वि.सं २०६८ पुस १९ गते उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा निवेदन दिएको आयोजनाले प्रक्रिया पूरा नगरेपछि लाइसेन्स नै रद्द भएको थियो । पुरानो लाइसेन्स रद्द भएपछि नेपाल कालिगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुनः सर्वेक्षण गरेर निर्माण प्रक्रियाअघि बढाएको हो ।
    सन २०१४ सम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने पहिलेको लक्ष्य थियो । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो । पाँच किलोमिटर सुरुङ रहने आयोजना रन अफ द रिभर प्रकृतिको हो ।
    २५ अर्ब रुपैयाँ लागन अनुमान गरिएको आयोजनाले नारच्याङमा तीन करोड रुपैयाँ मुआब्जा दिएर तीन सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा कालिगण्डकी गर्जसँगै ६ सय मेगावाटको मनाङ मस्र्याङ्दीलगायत ८७९ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजनाका लागि चिनियाँ लगानीकर्तासँग सम्झौता भएको छ ।

    -कारोबार