तामाकोसी निर्धारित समयमा सक्न सुरुङमार्गबाटै सडक

    1211

    निर्धारित समयमा लक्ष्य पूरा गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले ३ सय ६० मिटर सुरुङ निर्माण गरी सडक बनाउनुपर्ने जनाएको छ । आयोजनाको थप साढे ११ करोड लागत बढ्नेछ । ०७३ असार मसान्तबाट माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरी बिक्री गर्ने लक्ष्य राखेकोमा भूकम्पले कम्तीमा दुई वर्ष पर धकेलिदिएको छ । यो समयमा पूरा गर्न पनि सुरुङ निर्माण गरी सडक बनाउनुपर्ने भएको हो ।

    विनाशकारी भूकम्पले थलिएको आयोजना एक वर्षसम्म उठ्नसकेको छैन । दुई महिनापछि आयोजनाबाट विद्युत् उत्पादन लक्ष्य राखेकोमा कम्तीमा दुई वर्ष पर धकेलिदिएकाले नागरिकलाई थप पीडामा पारेको छ ।

    दोलखाको लामाबगर गाविसमा स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको अझै सुचारु हुन सकेको छैन । आयोजनाको काम स्थानीयको सेयर विवाद र सेयरमा मजदुरको मागले एक महिनासम्म अवरुद्धपछि भूकम्पले ठप्पै पारेको थियो ।

    भूकम्पले आयोजनाको भौतिक संरचनामा ठूलो क्षति नभए पनि प्रवेश मार्ग (सडक) सबैभन्दा बढी क्षति भएको छ । भित्री संरचनामा कुनै पनि असर नपरेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । न्यौपानेले भने, ‘सडक खुलाउने प्रयास भूकम्पलगत्तै जारी रहे पनि अझै पूरा हुन सकेको छैन, भूकम्पले क्षति भएको सिंगटीदेखि ठोङठोङसम्म यातायात सुचारु भएको छ ।’

    आयोजनाको पहिलो चरणमा गोंगरदेखि हेडबक्स लामाबगरसम्मको प्रवेश मार्ग (सडक) पुनर्निर्माणको काम मंसिरदेखि जारी छ । भोर्ले भीरमा पनि पुनर्निर्माण गरिएको छ । छ्योतछ्योतदेखि सर्जसाफ्ट जाने चार किलोमिटर सडक क्षतविक्षत छ ।

    लामाबगरको काभ्रे भीरको सबैभन्दा बढी क्षति भएको ४ सय मिटर सडकमा सुरुङ बन्ने पक्का भएको छ । आयोजनाको परामर्शदाता नरकन्सल्ट–ल्याह्मेर र निर्माण कम्पनी सिनो हाइड्रोको संयुक्त टोलीले गरेका अध्ययनपछि सुरुङमार्ग नै उपयुक्त विकल्प भएको ठहर गरेको आयोजनाका प्रवक्ता न्यौपानेले बताए ।

    ३ सय ६० मिटर सुरुङ निर्माणका लागि डिजाइनको अन्तिम टुंगो लागिसकेको छ आयोजनाका प्रवक्ता न्यौपानेले भने सुरुङमार्गको आयोजना व्यवस्थापनको बोर्ड बैठक केही दिनमै बसेर निर्णय गरेपछि निर्माण हुनेछ ।

    ‘भीर काटेर निर्माण गरेको सडक पूर्ण रूपमा क्षति भएकाले काब्रे भीरमा सडकको ट्र्याक नै नरहने गरी भीर खसेको छ । हिँड्न समेत ती ठाउँमा कठिन छ । अधिकांश ठाउँमा पहिरो खसेर ठूलाठूला ढुंगा थुप्रिएका छन्,’ उनले भने । नयाँ ट्र्याक खोल्दाभन्दा सुरुङमार्ग नै सुरक्षित हुने परामर्शदाताहरूको निष्कर्षको आयोजनाले जनाएको छ ।

    सुरुङमार्गको निर्माण बोर्ड बैठकको निर्णय हुनासाथ निर्माण सुरु गर्ने तयारी छ । सुरुङ निर्माणका लागि ठोङठोङ र भैंसे खोलातिरबाट काम सुरु गर्ने बताए । सुरुङमार्ग बाहिरी सतह र पानीको हेडसेर सुरुङबीच पर्नेछ । काम सुरु गरेको ३ देखि ४ महिनामा सुरुङमार्ग खुल्ने उनले बताए ।

    पहिरोकै कारण ठाडो सुरुङ निर्माणका लागि तयार गरेको ४ किलोमिटर सडक पनि पूर्ण रूपमा क्षतिग्रस्त छ । ४ किलोमिटर लामो हेडरेस टनेलमा पानी जमेको छ, सफा गर्न महिनौं लाग्ने अनुमान छ । आयोजनाको भूकम्पअघिसम्म ७५ प्रतिशत काम पूरा भएको छ भने सिभिलको मात्र ८० प्रतिशत काम सकिएको छ । भूकम्पले पहिरो जाँदा सिंगटीदेखि लामाबगरसम्मको ३३ केभी प्रसारण लाइनको खम्बा र तारहरूको क्षतविक्षद थियो । क्षतिग्रस्त प्रसारण लाइनको काम पनि मर्मत जारी छ ।

    भूकम्पले असर नगरेको भए पूर्वनिर्धारित तालिकाअनुसार ०७३ साउनबाट उत्पादन सुरु गरिने लक्ष्य थियो । यस बेलासम्म सिभिल निर्माणअन्तर्गत सुरुङ, बाँधलगायत काम पूरा भई परीक्षण सुरु हुने थियो । आयोजनाको गोंगरदेखि किर्नेसम्मको २२० केभी प्रसारण लाइन निर्माण सुचारु छ । पावर हाउसभित्रको काम सुचारु गर्न तयारीको काम सुरु भएको छ ।

    स्रोत: राजधानी