जलविद्युत् र उत्पादनमूलकबाहेक सबै घटे

    1117

    जेष्ठ २१, २०७४- साप्ताहिक सेयर कारोबारमा जलविद्युत् र उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक घटेका छन् ।

    कारोबार भएका अधिकांश समूहको परिसूचक घटेपछि समग्र नेप्से ११.२७ अंकले घट्यो । आइतबार १ हजार ६ सय १५.५८ अंकमा रहेको नेप्से बिहीबार १ हजार ६ सय ४.३१ मा ओर्लियो । चार दिनको कारोबारमा जलविद्युत् र उत्पादन तथा प्रशोधन समूहअन्तर्गतका सेयरधनीको सम्पत्ति केही बढ्यो । उक्त अवधिमा जलविद्युत् समूहको परिसूचक १४.६७ र उत्पादन तथा प्रशोधन समूहको १९.७२ अंकले बढे । बाँकी सबै समूहहरूको परिसूचक ऋणात्मक रह्यो । साप्ताहिक कारोबारमा बैंकिङ समूहको परिसूचक ११.७१, विकास बैंकको ५.२१, होटलको १६.४१, वित्त कम्पनीको ०.९, बिमाको ९.५८ र ‘अन्य’ को २७.४७ अंकले घटे ।

    साताभर २७ हजार ३ सय ४१ कारोबारबाट १ सय ५८ कम्पनीका ५१ लाख २१ हजार १ सय ६० कित्ता सेयरहरू खरिद–बिक्री भए । उक्त कारोबारबाट २ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ परिचालन भयो । अघिल्लो साताको तुलनामा कारोबार रकम ५.८१ प्रतिशतले बढी हो । अघिल्लो साता ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद—बिक्री हुँदा २ अर्ब ६९ करोड १९ लाख ४८ हजार रुपैयाँ परिचालन भएको थियो ।

    अघिल्लो साताको तुलनामा गत साता कुल कारोबारमा बैंकिङ समूहको हिस्सा बढ्यो । अघिल्लो साता ३७.७ प्रतिशत रहेको बैकिङ समूहको हिस्सा गत साता बढेर ४२.१६ प्रतिशत पुग्यो । अघिल्लो सातादेखि सेयर कारोबारमा बैंकिङ समूहको हिस्सा बढ्दो क्रममा देखिएको छ । गत साता कुल कारोबारमा बिमा समूहको हिस्सा २४.३६ प्रतिशत छ । अघिल्लो साता यो समूहको हिस्सा झन्डै २९ प्रतिशत थियो । यसैगरी, विकास बैंक समूहको हिस्सा ६.०४, वित्त कम्पनीको २.१९, होटलको १.४८, जलविद्युत्को ५.९४, उत्पादन तथा प्रशोधनको ०.७३, संस्थापक करिब ६ र लघुवित्तको ९.७९ प्रतिशत रह्यो । कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्यो, ९२ कम्पनीको घट्यो बाँकी १९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

    चार दिनको व्यापारमा कारोबार रकम (१७ करोड ९२ लाख ५० हजार रुपैयाँ) का आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा छ । कारोबार भएको सेयर संख्या (२ लाख ४७ हजार कित्ता) का आधारमा सिद्धार्थ बैंक सबैभन्दा अघि छ । त्यसैगरी कारोबार संख्या (३ हजार २ सय ९ वटा) का आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा देखिन्छ ।

    साताभरको कारोबारमा सेयर बजारको आकार (बजार पुँजीकरण) ६ अर्ब ९० करोड रुपैयाँले खुम्चिएको छ । आइतबार १८ खर्ब ८३ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण बिहीबार १८ खर्ब ७६ अर्ब रुपैयाँ कायम भएको छ ।

    स्रोत:कान्तिपुर