माथिल्लो तामाकोसीको आईपीओ असार २४ गते आउने, १२ गते आब्हानपत्र सार्वजनिक हुदै

    1176

    काठमाडौं । निर्माणधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) को प्रतिक्षाको घडी अब समाप्त भएको छ । आउदो असार २४ गते आइतबारदेखि माथिल्लो तामाकोसीको आईपीओका लागि आवेदन खुला हुने भएको हो ।

    प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले २४ गतेदेखि आईपीओको निष्कासन खुला गर्न १२ गते आब्हानपत्र सार्वजनिक गर्नेछ । कम्पनी रजिष्टारको कार्यलयले विवरणपत्र स्वीकृत गरेकाले २४ गते निष्कासन हुन लागेको हो । अपरतामाकोसी र बिक्री प्रवन्धक नागरिक लगानी कोषबीच शुक्रबार भएको बैठकले असार २४ सम्म आईपीओ निष्कासन गर्ने निर्णय गरेको कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई एउटै आब्हापत्र आउने उनले जानकारी दिए ।

    पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन हुनेछ । पहिलो चरणको बाँडफाँडपछि दोस्रो चरणको निष्कासन हुने कार्कीले बताए ।

    स्थानीयबासिन्दालाई १५ दिनको म्याद दिएर आईपीओ आउने छ । सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

    स्थानीय र सर्वसाधारण गरी माथिल्लो तामाकोसीले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ ।

    तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । ४५६ मेगावाटको सो आयोजना १ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ९६ प्रतिशत काम सकिएको छ ।

    -विकासन्युज