बुटवल – लुम्बिनी प्रसारण लाइन भौतिक प्रगति ४५ प्रतिशत

1993

भैरहवा, असोज ७ गते । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२÷३३÷११ केभी सबस्टेसन आयोजनाको भौतिक प्रगति पछिल्लो समय बढेर ४५ प्रतिशत पुगेको आयोजनाले जानकारी दिएको छ । रुपन्देहीको योगीकुटी सबस्टेसनबाट सुरु भई मैनहिया पुग्ने प्रसारण लाइनको लम्बाइ १८ किलोमिटर छ । दुई किलोमिटर भूमिगतसहित प्रसारण लाइन आयोजनाले ५७ टावर निर्माण गर्नुपर्ने छ । रुपन्देहीको भैरहवा क्षेत्रमा रहेका उद्योग र आमउपभोक्तालाई गुणस्तरीय, विश्वसनीय विद्युत् आपूर्ति गर्न, चुहावट घटाउन, प्रसारण क्षमता सुदृढ बनाउन यो आयोजनाको कार्यान्वयन गर्न लगिएको हो ।

प्रसारण लाइन र सबस्टेसन निर्माणमा ढिलाइ हुँदा पर्याप्त विद्युत् नपाएको गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार र शनिबार यी आयोजना कार्यान्वयनको निरीक्षण गर्नुभएको थियो । कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन, ठेकेदारसँग निर्माणमा रहेको जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगलगायतमा देखिएका समस्याबारेमा जानकारी लिनुभएको छ ।आयोजनाको निरीक्षणपछि उहाँले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र (जनवरी २०२०) र मैनहिया सबस्टेसनको काम पुस (डिसेम्बर २०१९) भित्र सक्न निर्देशन दिनुभयो । प्रसारण लाइन र सबस्टेसनको ठेकेदार कम्पनीहरूले तोकिएकै समयमा कामसक्ने प्रतिबद्धता जनाएका छन् ।

निजी जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगमा रहेका समस्या समाधान गरी हामी साइट उपलब्ध गराउँछौँ, अत्यन्तै महŒवका आयोजनाको निर्माण जतिसक्दो छिटो सम्पन्न गर्न जनशक्ति थप्नुहोस्, समयमै काम सक्नुभयो भने फूलमाला लगाएर पुरस्कृत गर्छौं, ढिलाइ गरेमा ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौँ, उहाँले ठेकेदार कम्पनीलाई निर्देशन दिँदै भन्नुभयो ।

तपाईंहरूले छिटो काम गरिदिनुभयो भने विद्युत् माग दुई सय मेगावाटभन्दा बढी बढ्छ, यस क्षेत्रको विद्युत् चुहावट करिब पाँच प्रतिशत घट्छ, उहाँले भन्नुभयो ।

यसैगरी चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई विद्युत् आपूर्ति गर्न निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण भौतिक प्रगति पनि करिब ४५ प्रतिशत पुगेको छ । २० किलोमिटर लामो आयोजनाले ६७ टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ४० टावरको जग हालिएको छ । बर्दघाट सबस्टेसनको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत् पु¥याउने घोषणाअनुसार यो लाइन बनिरहेको हो । लाइन नपुग्दा होङ्शी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ । उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङ्शीलाई मात्रै करिब ८० मेगावाट विद्युत् आवश्यक पर्ने बताइएको छ ।

स्रोत: गोर्खापत्र