अघि बढ्ने भो ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना

    879

    काठमाडौं, १७ वैशाख । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादित रहँदै आएको राहुघाट जलविद्युत् आयोजना ४० मेगावाट क्षमतामा अगाडि बढाउने भएको छ ।

    प्राधिकरण सञ्चालक समितिको बिहीबारको बैठकले ३२ मेगावाट क्षमतामा थप आठ मेगावाट थप गरी सो आयोजनालाई पूर्ण क्षमतामा अगाडि बढाउने निर्णय गरेको हो ।

    प्राधिकरणको निर्णयपछि म्याग्दीमा निर्माणाधीन सो आयोजनाको क्षमतासँगै लागत समेत बढ्ने भएको छ । भारतीय निर्माण कम्पनी आइभिआरसिएलको आर्थिक अवस्था कमजोर भएपछि निर्माण प्रक्रियामा नै छाडेको थियो ।

    आयोजनाका प्रमुख कुलमान घिसिङले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएकोले आयोजना नयाँ आधारमा छिटो सम्पन्न गर्ने गरी अगाडि बढाउन आफू आतुर रहेको बताए । पुरानो ठेकेदारसँगको सम्झौता तोडेर नयाँ प्रक्रियामा आयोजना निर्माण गर्नका लागि तयार पारिएको डिपिआरमा क्षमता र लागत बढ्ने उल्लेख गरिएको छ ।

    ऋण लगानीकर्ता भारतीय आयात निर्यात बैंकको सहमतिमा आयोजनामा सर्वसाधारणको सहभागिताबारे छलफल जारी छ । विसं २०६६ मा सुरु भएको आयोजना सात अर्ब रुपैयाँको लागतमा यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको सिभिल ठेकेदार आइभिआरसिएलको कमजोर आर्थिक अवस्था र प्रक्रियागत ढिलाइका कारण १२ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनालाई ४० मेगावाट बनाउँदा आठ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

    कालीगण्डकी करिडोरअन्तर्गतको दाना सवस्टेसन जोड्ने १३२ केभी प्रसारण लाइनमा आयोजनाको विद्युत् जडान गर्न सकिने भएकाले यसअघिको मोदी–गलेश्वर प्रसारण लाइनको लागत नयाँ सर्वेक्षणका क्रममा हटाइएको छ । डिपिआर स्वीकृत भएपछि आयोजनाको ठेक्का प्रक्रिया सुरु हुने छ ।

    म्याग्दीको झिँ र दग्नाम गाविसको सिमानामा बाँध रहने सो आयोजनाको पिप्ले तिल्केनीचौरमा विद्युतगृह निर्माणका लागि पुरानो ठेकेदारले सामान्य काम सुरु गरेर छाडेको थियो । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले आयोजनाको काम रोक्न नहुने भन्दै पटक–पटक ऊर्जा मन्त्रालय, प्राधिकरण र आयोजनालाई निर्देशन दिँदै आएको थियो ।

    आयोजनाको डिपिआर, ठेक्का कागजात समयमै स्वीकृत भएको भए तीन महिना पहिल्यै काम सुरु हुन सक्ने आयोजना प्रमुख घिसिङ बताउनुहुन्छ । हालसम्म पिप्ले तिल्केनीचौरमा अडिट नं ३ को ६४।५ मिटर सुरुङ र एक हजार ८० मिटर सडक निर्माण भएको छ । सिभिल ठेकेदारसँगको सम्झौता तोडिए पनि आवास क्षेत्रमा नाली निर्माण, खानेपानी र विद्युत् जडान गर्न जिम्मेवारी पाएका लामा कन्स्ट्रक्सन र गोर्खा कन्स्ट्रक्सनले कार्यक्षेत्रमा फर्र्किएर काम सुरु गरेको आयोजनाले जनाएको छ ।

     रासस