तेह्रथुमकाे सक्रान्ति बजारमा ११ केभिए विद्युत विस्तार

    1973

    जिल्लाको पुर्वी क्षेत्रको पुरानो तथा ऐतिहासिक व्यापारिक केन्द्र सक्रान्तिबजारमा शनिबारबाट विद्युत विस्तार भएको छ । लामो प्रयासपछि बल्ल बजारमा विद्युत विस्तार हुँदा स्थानीय हर्षित भएका छन् । नेपाल विद्युत प्राधिकरणले सक्रान्ति बजारका ७९ घर र ६ वटा कार्यालयहरुमा विद्युत जडान गरेर बत्ती बालेको इन्जिनियर दिपक दाहालले बताए । शनिबार आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा प्राधिकरणले जिरिखिम्ती वितरण केन्द्रमा रहेको ३३ केभीए ट्रान्सफर्मरबाट मोराहाङ, पोक्लाबाङ, इसिवु हुँदै जम्दार डाँडामा ११ केभीए ट्रान्सफर्मर राखेर सक्रान्तिबजारमा विद्युत सुविधा पु¥याएको हो ।

    तर इसिवुदेखि सक्रान्तिबजारसम्मका पुरै गाउँमा अझै पनि विद्युतीकरण गरिएको छैन । गाउँपालिकाका सबै वडामा विद्युत सेवा पुगेको छैन । यसअघि सोलार प्रविधिबाट दैनिक कार्य सञ्चालन गर्दै आएका स्थानीयले केन्द्रीय प्रशारण लाइनको बत्ती बाल्न पाउने भएपछि हर्षित भएका हुन् ।

    विद्युत सुविधा पाएपछि सक्रान्तिबजारमा रहेका इलाका प्रशासन, गाउँपालिका कार्यालय, मालपोत, नापी, बैंक तथा वित्तीय संस्थालाई पनि सेवा प्रवाह गर्न सहज भएको छ । वर्षौपछि बल्ल विद्युतीकरण भएकाले बजारबासी खुसी भएको स्थानीय भोला काफ्लेले बताए ।
    ‘अब बजारमा उद्योग व्यवसाय फस्टाउने आशा गरिएको छ, विद्युतले थुप्रै व्यवसाय सञ्चालन गर्न सहयोग गर्नेछ, संक्रान्ति उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम पौडेलले भने । विद्युत नहुँदा छानामाथि स–साना सोलार राखेर व्यवसाय चलाइरहेका व्यपारी र व्यवसायीलाई विद्युतीकरण राहत मिलेको पौडेलले जानकारी दिए ।

    बाँकी दिनमा आठराई गाउँपालिकाका सबै वडाहरुमा समेत क्रमशः विद्युत विस्तार गर्न सकिने नेपाल विद्युत प्राधिकरण तेह्रथुमका प्रमुख इन्जिनियर दाहालले जानकारी दिए । तर यो आर्थिक वर्षमा भने अन्य ठाउँमा विद्युतीकरण गर्न भने बजेट अभाव रहेको छ । ‘आगामी वर्षबाट क्रमशः अन्यत्र पनि विद्युतीकरण गर्दै लगिनेछ, स्थानीयबासीले सहयोग गरे छिट्टै सबै क्षेत्रमा विद्युतीकरण गरिनेछ, उनले भने ।

    विद्युत विस्तारकालागि बजारबासीले श्रमदान र नगद सहयोग समेत गरेका छन् । बजार क्षेत्रमा विद्युतीकरणकालागि उद्योग वाणिज्य संघ उपशाखा सक्रान्तिबजारले अगुवाई गरेको थियो ।

    स्रोत:नयाँपत्रीका