चोरी चुहावटको ४५ करोड ५६ लाख असुल

    3122

    r-k-thapa

    काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले अप्राविधिक (चोरी) चुहावट नियन्त्रण गरी ४५ करोड ५६ लाख ४० हजार रुपैयाँ असुल गरेको छ । चालू वर्षभित्र ३.५ प्रतिशत चोरी चुहावट घटाउने उद्देश्यसहित प्राधिकरणले देशभर सञ्चालन गरेको विशेष अभियानअन्र्तगत यो परिमाणमा रकम असुल भएको हो ।

    गत बर्ष १० अर्ब ६२ करोड १३ लाख रुपैयाँ बराबरको १ अर्ब २८ करोड ९० लाख युनिट विद्युत्  चुहावट भएको थियो । प्राधिकरणको प्रणालीमा कुल २ सय मेगावाट चुहावट हुने गरेको तथ्यांक छ । चालू आर्थिक वर्षभित्र चुहावट साविकको २५.७८ प्रतिशतबाट २२.२८ प्रतिशतमा झार्ने लक्ष्य छ ।

    चुहावट घटाउन सके विद्युत् माग घट्ने र यसले लोडसेडिङ न्यूनीकरणमा समेत सहयोग गर्नेछ ।

    प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका अनुसार अभियानपछि सबैभन्दा बढी ४२ करोड ४८ लाख ५७ हजार रुपैयाँ चुहावटबाट, माग चुहावटबाट ७ लाख १५ हजार, प्रत्यक्ष हुकिङबाट १ करोड ९२ लाख ७२ हजार, मिटर चुहाटबाट ६२ लाख ९५ हजार रुपैयाँ असुली भएको छ ।

    “पछिल्लो समयमा विशेष चुहावट अभियान देशभर सञ्चालन भइरहेको छ,” प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले भने । उनका अनुसार बढी चुहावट भएका तराइका जिल्लाहरुलाई लक्षित गरी प्रहरीको सहभागितामा विशेष अप्रेसन समेत गरिएको थियो ।

    प्राधिकरणले प्रत्येक क्षेत्रीय कार्यालय र त्यस मातहतका वितरण केन्द्रहरुलाई लक्ष्य दिएर अभियान अघि बढाएको छ । प्राधिकरणले काठमाडांै, जनकपुर, बिराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज र अत्तरिया क्षेत्रीय कार्यालयहरुमा अहिले चुहावट न्यूनीकरण अभियान अघि बढाएको छ । अभियानपछि हालसम्म १८ हजार ८ सय ३३ स्थानबाट हुकिङ हटाएको छ । यस्तै, विद्युत् चोरी गर्ने १४ हजार २ सय ७३ लाई पक्राउ गरी कारबाही गरेको छ ।

    प्राधिकरणसँग प्राविधिक र अप्राविधिक चुहावटको एकिन तथ्यांक नभए पनि करिब १७ प्रतिशत अप्राविधिक र ८ प्रतिशतभन्दा बढी चोरी चुहावट हुने गरेको अनुमान छ । हाल एक प्रतिशत मात्रै चुहावट घटाउन सके ५ करोड युनिट विजुली जोगिने प्राधिकरणले जनाएको छ ।

    स्रोत: करोबार दैनिक