पावर ‘ब्याकअप’ कुलेखानीको पानीको सतह १५ सय २६ मिटरमा

Kulekhani Reservoir

१६ कात्तिक, काठमाडौं । कुलेखानी जलाशय पानीको सतह यो वर्ष अघिल्ला वर्षहरुभन्दा धेरै छ । त्यसैले विद्युत् प्राधिकरणका अधिकारीहरु हिउँदका लागि निश्चिन्त देखिएका छन् । कुलेखानीमा पानीको सतह अहिले १५ सय २६ मिटरमा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यो वर्ष हिउँदमा कुलेखानीले लोड व्यवस्थापनमा अझ महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । पानीको सञ्चिति बढ्नुको कारण हो, अहिलेसम्म कुलेखानी आयोजनाको प्रयोग गर्न आवश्यक नपर्नु ।

आयोजना सुख्खायाममा लागि ‘ब्याक अप’का रुपमा राखिने गरेको छ । अहिले प्राधिकरणले विद्युत नपुग र इमर्जेन्सी भएको अवस्थामा मात्रै उत्पादन गर्ने गरेको छ ।
प्रसारणलाइन बिग्रँदा वा सब-स्टेसनमा गडबडी आउँदा प्राधिकरणले यो आयोजना सञ्चालन गरेर विद्युत आपूर्ति गर्ने गर्छ । आपतका बेलामा सञ्चालन गर्न सकिने ‘रिजर्भवायर प्लान्ट’ प्राधिकरणसँग यो एक मात्र उपलब्ध छ ।

सुख्खायाममा ‘पिक आवर’मा विद्युत उत्पादन गरिने भएकाले यस आयोजनालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

प्राधिकरणले वर्षामा कहिलेकाहीं एकदेखि डेढ घण्टासम्म चलाउँछ । प्रायः पुसको अन्तिमदेखि मात्रै यो सञ्चालनमा आउँछ । सुख्खायाममा ‘पिक आवर’मा विद्युत उत्पादन गरिने भएकाले यस आयोजनालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

‘गत वर्षको तुलनामा पानी अझ बढी छ । यसलाई अहिले सञ्चालन गर्नुपर्ने स्थिति छैन, त्यसैले बचाएर राखेका छौं,’ प्राधिकरण कार्यकारी निर्देशक घिसिङले भने ।

देशका अधिकांश जलविद्युत आयोजना ‘रन अफ दी रिभर’मा आधारित छन् । कुलेखानीपछि अहिलेसम्म कुनै जलाशययुक्त आयोजनाको निर्माण हुन सकेको छैन । १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना वर्षौंदेखि विवादमा रुमल्लिएको छ ।

सोही कारण सुख्खायाममा नदीमा पानीको सतह कम हुनासाथ विद्युत उत्पादन ह्वात्तै तल झर्ने गरेको छ । भारतबाट आयातित बिजुलीबाट उपभोक्ताको माग धान्नुपर्ने अवस्था सोही कारण उत्पन्न भएको हो ।

प्राधिकरण र निजी क्षेत्रको गरी अहिले नौ सय ५६ मेगावाट स्वदेशी उत्पादन छ । ९२ मेगावाटको कुलेखानी सुख्खायामबाहेक प्रयोग गरिँदैन ।

माग र आपूर्तिबीच ठूलो ‘ग्याप’ रहँदा उपभोक्ताको घरमा बिजुली बाल्ने उद्देश्यले कुलेखानीलाई ‘रिजर्भवायर’का रुपमा सञ्चित राख्ने गरिएको हो ।

कुलेखानीको जलाशयबाट प्राधिकरणले ६० र त्यहाँबाट बाहिरिने पानीबाट ३२ मेगावाट मेगावाट उत्पादन गर्छ । आगामी पुसबाट कुलेखानी तेस्रोबाट १४ मेगावाट पनि उत्पादन सुरु हुनेछ ।

विद्युतको उच्च माग हुने साँझ पाँचदेखि राति आठ बजेसम्म ती आयोजना सञ्चालन हुने गर्छन्, सुख्खायाममा ।

कुलेखानी दोस्रोबाट बाहिरिने पानीबाट पनि विद्युत उत्पादन गर्न कुलेखानी तेस्रो निर्माणाधीन छ । ठेकेदार कम्पनीको बदमासीका कारण हालसम्म उक्त आयोजनाको निर्माण सम्पन्न हुन ढिलाइ भएको छ । आगामी पुसबाट परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।