सिक्लेस जलविद्युत् आयोजना : परीक्षण उत्पादन शुरू

    1408

    ३ साताभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने

    पोखरा । कास्कीको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन शुरू भएको छ । रू. २ अर्ब ५ करोडको लागतमा निर्माण पूरा भई आयोजनाबाट परीक्षण उत्पादन थालिएको आयोजनाका निर्देशक किरण केसीले आर्थिक अभियानलाई बताए । १३ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवर्द्धक सिक्लेस हाइड्रोपावर कम्पनी हो ।

    केसीले आयोजनाबाट उत्पादित विद्युत् परीक्षणपछि ३ साताभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने जानकारी दिए । आयोजनाको निर्माण साढे ३ वर्ष अघि शुरू भएको हो । २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि भूकम्प र नाकाबन्दीले निर्माण कार्य डेढ वर्ष ढिलो भएको उनले बताए ।

    मादी गाउँपालिका (साविक पार्चे गाउँ विकास समिति)स्थित सिक्लेस गाउँनजिकैको मड्क्युखोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई सुरुङबाट ३ किलोमिटर तल झारेर विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ केबी प्रसारण लाइन लेखनाथस्थित बूढीबजामा जडान हुँदै छ । आयोजनास्थलदेखि प्रसारण लाइनसम्मको २५ किलोमिटर दूरीको प्रसारण लाइनमध्ये आधा आयोजनाले नै बनाएको केसीले जानकारी दिए । उनका अनुसार प्रसारण लाइन बनाउन मात्र आयोजनाले करीब रू. ३० करोड खर्च गरेको छ ।

    आयोजनाको निर्माण कार्य केसी कन्ष्ट्रक्शनले गरेको हो । आयोजनामा नेपाल बैङ्कको अगुवाइमा सातओटा विभिन्न बैङ्कले लगानी गरेका छन् । आयोजनाको विद्युत्गृहमा ६ दशमलव ५ मेगावाट क्षमताको २ ओटा ‘पेल्टन टर्वाइन’ छन् ।  ‘रन अफ रिभर’ प्रविधिमा बनेको उक्त आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट ७ र वर्षायामको समय प्रतियुनिट ४ रुपैयाँमा विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेको छ ।

    आयोजनाबाट विद्युत् उत्पादन शुरू भएपछि लोडशेडिङ घटाउन केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ । सिक्लेस जलविद्युत् आयोजनाका लगानीकर्ताले यसअगाडि ४ मेगावाट क्षमताको गण्डकी हाइड्रोपावर, १ मेगावाट क्षमताको सेती १ र ४ दशमलव ५ मेगावाट क्षमताको सेती २ परियोजनामा लगानी गरिसकेका छन् ।

    ७ मेगावाट क्षमताको युनाइटेड इदिमर्दी र ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर दोस्रोको निर्माण जारी छ । इदिमर्दी १ अर्ब २५ करोड रुपैयाँ र विजयपुर दोस्रोमा ९० करोड रुपैयाँ लगानी हुँदै छ । ‘हाम्रो समूहले जलविद्युत् क्षेत्रमा लगानी बढाइरहेको छ,’ केसीले भने, ‘देशको समृद्धिका लागि जलविद्युत् क्षेत्रमा लगानी बढाउन आवश्यक छ ।’